एशियन लाइफको ५.३६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले ५.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँको ५.१० प्रतिशतका दरले १७ करोड ३३ लाख ९१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ९१ लाख २५ हजार रुपैयाँ नगद लाभांश गरी कुल ५.३६ प्रतिशतका दरले १८ करोड २५ लाख १७ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित बनेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव प्रकाश सिंह कठायतले जानकारी दिए । 

हिमालयन रिइन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चाैंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौँ, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाले हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतका दरले हुन आउने ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।  निजी क्षेत्रद्घारा प्रवर्द्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एक मात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेस्टबाट बी प्लस रेटिङ पाएको छ । कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ भने विश्वविख्यात पुनर्बीमा कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया तथा हानोइ रिजस्ता ठूला पुनर्बीमा कम्पनीहरुको रेट्रोसेससन प्रोग्राममा समेत हिस्सा लिएको छ ।  कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्काशन सम्पन्न गरेको थियो । सो सेयर निष्काशन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेस्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी १० अर्बको  ४ प्रतिशतका दरले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।  त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शेखर गोल्छा रहेका छन् ।  

१० महिनामा १२ अर्ब २७ करोडको बीमा पोलिसी सरेण्डर, व्यतित बीमालेखबापत् ३६ अर्ब उठ्न बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा ८८ ह जार ६३५ बीमितले १२ अर्ब २७ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर अर्थात् बीमालेख समर्पण गरेका छन् । चालु आवको १० महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको भन्दा ११.७० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा ८९ हजार ७७ बीमितले १० अर्ब ९८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको थियो । बीमा सरेण्डरको साथसाथै बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या पनि बढ्दै गएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको १० महिनामा १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ८६ करोड २० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । अर्थात त्यति रुपैयाँ बराबरको रकम अझै उठ्न बाँकी छ । चालु आवको १० महिनामा भएको बीमालेख व्यतित रकम गत आवको तुलनामा १८.९६ प्रतिशतले बढेको छ भने व्यतित बीमालेखको संख्या ११.६३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ३० अर्ब ९८ करोड रुपैयाँ उठ्न बाँकी थियो ।