वर्षको २ सय ५० रुपैयाँ तिरे ५ लाखसम्मको घर बीमा हुने

काठमाडौं । वार्षिक २ सय ५० रुपैयाँ तिर्दा अब ५ लाख रुपैयाँको घर बीमा हुने भएको छ । बीमा समितिले ५ लाख रुपैयाँसम्मको घर लघु बीमा शुल्क प्रतिहजार रुपैयाँमा ५० पैसा तोकेको छ । यसरी २ सय ५० रुपैयाँ शुल्क तिरेर बीमा गरेपछि तोकिएका जोखिमबाट घरमा क्षति पुग्दा बीमा कम्पनीले क्षतिपूर्ति रकम दिन्छन् । घर लघु बीमामा आगलागी, भूकम्प, बाढी पहिरो, हावाहुरी, चट्यांक जस्ता प्राकृतिक तथा अन्य कारणबाट क्षति पुगेमा बीमा कम्पनीले क्षतिपूर्ति दिन्छन् । २०७२ को शक्तिशाली भूकम्पको कारण देशभरका करिब ८ लाख घर भत्किएका थिए । सो समयमा भत्किएकामध्ये अधिकांश घरको बीमा थिएन । बीमा नभएको कारण सरकारले पीडितलाई घर बनाउन अनुदान रकम दिएको थियो । सरकारले प्रतिघर ३ लाख रुपैयाँ अनुदान दिएको छ भने प्रतिघर २ लाख रुपैयाँसम्म सहुलियतपूर्ण व्याजमा विनाधितो ऋण दिने भनेको छ । सरकारले अनुदान र सहुलियतपूर्ण व्याजमा विनाधितो दिने भनेको ऋणसमेत जोड्दा एउटा घर बनाउन औसतमा ५ लाख रुपैयाँ लाग्ने देखिन्छ । सरकारले एउटा घर बनाउन ५ लाख रुपैयाँ लाग्ने औसत हिसाव देखाएकै कारण बीमा समितिले घर लघु बीमाको बिमांक रकम ५ लाख रुपैयाँ बनाएको हो । बीमा समितिले जारी गरेको लघु बीमा निर्देशिकामा वार्षिक २ सय ५० रुपैयाँ बीमा शुल्क तिरेर ५ लाख रुपैयाँसम्मको घरको बीमा गर्न पाइने व्यवस्था छ । लघु बीमालाई प्रवद्र्धन गरेर बीमाको दायरा बृद्धि गन तथा विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन निर्देशिका जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । निर्देशिकामा जीवन बीमातर्फ सावधिक, म्यादी र अन्य लघुबीमा तोकेको छ । यी ३ वटै किसिमका जीवन बीमाको अधिकतम बीमांक रकम ३ लाख रुपैयाँ छ । यस्तै, निर्जीवन बीमातर्फ सम्पति, घर, दुर्घटना, स्वास्थ, घातक रोग, बाली तथा पशुपन्छी र अन्य लघुबीमा छन् । सम्पति लघु बीमा र घर लघु बीमाको बीमांक रकम ५ लाख रुपैयाँसम्म छ । दुर्घटना लघु बीमाको बीमांक रकम ३ लाख रुपैयाँसम्म छ । घातक रोग लघु बीमाको बीमांक १ लाख रुपैयाँसम्म, बाली तथा पशुपंक्षी लघु बीमाको बीमांक रकम २ लाख रुपैयाँसम्म छ । यस्तै, स्वास्थ लघु बीमाको बींमाक रकम ५० हजार रुपैयाँसम्म छ । [pdf id=197088]

