बीमा कम्पनीहरु ओभर क्यापिटालाइज्ड भएका त होइनन् ?
नेपाल हाल १४ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । २०७४ साल बैशाख सम्म ९ वटा जीवन बीमा कम्पनीहरू सञ्चालन रहेकामा २०७४ सालमा थप ९ वटा र २०७५ सालमा १ वटा जीवन बीमा कम्पनीहरूलाई सञ्चालन इजाजत तत्कालीन बीमा समितिबाट प्रदान भई २०७९ चैत्र मसान्तसम्म १९ वटा जीवन बीमा सञ्चालनमा रहेका थिए । नेपालको बीमा बजारमा अस्वस्थ्य बीमा प्रतिस्पर्धा घटाउन, बीमा कम्पनीलाई पुँजीको माध्यमबाट सबल र सक्षम बनाउन, जीवन बीमा कम्पनीको पूँजी २ अर्बबाट ५ अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी क्रमशः १ अर्बबाट २.५ अर्ब पुर्याउने नेपाल बीमा प्राधिकरण २०७९ चैत्रको निर्णय बमोजिम जीवन बीमा कम्पनीहरू गाभिएर १९ बाट १४ वटामा र निर्जीवन बीमा कम्पनीहरू समेत १९ बाट १४ कायम भई सञ्चालनमा रहेका छन् । तथापि २०७४ साल यता करिब ६ वर्ष पुग्नै लाग्दा समेत जीवन बीमा कम्पनीहरूले आफ्नो पुँजी बराबरको व्यवसाय समेत वार्षिक रूपमा गर्न सकेका छैनन् । यसले तत्कालीन समयमा बीमा नियमनकारी निकायले गरेको पुँजी वृद्धिको औचित्यलाई पुष्टि गर्न सकेको छैन भने जीवन बीमा कम्पनीहरू शेयधरनीको पुँजीमा अपेक्षित प्रतिफल दिन चुकिरहेका छन् । सामान्यता कम्पनीको प्रथम बीमा शुल्कले कम्पनीको भविष्यको बाटो देखाउँछ । उक्त प्रथम बीमाशुल्क नै भविष्यमा नवीकरण बीमाशुल्कको माध्यमबाट कम्पनीमा प्राप्त हुने गर्दछ र राम्रो बीमा अण्डरराईटिङ भएको अवस्थामा प्रथम बीमा शुल्कको कम्तिमा ८५ प्रतिशत शुल्क आगामी नवीकरण बीमा शुल्कको रूपमा प्राप्त हुने गर्दछ । यसकारण जीवन बीमा कम्पनीमा प्रथम बीमा शुल्क भन्दा नविकरण बीमाशुल्क धेरै हुने गर्दछ । हाल सञ्चालनमा रहेका केही कम्पनीहरूको एकल बीमा शुल्क र वैैदेशिक रोजगार म्यादी जीवन बीमा शुल्क नै कुल प्रथम बीमा शुल्कको २५ प्रतिशतभन्दा बढी रहेको छ । सही वित्तिय जोखिमाङ्कन बिना बीमा जारी हुने अवस्था कम्पनीको रहनु, सही पूर्ण सूचना बीमित सम्म नपुगी बीमालेख जारी हुने अवस्थामा कमि नआई रहेका कारण माथि उल्लेखित अनुपातमा नविकरण बीमाशुल्क संकलन नभई रहेको अवस्थामा छ । फलस्वरूप बीमितहरूले जानी जानी बीमालेखहरू सुचारू गर्न नचाहने, जीवन बीमा कम्पनीहरुको विक्री पश्चातको कमजोर ग्राहक सेवाका कारण धेरै संख्यामा बीमालेख व्यतित हुने र बीमालेखको चुक्ता मुल्य प्राप्त हुनासाथ समर्पण गर्ने प्रवृत्ति हावी भएको छ । बीमा शुल्क/पुँजी अनुपात कम भएका जीवन बीमा कम्पनीहरूलाई पुँजीमा अपेक्षित प्रतिफल दिन गाह्रो हुने देखिन्छ । कम्पनीको न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँका कारण केही कम्पनी ओभर क्यापिटालाइज्ड