उद्योग व्यवसायीको गुनासो - बीमालेख बेच्ने बेला सजिलो तर दाबी तिर्ने बेला झन्झट
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा दाबी भुक्तानी समयमा नै हुनुपर्छ भन्नेमा प्राधिकरण सजग रहेको र समयमा नै उचित दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आइतबार विराटनगरमा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले समयमा दाबी भुक्तानी नगर्ने बीमा कम्पनी र त्यसमा जिम्मेवार बीमा सर्भेयरलाई कारवाही गरिने बताए । अध्यक्ष ओझाले भने, 'बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्ने गरेका छन्, हाल निर्जीवन बीमा कम्पनीहरूले कूल ४२ अर्ब दाबीमध्ये ३० अर्ब भुक्तानी गरिसकेका छन्, दाबी भुक्तानीमा ढिलाई हुनुको मुख्य कारण उपयुक्त जोखिमाङ्कन नगर्नु हो, बीमितहरू जोखिमाङ्कनका क्रममा सचेत हुनुपर्छ, सही जोखिमाङ्कन हुनुपर्छ ।' नेपालमा पनि अन्तर्राष्ट्रिय अभ्यास समेतलाई ध्यानमा राखी न्यूनतम बीमाशुल्क दर कायम गरिएको स्पष्ट गर्दै अध्यक्ष ओझाले भने, 'देशमा बीमा बजार परिपक्व नभइसकेको हालको अवस्थामा बीमाशुल्क प्रणाली हटाउन सम्भव छैन, तर भविष्यमा जब बजार विस्तार र परिपक्व हुन्छ तब डिट्यारिफमा जानसक्छौं । नियन्त्रित बीमाशुल्क दर सिन्डिकेट होइन, यो संसारभर अभ्यासमा रहेको नियन्त्रित प्रणाली मात्र हो ।' बीमाशुल्क दरमा विविधता र बीमितलाई विकल्प प्रदान गर्नु राम्रो अभ्यास भएको उल्लेख गर्दै अध्यक्ष ओझाले भने, 'जोखिममा आधारित प्राइसिङ प्रणालीमा गएमा बीमाशुल्क दर बढ्ने सम्भावना हुन्छ, बीमा छूट सम्बन्धी अध्ययन आवश्यक छ, अन्तर्राष्ट्रिय असल अभ्यासहरू ढिलो चाँडो नेपालमा पनि लागू गर्न प्रयास गर्छौं ।' अध्यक्ष ओझाले बीमा कम्पनीहरूलाई प्रादेशिक कार्यालयहरूलाई अधिकार सहित प्रभावकारी रूपमा संचालन गर्न निर्देशन दिइएको जानकारी दिए । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अन्य देशको तुलनामा नेपालमा प्रिमियम दर बढी रहेको, संस्थागत छुट फरक फरक रहेको र बीमा कम्पनीहरूले आफूखुसी काम गर्ने गरेको गुनासो गरे । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बीमा क्षेत्रमा बीमा प्रिमियममा अत्यधिक वृद्धि, दाबी भुक्तानी लिन कठिन जस्ता समस्याहरू रहेको बताए । कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले पहिले नन् ट्यारिफ रेट रहेकोमा अहिले ट्यारिफ रेट लागू गरिएको र यसले गर्दा कार्टेलिङलाई टेवा पुगेको, बीमा कम्पनीहरूमा बीमालेख बेच्दा लचिलो हुने तर दाबी तिर्ने बेलामा वास्ता नगर्ने प्रवृत्ति रहेको, बैंक र बीमा कम्पनीहरूबीच सिण्डिकेट रहेको, मेसिन उपकरणको बीमा गर्दा सम्भव नहुने प्रमाण माग्ने गरेको लगायतका गुनासाहरू राखेका थिए । यसैगरी, बीमा कम्पनीका प्रदेश कार्यालयहरूलाई एक करोडसम्मको दाबीको फछ्र्यौटको अधिकार दिनुपर्ने, बीमितको आवश्यकता अनुरूप बीमालेख ल्याउनुपर्ने, नेपाल बीमा प्राधिकरणले बीमितको हितलाई ध्यानमा राखी नियमनलाई अझै प्रभावकारी बनाउनुपर्ने, बीमा कम्पनीको कार्यसम्पादन प्रणाली चुस्तदुरूस्त हुनुपर्ने लगायतका सुझावहरू उद्योगी व्यवसायीहरूले दिएका थिए । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमाशुल्क दर उद्योगी र सरोकारवालाहरूका सुझावका आधारमा परिमार्जन गरिएको उल्लेख गर्दै बीमा व्यवसाय नेपालमा मात्र सीमित नभई पुनर्बीमाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा समेत जोडिएकाले प्राधिकरणको इच्छाले मात्र बीमा दर परिवर्तन सम्भव नहुने स्पष्ट गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रम संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले गरेका थिए । कार्यक्रममा उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
बीमाको पहुँच ४७.९५ प्रतिशत जनसंख्यासम्म पुग्यो, ११ महिनामा २ खर्बको व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ महिनासम्ममा कुल जनसंख्याको ४७ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ४७.९५ प्रतिशतमा बीमाको दायरा विस्तार भएको हो । यो तथ्यांक गत आवको यही अवधिको तुलनामा ४ प्रतिशतले वृद्धि भएको छ । गत आवको यही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ४३.९५ प्रतिशत थियो । जेठ मसान्तसम्ममा बीमा कम्पनीहरुले झन्डै २ खर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन् । तथ्यांकअनुसार ११ महिनामा जीवन र निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । जुन गत आवको तुलनामा १४.