बीमा समितिको प्रष्टिकरणः दम्पती बीमा बन्द गरिएको होइन

काठमाडौं । फागनु ७ गते बीमा समितिले एक परिपत्र जारी गर्यो । जहाँ लेखिएको छ- ‘बीमा समितिबाट पूर्व स्वीकृति लिएको तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमा लेखहरुमा पति/पत्नी (स्पउज कभर) को सुरक्षण लाभ समावेश नगर्नु हुन यो परिपत्र जारी गरिएको छ ।’ परिपत्रका आधारमा समाचारहरु छापिए । श्रीमान् वा श्रीमती एकको बीमा गर्दा अर्कोले पनि लाभ लिन सक्ने गरी बीमा कम्पनीहरुले जारी गर्दै आएका बीमालेखहरु बिक्री गर्न अब बन्द भयो । जीवन बीमा कम्पनीहरुले फागुन ८ गते दम्पत्ति बीमालेख बिक्री गर्न नमिल्ने गरी सिस्टम पनि बन्द गरे । राष्ट्रिय बीमा संस्थान, नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एलआईसी, एशियन लाइफ इन्स्योरेन्स लगायत नेपालका पुराना र अगुवा बीमा कम्पनीहरु समेत आश्चर्यमा परे कि बीमा समितिले किन दम्पती बीमा (ज्वाइट लाइफ कभर) लेख बन्द गर्यो ? ज्वाइट लाइफ कभर अर्थात दम्पती बीमालेख बिक्री बन्द किन गरियो ? विकासन्युजको प्रश्नमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने- ‘ज्वाइट लाइफ कभर’ रोकिएको होइन । ‘स्पउज कभर’ मात्र रोकिएको हो । परिपत्रमा प्रयोग भएको भाषा अलि प्रष्ट पार्नु पर्ने देखिएको उनले बताए । ‘स्पउज कभर भने पछि बीमा क्षेत्रका अनुभवी व्यक्तिहरुले बुझ्नु पर्ने हो । तर बजारमा दुविधा सिर्जना भएको हामीले पनि महसुश गरेका छौं’ उनले भने- ‘हामी यसलाई प्रष्ट पार्छौ । ‘ज्वाइट लाइफ कभर’ र ‘स्पउज कभर’ फरक ‘ज्वाइट लाइफ कभर’ र ‘स्पउज कभर’ मा फरक रहेको छ । स्पउज कभरमा एक जना मात्र बीमित हुन्छ । दोस्रो व्यक्ति बीमित हुँदैन । बीमितको पोलिसीमा बीमा कम्पनीले अतिरिक्त सुविधा दिन्छन् । त्यस्तो सुविधाले निम्त्याउने जोखिमको विश्लेषण गरिएको हुँदैन । त्यसले बीमा कम्पनीको लागि अतिरिक्त आर्थिक सिर्जना गर्छ । यस्तो पोलिसी मेटलाइफ इन्स्योरेन्स कम्पनीले बढी मात्रमा बिक्री गरेको पाइएको छ । पछिल्लो समय लघु बीमालेखमा स्पउज कभर हुने गरेको जानकारहरु बताउँछन् । तर ‘ज्वाइट लाइफ कभर’ मा भने बीमा लेखमा उल्लेखित दुबै जना बीमित हुन्छन् । दुबैको जोखिम भार गणना गरी प्रिमियम निर्धारण गरिएको हुन्छ । यस्तो बीमा पोलिसी बजारमा लैजानुपूर्व त्यसको बीमाङ्कीय मूल्याङकन पनि गरिएको हुन्छ ।

बीमा समितिले किन रोक्यो ‘स्पाउस कभर’ बीमा ?