भएका त होइनन् भन्ने विषय मनन् गनै आवश्यक छ । यसले गर्दा जीवन बीमा कम्पनीहरूको बीमा लेखको निरन्तर चालु रहने एभचकष्कतभलअथ) दर मापदण्ड भन्दा कम हुन गई बीमा कम्पनीहरूले समेत प्रक्षेपित नाफा गर्न सकिरहेका छैनन् । यसर्थ बीमा कम्पनीहरूले बीमा अभिकर्ताको गुणस्तरमा सुधार, बीमा जोखिमाङ्कनमा विशेष ध्यान दिनु पर्ने हुन्छ भने नेपाल बीमा प्राधिकरणले प्रभावकारी कार्यान्वयनमा नियमन गर्न जरूरी छ । जीवन बीमा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्मको प्रथम बीमा शुल्क र चुक्ता पुँजीको अध्ययन गर्दा आव २०८१/८२ अन्तसम्म पनि एक चौथाई जीवन बीमा कम्पनीले मात्र चुक्ता पुँजी बराबर प्रथम वर्ष बीमा शुल्क संकलन गर्न सक्ने देखिन्छ भने करिब एक तिहाई जीवन बीमा कम्पनीले जेनतेन चुक्ता पूँजी बराबर कुल बीमाशुल्क संकलन गर्न सक्ने देखिन्छ । यसले गर्दा बीमा शुल्क/पूँजी अनुपात कम भएका जीवन बीमा कम्पनीहरूलाई पुँजीमा अपेक्षित प्रतिफल दिन गाह्रो हुने देखिन्छ भने जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँका कारण केही जीवन बीमा कम्पनी ओभर क्यापिटालाइज्ड भएका त होइनन् वा अपेक्षित व्यवसाय गर्न नसकेका हुन सम्बन्धित जीवन बीमा कम्पनीको संचालक समिति र नियमनकारी निकायले बिचार पुर्याउन जरुरी छ । (लेखक पन्थी नेक्सजेन म्यानेजमेन्ट कम्पनीमा आवद्ध छन् ।)
बीमा : मध्यम आय भएका व्यक्तिका लागि अपरिहार्यता
मध्यम वर्गीय परिवारका राम एक निजी कम्पनीमा काम गर्दै आएका थिए । उनको परिवारमा उनकी श्रीमती सरिता, १० वर्षीय छोरा र ७ वर्षीया छोरी छन् । उनको आम्दानीले नै परिवार धानेको थियो । उनको आम्दानीले नै उनको घर खर्च, स्वास्थ्य उपचार, छोराछोरीको स्कुल लगायतका सम्पूर्ण खर्च चलेको थियो । तर एक दिन रामको अचानक दुर्घटनामा परेर मृत्यु भयो । परिवारमा एकाएक ठूलो संकटमा पर्यो । एकातिर परिवारले अभिभावक गुमायो भने अर्कातिर आर्थिक रूपमा पनि निकै नै संकटमा पर्न गयो । यस्तो अवस्थामा सरितालाई उनको घर सम्हाल्न निकै गाह्रो पर्नेवाला थियो । बच्चाहरूको पढाइ, घरको खर्च, ऋण- सबै कुरा एकैचोटि बोझ बने । निमेषभरमा रामको परिवारमा यति ठूलो विपत परेको थियो कि फेरि माथि उठ्न निकै मेहनत गर्नुपर्ने थियो । तर, रामले केही वर्षअघि नै आफ्नो भविष्य सोचेर जीवन बीमा गराएका थिए । उनले ५० लाखको जीवन बीमा योजना लिएका थिए । जसको नियमित प्रिमियम उनले समयमा तिर्दै आएका थिए । दुर्घटनामा उनको निधन भएपछि बीमा कम्पनीले सरितालाई सम्पूर्ण बीमांक रकम प्रदान गर्यो । क्षणभरमै रित्तिएको परिवारले रामलाई पाउने त अवस्था रहेन । तर आर्थिक रूपमा फेरि बलियो बन्ने अवस्था भने बीमाले दियो । बीमांक रकमबाट सरिताले