कोरोनाबाट बच्न स्वास्थ्य बीमा गर्न सकिन्छ ? यसो भन्छ बीमा समिति

काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् । विश्व संकट निम्त्याउने हैसियत राखेको कारोनो भाइरसबाट बच्चको लागि स्वाथ्य बीमा भने नहुने बीमा समितिले जानकारी दिएको छ । महामारीको बीमा नहुने भएको कारण कोरोना विरुद्ध बीमा गर्न नसकिने समितिको भनाइ छ । रोग लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिने कम्पनीहरुमा महामारीको बीमा योजना नहुने समितिको भनाइ छ । पछिल्लो समय विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस्तो अवस्थामा बीमा मार्फत सुरक्षा प्राप्त गर्न नसकिने बीमा समितिले जानकारी दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको सिद्धान्तले महामारीलाई नसमेटने बताए । ‘विश्वव्यापी बीमाको सिद्धान्त अनुुसार बीमाले महामारीलाई समेट्दैन, अन्य रोगको हकमा भने बीमा कम्पनीहरुले सुरक्षण दिँदै आएका छन्,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । बीमा कम्पनीहरुले घातक रोगको बीमा योजना संचालन गरिरहेका छन् । कोरोना भाइसको लागि मात्रै भनेर बिमितले कुनै किसिमका लाभ पाउँदैनन् । बीमा गराउँनु पूर्व जाँचिन्छ यी २ कुरा बीमा गराउँनुपूर्व बीमा कम्पनीहरुले व्यक्तिको आर्थिक अवस्थाको तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन्छन् । आर्थिक अवस्थाको मूल्याङ्कनपछि मात्रै व्यक्तिले बीमा गर्न पाउँछन् । त्यस्तै, स्वस्थ मानिसको मात्र बीमा हुने गर्छ । व्यक्तिको स्वाथ्यस्थिति चेकजाँच गरेर मात्र बीमा हुने समिति बताउँछ । व्यक्तिमा कोरोनाको संक्रमण देखिएको अवस्थामा बीमा हुँदैन । कुनै किसिमका बीमा गर्नुपूर्व उक्त व्यक्तीको स्वास्थ्य अवस्था कस्तो छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ । अहिले विश्वमा फैलिएको कोरोना भाइसको चर्चा जताजतै सुन्न सकिन्छ । नेपालको छिमेकी राष्ट्र चीनबाट सुरु भएको यो रोग अहिले विश्वका विभिन्न ठाउँमा देखिन थालेसँगै मानिसमा त्रास बढेको छ । बीमाले जोखिममा आर्थिक सुरक्षण दिने भएकाले पछिल्लो समय कोरोना भाइसको बीमा गर्न मिल्ने कि नमिल्ने भन्ने चासो धेरैमा छ । महामारीको बीमा नहुने भएकोले यस्तो जोखिमबाट बच्न शतर्कता अपनाउनु पर्ने समितिको भनाइ छ ।

राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम काठमाडाैंमा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले दुईदिने बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रम फागुन १८र १९ गते जीवन बीमा अभिकर्ताहरुको लागि सञ्चालन भएको हो । विभागका सह व्यवस्थापक चुडाराज अधिकारी र सहायक व्यवस्थापक स्मृति भट्टले सञ्चालन गरेको उक्त तालिम कार्यक्रममा प्रशिक्षकहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी तथा बीमा बजारीकरण कला आदि विषयमा प्रशिक्षण दिएका थिए । ४४ जना प्रशिक्षार्थीहरु सहभागी भएको उक्त तालिम कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण संस्थानका प्रशासक कविप्रसाद पाठकले गरेका थिए ।