काठमाडौं । बीमा समितिले एउटै बीमा लेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन रोक लगाएको छ । समितिले नै बीमालेख स्वीकृत गरेपछि कम्पनीहरुले सर्वसाधारणलाई बीमा गराउँछन् । समिति आफैले स्वीकृति दिएको पति/पत्नी (स्पाउस कभर) सुरक्षण लाभ रोक्नुका पछाडि के कारण छ भन्ने प्रश्नले अहिले बीमा बजारमा कौतुहलता बढाएको छ । एउटा बीमा लेखबाट एक जनाको मात्रै जीबन बीमा गर्न सकिने विश्वव्यापी मान्यता अनुसार नै ‘स्पाउस कभर’ बन्द गरिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईं बताउँछन् । ‘एउटा जीवन बीमालेखले एक जनाको मात्रै बीमा हुने हो, पहिला यो प्रडक्टले धेरै असर पार्ने देखिएको थिएन, तर पछिल्लो समय विकृति बढ्दै गयो, कम्पनीहरु प्रतिस्पर्धा गर्न थाले, यसले जोखिम बढाउने देखिएर नै रोकिएको हो,’ अध्यक्ष चापागाँईंले विकासन्युजसँग भने । बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था र बीमा कम्पनीहरुले स्पाउस कभरमा प्रतिस्पर्धा गर्न थालेका छन् । एउटै बीमालेखबाट पति/पत्नीको बीमा गराउने प्रतिस्पर्धा बढ्दै जादा परिवारको नै बीमा हुने पोलिसीको माग बढ्न सक्ने, एउटा परिवारको भएपछि आफूले चाहेको व्यक्तिहरुको सामुहिक बीमाको मागसमेत बढ्न सक्ने सम्भावना देखिएकोले स्पाउस कभर नै रोकिएको समितिको भनाइ छ । कति छ स्पाउस कभर पोलिसी ? एउटै बीमालेखबाट श्रीमान् श्रीमतीकै बीमा हुने प्रडक्ट कम्पनीहरुले धेरै बेचेका छैनन् । जीबन बीमा कम्पनीहरुले ७३ लाखभन्दा धेरै बीमालेख विक्री गरेका छन् । कूल बीमालेखमा स्पाउस कभर बीमालेखको संख्या बढीमा २ प्रतिशत जति रहेको समितिका अध्यक्ष चापागाँईंले जानकारी दिए । बिक्री भएका पोलिसी के हुन्छ ? बीमा समितिले ७ फागुन गते जारी गरेको परिपत्रमा पहिला स्वीकृत भएका स्पाउस कभर बीमालेख पनि रोक्नु भनिएको छ । यसको अर्थ पहिला नै समितिबाट स्वीकृति लिएर स्पाउस कभरको बीमालेख बिक्री गरिरहेका कम्पनीले पनि त्यस्तो बीमा गराउन नपाइने भन्ने हो । तर, कम्पनीहरुले विक्री गरिसकेका बीमालेखको सम्बन्धमा के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । परिपत्र जारी गर्नुअघि विक्री भएका बीमालेख (गराइसकेको बीमा) भने बीमा गराउँदाको शर्त अनुसार नै अघि बढ्ने अध्यक्ष चापागाँईले जानकारी दिए । ‘स्पाउस कभर बीमालेख स्वीकृत गराएका कम्पनीहरुले पनि अबदेखि त्यस्तो बीमा नगराउने भन्ने यो पत्रिपत्रको आशय हो, कम्पनीहरुले आफ्ना प्रोडक्टबाट स्पाउस कभर बीमालेख हटाउनु पर्छ, यसअघि नै बीमा गराइसकेकाको हकमा भने अवधि पूरा नहुन्जेल सो बीमालेखको शर्त अनुसार अघि बढ्छ, यसमा समस्या छैन,’ अध्यक्ष चापागाँईले भने । बीमा कम्पनी भन्छन्ः खासै असर पर्दैन स्पाउस कभर बीमालेख रोक लगाएपनि आफ्नो व्यवसायमा धेरै असर नपर्ने बीमा कम्पनीहरुले बताएका छन् । हाल विभिन्न कम्पनीहरुले श्रीमान्न/श्रीमतीको बीमा गराउँदै आएका छन् । बीमा कम्पनीहरुले भिन्नभिन्न शीर्षकमा राखेपनि उक्त योजनाले श्रीमान् श्रीमती दुवैको जोखिमको रक्षावरण गर्छ । ‘स्पाउस कभर बीमालेखमा रोक लगाउँदा हामीलाई खासै असर पर्दैन, हाम्रो मुख्य व्यवसाय त्यो मात्रै होइन, अन्य प्रडक्टमा हाम्रो व्यवसाय केन्द्रित छ,’ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरत बस्नेतले भने । नेशनल लाइफ इन्स्योरेन्सले दाम्पती अमृत सावर्धिक जीवन बीमा शीर्षकमा स्पाउस कभरको बीमालेख बिक्री गर्दै आएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले दम्पती सुरक्षा प्लस योजना संचालन गरिरहेको छ । यस्तै, एलआइसी नेपालले जीवन साथी शीर्षकमा स्पाउस कभर बीमालेख विक्री गरिरहेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सानिमा दम्पती बीमा योजना संचालन गरिरहेको छ । सम्बन्धित सामग्री एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गर्न रोक्यो समितिले