नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव. २०८०/०८१ को वार्षिक प्रतिवेदन लगायत अन्य सामान्य प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरेको छ ।  सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी सञ्चालक लतिका गोल्याण, सिद्धान्त झुनझुनवाला र स्वतन्त्र सञ्चालक बद्री सिग्देल, संस्थापक सेयरधनी, सर्वसाधारण सेयरधनी लगायतको उपस्थिति रहेको थियो । साधारण सभा सम्पन्न गर्न सहयोग पुर्‍याउने सञ्चालक समितिका सदस्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव एवं कम्पनीको व्यवसाय प्रवद्र्धनमा इमान्दारी र लगनशीलताका साथ योगदान दिने कम्पनीका सम्पूर्ण कर्मचारीहरूप्रति सभापति श्रेष्ठले धन्यवाद ज्ञापन प्रकट गरे । 

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३० प्रतिशत, कुन क्षेत्रको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म ३५ अर्ब ८६ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन् । यो अवधिमा कम्पनीहरूले मोटर बीमाबाट सर्वाधिक व्यापार गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले वैशाखसम्ममा मोटर बीमाबाट मात्रै १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको ३०.०५ प्रतिशत हिस्सा देखिएको छ । मोटर बीमापछि बीमा कम्पनीहरूले सबैभन्दा धेरै व्यापार सम्पत्ति बीमाबाट गरेको देखिएको छ । कम्पनीहरूले चालु आवको वैशाखसम्ममा सम्पत्ति बीमाबाट ९ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २५.२० प्रतिशत रहेको छ । त्यस्तै, निर्जीवन बीमाको व्यवसायमा इन्जिनियर तथा ठेक्काको हिस्सा १६.९० प्रतिशत रहेको छ । ११ महिनामा कम्पनीहरूले इन्जिनियर तथा ठेक्काबाट ६ अर्ब ६ करोड ३४ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरूले विविधबाट ३ अर्ब ८५ करोड ९ लाख रुपैयाँ व्यवसाय गरेका छन् । त्यस्तै, सामुद्रिक बीमाबाट २ अर्ब १० करोड २४ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कुल व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा ५.८६ प्रतिशत रहेको छ ।  बीमा कम्पनीहरूले हवाई बीमामार्फत १ अर्ब ९० करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यसैगरी, कृषि तथा बालीको १ अर्ब ३५ करोड २ लाख रुपैयाँ र लघु बीमाबाट ७८ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा हवाईको ५.३०, कृषि तथा बालीको ३.७६ र लघुको २.१८ प्रतिशत हिस्सा रहेको छ ।

साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने

काठमाडाै । आगामी आव २०८२/८३ मा साइबर सुरक्षा बीमा सेवा सञ्चालन हुने भएको छ । सरकारले आगामी आव २०८२/८३ मार्फत साइबर सुरक्षा बीमा सेवा सञ्चालन गरिने जानकारी दिएको हो ।  सरकारले प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पति बीमाको दायरा विस्तार गर्ने भएको छ । त्यस्तै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरिने भएको छ ।