बीमामा ९ वर्ष काम गरेका सुभाष भन्छन्ः मिहेनत गर्नेले छाेटाे अवधिमा नै गज्जव गर्न सक्छ

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोइराला २०६७ साल पुष १४ गते राष्ट्रिय बीमा संस्थानमार्फत बीमा क्षेत्रमा प्रवेश गरे । संस्थानले एउटै कम्पनी मार्फत जीवन र निर्जीवन बीमा गराउँदै आएको थियो । तर, नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन बीमा व्यवसाय एउटै कम्पनीले गर्न मिल्दैन भन्ने नीतिगत व्यवस्था गरेपछि कोइरालाको यात्रा निर्जीवन बीमा व्यवसायतिर मोडियो । जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी बेग्लै भएपछि संस्थानले जीवन बीमा व्यवसाय संहाल्यो भने निर्जीवन बीमा व्यवसाय गर्नको लागि राष्ट्रिय बीमा कम्पनी स्थापना गरियो । अनि कोइरालाको यात्रा पनि राष्ट्रिय बीमा कम्पनीसँग नै जोडियो । २०७५ साल असार १ गतेदेखि कोइराला कम्पनीको मुख्य व्यवस्थापकको जिम्मेवारीमा छन् । बीमा अवसर होइन, ऐच्छिक बीमा क्षेत्रमा प्रवेश गर्दा उनलाई यो क्षेत्रमा त्यस्तो धेरै केही होला भन्ने लागेको थिएन । फुर्सदमा बसिरहेको समयमा केही गरौं भन्ने प्रयास गर्दा गर्दै बीमा क्षेत्रमा प्रवेश गरेका थिए । तर, अहिले बीमा क्षेत्रको महत्व धेरै बढेकोले ठीक ठाउँमा लागेको उनलाई महसुस भइरहेको छ । ‘बीमामा प्रवेश गर्नुअघि यो क्षेत्रको महत्व बारे खासै जानकार थिइनँ, बीमा क्षेत्र त्यति राम्रो होला जस्तो पनि लागेको थिएन, तर यो क्षेत्रमा प्रवेश गरेपछि बीमाको राष्ट्रिय अन्तराष्ट्रिय महत्व धेरै रहेको पाएँ,’ कोइरालाले भने । कोइराला संस्थानमा छैटौं तह अधिकृतबाट प्रवेश गरेका हुन् । संस्थानमा २ पटक प्रमोसन भयो । प्रमोसन पश्चात उनले आठौ तहको सहव्यवस्थापकदेखि राष्ट्रिय बीमा कम्पनीको मुख्य व्यवस्थापकको जिम्मेवारी वहन गर्ने अवसर पाएका छन् । बीमा क्षेत्रमा लाग्नेले व्यापार व्यवसायदेखि सेवासम्मको अनुभव प्राप्त गर्न सक्ने उनको अनुभव छ । बीमा संस्थानमा आउनुपूर्व कोइराला बैंकिङ क्षेत्रमा थिए । बीमा क्षेत्रमा आवद्ध भएकोमा उनी खुशी छन् । बीमा गर्न सजिलो दाबी भुक्तानी लिन गाह्रो भन्ने नेपाली मान्यता नै छ । तर, कम्पनीले बिमितलाई सन्तुष्ट पार्न सकेको उनको दाबी छ । समग्र बीमा क्षेत्रकै बारेमा पनि गुनासो आउने गर्छ । त्यसमा पनि निर्जीवन बीमाको दाबी भुक्तानीप्रति बिमितको गुनासोको मात्रा अधिक हुन्छ । निर्जीवन बीमा क्षेत्रमा बिमितका कागजात नमिल्दा गुनासा बढ्ने उनको अनुभव छ । तर, राष्ट्रिय बीमा कम्पनीमा त्यस्तो समस्या नभएको उनले बताए । बीमा क्षेत्रमा भएका सामान्य समस्याहरु हल गर्न सकिने कोइरालाको विश्वास छ । तर समस्याहरुको समाधान गर्न सिस्टम चाहिने उनले बताए । ‘पहिले बिमित नै जागरुक हुन आवश्यक छ, कागजहरु मिलाएर ल्याएमा दाबी भुक्तानी सहज हुन्छ, अरु समस्या समाधानको लागि सरोकारवाला सबै एकजुट हुन आवश्यक देख्छु,’ कोइराला भन्छन् । बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । त्यसैले योग्य र प्रतिभाशाली व्यक्ति बीमा क्षेत्रमा आउने हो भने उसले केही वर्षमा नै आफ्नो पहिचान बनाउन सक्ने कोइराला बताउँछन् । कम्पनीको चुनौति र सम्भावना राष्ट्रिय बीमा कम्पनी सरकारी स्वामित्वको कम्पनी हुनु आफैमा राम्रो पक्ष हो । सरकारी स्वामित्वको कम्पनी भएकोले सो कम्पनीमा आउने जनशक्ति लोक सेवामार्फत आउँने भएकाले नयाँ कर्मचारी राख्न लामो समय लाग्ने तर, प्रतिभाशाली जनशक्ति आउने कोइरालाको भनाई छ । सरकारी कम्पनी भएकाले प्रक्रिया पूरा गरेर मात्रै काम गर्नुपर्ने र कतिपय अवस्थामा प्रक्रियागत काममा नै धेरै समय लाग्ने हुँदा कुनै सन्दर्भमा काममा केही ढिलाई हुन सक्ने उनले बताए । समय लागेपनि पर्याप्त छलफल, अन्तरक्रिया र गृहकार्य भएर आउने भएकोले नतिजा राम्रो र प्रभावकारी हुने गरेको उनको अनुभव छ । नेपालमा बीमा फोर्स सेलको अवस्थामा छ । बिस्तारै यसलाई सुधार गर्न आवश्यक रहेको छ । राम्रो बानी मुख्य व्यवस्थापक कोइरालाले आफू सजिलै कन्भिन्स हुने स्वभावको भएको बताए । चाढै कन्भिन्स हुने स्वभावका कारण कहिले काँही समस्या हुने गरेको उनको अनुभव छ । तर, उनका समकक्षीहरु भने नयाँ विषयमा पनि उनलाई बुझाउन सहज हुने हुँदा काम गर्न सजिलो हुने गरेको बताउँछन् । नराम्रो बानी उनको नराम्रो बाँनी उनी आफैले पहिचान गरेका छन् । कोइरालाले पहिचान गरेको उनको नराम्रो बानी भनेको अध्ययन नगर्ने हो । यस्तै उनी बाहिरी घटना तथा जानकारी पनि खासै हुँदैन । उनी आफ्नो यो बानी सुधार्न चाहन्छन् । सोसल ड्रङ्कार्ड मदिराजन्य बस्तुप्रति उनको धेरै लगाव छैन । तर, साथीभाइसँको भेटघाट तथा जमघटहरुमा भने अलिकति मात्रै भएपनि लिनै पर्छ । त्यसैले उनी आफूलाई सोसल ड्रङ्कार्ड भन्न रुचाउँछन् । बीमा सन्देश बीमा सुख, दु‍:खको साथी हो । दु:खको साथी निर्जीवन बीमा तथा सुखको साथी जीवन बीमा हो । भएका कमजोरीलाई सुधार्दै बीमाबाट लाभ लिन सबै तयार हुनुपर्ने उनको भनाइ छ । ‘बीमामा भुक्तानी मुख्य कुरा हो । हामीले सो कुरामा सुधार गर्न सकेमा बीमितहरुको बीमामा विश्वास ह्वात्तै बढ्न लाग्छ । बीमा शुल्क बुझाउँन कुनै समस्या छैन, दाबी भुक्तानीमा सुधार गर्ने हो भने बीमा क्षेत्रका लागि राम्रो हुन्छ,’ उनले भने । (राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक कोइरालासँग विकासन्युजका लागि नबिन पोखरेलले गरेको कुराकानीमा आधारित)