सन्तानको शिक्षा तथा स्वास्थ्यमा खर्च गर्न पाइन् भने बाँकी बाँचेको रकमले ऋण पनि तिरिन् । त्यसपछि मासिक घरखर्च पनि व्यवस्थापन गरिन् । त्यसपछि उनले घरबाटै सानो व्यवसाय सुरु थालिन्, जसले उनलाई थप आर्थिक सुरक्षाको अनुभूति दियो । सम्भवतः जीवन बीमामा रामले लगानी नगरेको भए सरिता र उनको परिवार फेरि माथि उठ्न वर्षौं पर्खनुपर्ने थियो । यदि रामले जीवन बीमा नगरेका भए सरिताले आर्थिक संकटसँग संघर्ष गर्नुपर्थ्यो, बच्चाहरूको भविष्य अन्धकार हुन सक्थ्यो र ऋणको चपेटामा परिवारले कठिन समय बिताउनुपर्थ्यो । तर, जीवन बीमाको कारणले रामको अनुपस्थितिमा पनि उनको परिवार आर्थिक रूपमा सुरक्षित रह्यो । हामी धेरैजसो परिवार मध्यमस्तरको आर्थिक क्षमता भएका परिवार हौं । रामको परिवार झैं तपाईं हामीमध्ये धेरैको परिवारमा एक जनाले मात्रै कमाइ गर्दै आइरहेका छौं । यो धेरै नेपालीको वास्तविक अवस्थासमेत हो । तसर्थ यस्तो परिवारमा जीवन बीमाको अत्यन्तै धेरै आवश्यकता छ । भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि जीवन बीमा एकदमै महत्वपूर्ण माध्यम हो । मानिसले आफ्नो जीवनकालभरी विभिन्न किसिमका दुर्घटना, पीडा वा क्षतिको सामना गर्नुपर्ने हुन्छ । जसमा आर्थिक अनिश्चितता प्रमुख चुनौतीको रूपमा रहने सम्भावना बढी हुन्छ । यस्तो जोखिमलाई व्यवस्थापन गर्नका लागि सहज र अनुशाषित माध्यम जीवन बीमा नै हो । जोखिमलाई न्यूनीकरण गर्ने मात्र नभई जीवन बीमाको माध्यमबाट बचत समेत गर्न मिल्ने भएकाले मध्यमस्तरको आर्थिक क्षमता भएका परिवारलाई आर्थिक रुपमा सबल, स्वतन्त्र र दवावमुक्त समेत हुन सम्भव हुन्छ । मध्यम आय भएका व्यक्तिलाई जीवन बीमाको महत्त्व जीवन बीमाका लागि सानोसानो बचत भए हुन्छ । जस्तो कि आफ्नो भइरहेको खर्चलाई दिनदिनै सानो अंश कटौती गरेर बचतको बानी बसाल्दा सहजै जीवन बीमा गर्न सकिन्छ । त्यस्तो खर्च कटौती गरेर गरिएको जीवन बीमाले आफ्नो घर खर्च टार्ने मात्र नभई आकस्मिक परिस्थितिमा आर्थिक बोझ कम गर्न पहिलो विकल्प बनिदिन्छ। परिवारका मुख्य सदस्य वा अन्य कसैमाथि केही आपत्ति भइहालेमा उसको परिवारका अन्य सदस्यलाई आर्थिक समस्या पर्छ । त्यस्तो आर्थिक समस्याबाट परिवारलाई बचाउनका लागि पनि परिवारको मुख्य मानिसको जीवन बीमा मुख्य विकल्प हुन्छ । जीवन बीमाका फाइदाहरू जीवन बीमाले बीमितलाई दिने लाभ धेरै थरीका हुन्छन् । सबैभन्दा पहिले त जीवन बीमाले नियमित बचत गर्न समेत बानी पार्दछ । चिया खर्चजस्ता ससाना खर्च कटौती गरेर बचत गर्न बानी पार्ने एक मात्र माध्यम जीवन बीमा हो । बीमाको अवधि समाप्त भएपछि बीमाङ्क तथा बोनसको रकम फिर्ता पाइने हुँदा यसले बचत समेत गराउँछ । जीवन बीमामा लगानी गर्नु व्यक्तिका