आईएमई लाइफ र मेडिसिटी अस्पतालबीच सहकार्य : बीमित, अभिकर्ता र कर्मचारीलाई १० प्रतिशत छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मेडिसिटी हस्पिटलबीचको सहकार्यपछि अब कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अस्पतालको सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । साथै, हेल्थ चेकअप प्याकेजमा पनि विशेष सहुलियत प्रदान गरिनेछ । छुट सुविधा प्राप्त गर्न बीमितले आईएमई लाइफको मोबाइल एपमा उपलब्ध 'प्रिभिलेज कार्ड' देखाउनुपर्नेछ । अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीद्वारा जारी आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा लिन सक्नेछन् । कम्पनीले उक्त सहकार्यलाई आफ्नो सेवाग्राहीप्रतिको प्रतिबद्धता तथा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएको बताएको छ । यो पहलले कम्पनी र अस्पतालबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउनुका साथै सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।
निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा प्राधिकरणको अन्तक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा बिहीबार काठमाडौंमा छलफल एवं अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेसन, संस्थागत सुशासन, वित्तीय विवरण, बीमा शिक्षा र सेवा प्रवाह लगायतका विषयमा बीमकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग छलफल गरी राय सुझावहरू प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बीमितको हित रक्षा गर्नका लागि जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिए । अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरू सबल हुनका लागि बाध्यकारी बीमाको दायराबाट बाहिर निस्कनुपर्छ, बीमा ऐन नियम जिम्मेवारीपूर्वक पालना गर्नुपर्छ, कम्पनीको नीतिगत र दीर्घकालीन विषयमा सञ्चालक समिति जानकार रहनुपर्छ, प्राधिकरण सूक्ष्म व्यवस्थापन गर्न चाहँदैन, सूक्ष्म व्यवस्थापनको अवस्था आउन नदिन व्यवस्थापनलाई संचालक समितिले जिम्मेवार बनाउनुपर्छ, नियन्त्रण गर्नुपर्छ ।’ बीमा कम्पनीका प्रदेश कार्यालयहरूलाई दाबी फर्छ्याैटको अधिकार सहित सशक्त बनाउन निर्देशन दिँदै अध्यक्ष ओझाले प्राधिकरणका प्रदेश कार्यालयहरूमा समेत गरी दाबी भुक्तानीका उजुरीहरू बढिरहेकाले समयमै दाबी भुक्तानी दिएर बीमाप्रतिको विश्वास बढाउनु आवश्यक रहेको बताए । उनले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहजकर्ता र नियामकको भूमिका समानान्तर रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्दै बीमा उद्योगको विकास, बीमितको हित रक्षा, बीमाको दायरा विस्तार र लक्षित समूहसम्म बीमाको पहुँच पुर्याउनका लागि प्रक्षेपित सेवा दिएर सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा उद्योगलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन, बीमितको हित रक्षा गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नका लागि प्राधिकरणले नियमकीय भूमिका सँगसँगै सहयोगीको भूमिका समेत निर्वाह गर्दै आएको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले बीमकमा संस्थागत सुशासन कायम गर्न संचालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बीमकको लेखापरीक्षण तथा वित्तीय विवरण सम्बन्धमा संचालक समितिको भूमिका सम्बन्धी छुट्टा छट्टै प्रस्तुति गरेका थिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनी, निर्जीवन लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
बीमा कम्पनीहरूबाट ३४ अर्ब ७८ करोड दावी भुक्तानी हुन बाँकी, निर्जीवनको मात्रै ३० अर्ब
काठमाडौं । बीमा कम्पनीहरूबाट अझै ३४ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट ३४ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको पाइएको हो । चालु आवको वैशाख मसान्तसम्ममा जीवन बीमातर्फ ४ अर्ब ४५ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी छ । जुन गत आवको तुलनामा भुक्तानी हुन बाँकी रकम ९५.४२ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी रकम २ करोड २७ लाख रुपैयाँ थियो । चालु आवको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनको भुक्तानी हुन बाँकी दाबी संख्या ९७.२२ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा जीवन बीमकको भुक्तानी हुन बाँकी भुक्तानी संख्या २७ हजार ११७ रहेकोमा चालु आवमा बढेर ५३ हजार ४८१ रहेको छ । गत आवको तुलनामा कम्पनीहरुले भुक्तानी गरेको रकम भने घटेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आवको वैशाखसम्ममा ५० करोड ६६ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेकोमा समीक्षा अवधिमा कम्पनीहरूले ४८ करोड ९५ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । निर्जीवनतर्फ ३० अर्ब भुक्तानी बाँकी वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ३३ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । जुन गत आवको सोही अवधिको तुलनामा ४६.८९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी रकम २० अर्ब ६४ करोड थियो । वैशाख मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या १ लाख ५ हजार ६२० रहेको छ । गत आवको तुलनामा भुक्तानी हुन बाँकी दाबी संख्या २.४५ प्रतिशतले बढेको हो । त्यस्तै वैशाखसम्ममा १८ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको वैशाखसम्मको तुलनामा ३४.८० प्रतिशतले बढी हो । गत आवको यही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १३ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।