५१ प्रतिशतले बढी हो । गत आवको सोही समयमा बीमा कम्पनीहरुले १ खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । हाल १४ जीवन र १४ निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । ११ महिनामा जीवन बीमा कम्पनीहरुले मात्रै १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जुन अघिल्लो आवको तुलनामा १६ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । प्राधिकरणको तथ्यांकअनुसार ११ महिनामा जीवन कम्पनीको प्रथम बीमा शुल्क २६.९८ प्रतिशत र नवीकरण जीवन बीमाशुल्क १३.१३ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब १७ करोड ५१ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीहरुले २७ अर्ब ७० करोड ५ लाख रुपैयाँको जीवन बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ९८ करोड २४ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले१ खर्ब ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए । ११ महिनाको अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ५४ लाख ९८ हजार ७०१ वटा रहेको छ । जुन गत आवको तुलनामा १० प्रतिशतले वृद्धि हो । गत आवको यही अवधिमा कम्पनीहरुको बीमालेख संख्या १ करोड ४० लाख ८९ हजार ७७७ वटा थियो । यस अवधिसम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५५ लाख ३६ हजार ४४९ वटा रहेको छ । जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा २.८७ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५७ लाख २७८ वटा थियो । ९ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय समीक्षा अवधिममा निर्जीवन बीमा कम्पनीको व्यवसाय ९.०६ प्रतिशतले वृद्धि भएको छ । जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीहरुले ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । चालु आर्थिक वर्षको जेठसम्म म्यादी र लघु म्यादी जीवन बीमा लेख संख्या ७४ लाख २१ हजार २९४ वटा पुगेको छ । त्यस्तै वैदेशिक रोजगार बीमा लेख संख्या २५ लाख ४० हजार ९५८ वटा रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमा लेख संख्या ६३ लाख २२ हजार २६२ वटा र वैदेशिक रोजगार बीमा लेख संख्या २० लाख ६७ हजार २३७ वटा थियो । अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमा लेख संख्या १७.३८ प्रतिशत र वैदेशिक रोजगार बीमा लेख संख्या २२.९२ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्ममा कम्पनीहरुको कार्यालय संख्या ३ हजार ७ पुगेको छ । जसमध्ये जीवन बीमाको कार्यालय संख्या १ हजार ८५० र निर्जीवनको १ हजार १५७ पुगेको छ । बीमा कम्पनीहरुमा कर्मचारीको संख्यासमेत वृद्धि भएको छ । समिक्षा अवधिमा कर्मचारीको संख्या ४.८० प्रतिशतले वृद्धि भएर १२ हजार २३४ पुगेको छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरुमा कर्मचारीको संख्या ११ हजार ६७४ थियो ।
कोशीमा बीमा बढाउन उच्चस्तरीय समिति गठन हुने, प्रदेश बीमा नीति ल्याउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा विराटनगरस्थित कोशी प्रदेश सरकारको सभाहलमा आइतबार सम्पन्न बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारले बीमाको पहुँच विस्तार गर्न उच्चस्तरीय समिति गठन गर्ने र प्रदेश बीमा नीति ल्याउने घोषणा गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रममा बीमाको दायरा विस्तार गर्दै राहत वितरणभन्दा नागरिकलाई बीमा सुरक्षामा ल्याउन प्राथमिकता दिने बताए । न्यून आय भएका नागरिक र घर बीमालाई विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै उनले बीमा कम्पनीहरूले समयमा दाबी भुक्तानी नगरेसम्म जनविश्वास नबढ्ने भन्दै कारवाहीका लागि प्राधिकरणलाई निर्देशन दिन आग्रह गरे । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र नियमावलीअनुसार बीमा विस्तारका लागि प्रदेश सरकारले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिँदै प्रदेशमा ‘बण्डल प्रोडक्ट’ विकास र अभियान सञ्चालन गर्न प्राधिकरण तत्पर रहेको जानकारी गराए । साथै, जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि हात्ती बीमालेख तयार गर्ने प्रक्रिया अघि बढेको उनले बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा बजारको अवस्था, विकासका सम्भावना र प्रदेश सरकारको भूमिकाबारे प्रस्तुति दिएका थिए । अन्तरक्रियामा सहभागीहरूले सबै प्रदेशमा लागू गर्न मिल्ने साझा बीमा नीति बनाउनुपर्ने, संघ र प्रदेशबीच सहकार्य बलियो बनाउनुपर्ने, बीमा दाबी भुक्तानीमा ढिलाइ नगरिनुपर्ने, जङ्गली हात्ती प्रभावित क्षेत्रमा विशेष बीमालेख ल्याउनुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेशका मन्त्रीहरू, योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिव तथा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले गरेका थिए ।