लागि अनिवार्य हो । बैंक वा लघुवित्त लगायतका क्षेत्रमा गरिएको बचत ऐच्छिक बचत हो । तर बीमामा गरिएको बचत आफ्नो लागि गरिएको अनिवार्य बचत हो । आफ्नो जीवनमाथि आइपर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्नका लागि बीमा बाहेकको विकल्प नै छैन । आर्थिक जोखिम न्यूनीकरणका लागि बीमामा निरन्तर लगानी गर्दै जानुपर्छ । यदि लगानी रोकिएको खण्डमा जोखिम न्यूनीकरण गर्न सकिँदैन । त्यसकारण पनि यो अनिवार्य बचत हो । प्रायः मध्यम वर्गमा रहेका नागरिकलाई आर्थिक सुनिश्चितता दिइरहनका लागि जीवन बीमा अति नै आवश्यक रहन्छ । कुनै पनि व्यक्तिले चिया वा खाजा कटौती गरेर बचत गरेको रकमले नै उसको आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने एकमात्र विकल्प जीवन बीमा हो । जीवन बीमामा लगानीका साथसाथै सस्तो ब्याजदरमा कर्जा लिएर ऋण तिर्न पनि सकिन्छ । साथै अन्य ठूला ऋण पनि बीमा परिपक्व भएपछि आएको रकमले एकमुष्ट तिर्न सकिन्छ । थोरैथोरै बचतबाट नै यसरी ऋणबाट मुक्त पाउन सम्भव हुन्छ । यतिमात्र नभएर सरकारले बीमा गरेवापत कर छुटको व्यवस्था गरेको छ । यदि कुनै पनि नागरिक वा कर्मचारीले जीवन बीमा गरेको छ भने सो बीमामा तिरेको प्रिमियम रकमको उसले रु ४० हजारसम्मको कर छुट पाउँछ । यसले सानो आय भएका नागरिकलाई विभिन्न आर्थिक झमेलाबाट समेत मुक्ति मिलाउन जीवन बीमा उपयोगी रहन्छ । त्यसकारण पनि जीवन बीमा मध्यम आय भएका नागरिकका लागि अत्यन्तै उपयोगी रहन्छ ।
लघु बीमा व्यवसायमा नेपाल माइक्रोको अग्रता
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले लघु बीमालेखमार्फत ७८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका ११ निर्जीवन बीमा कम्पनीहरूले ३ लाख १९ हजार ६५९ बीमालेख जारी गरी ७८ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले वैशाख महिनामा मात्रै ३१ हजार ७६३ बीमालेख जारी गरी ८ करोड १३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । तथ्यांकअनुसार १० महिनामा नेपाल माइक्रोले सर्वाधिक बीमा शुल्क संकलन गरेको छ । नेपाल माइक्रोले चालु आवको वैशासम्ममा ८५ हजार १२१ लघु बीमालेख जारी गरेकोमा २१ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । लघु बीमालेखमार्फत धेरै व्यवसाय गर्ने दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले वैशाख महिनासम्ममा १९ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । त्यस्तै, लघु बीमालेखमार्फत वैशाखसम्ममा स्टार माइक्रोले १८ करोड ३० लाख रुपैयाँ, ट्रस्ट माइक्रोले १७ करोड ६ लाख रुपैयाँ, नेको इन्स्यारेन्सले १ अर्ब २८ करोड र सिद्धार्थ प्रिमियरले ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।