सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारीकाे सम्भावना

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)मा चिरायु भण्डारीलाई प्रस्ताव गरेको छ । सञ्चालक समितिले भण्डारीसँग व्यवसायिक योजनाबारे समेत छलफल गरेको छ । दुई पक्षबीचको छलफल सकारात्मक भएपछि कम्पनीका प्रतिनिधिले बीमा समितिसँग अनौपचारिक छलफल गरेका छन् तर बीमा समितिले केही प्राविधिक कुरा उठाएको स्रोतले बतायो । भण्डारी गत असारसम्म नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनीसँग लामाे नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ । ‘बीमा क्षेत्रमा चार दशकदेखि कार्यरत छु । अब यो क्षेत्र छोडेर बाहिर जाने कुरा भएन’ भण्डारीले भने–‘विभिन्न कम्पनीबाट प्रस्ताव आएका छन् तर निर्णय भएको छैन ।’ २ वर्षअघि स्थापना भएकाे सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीले हालसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेकाे छैन । हाल महाप्रवन्धक शिवराम तिमल्सिनाले व्यस्थापकीय नेतृत्व समालेका छन् ।

एभरेष्ट इन्स्योरेन्सको एजीएम असोज १ गते, मर्जरमा जाने प्रस्ताव पारित गरिने

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा(एजीएम)मा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । असोज १ गते हुने कम्पनीको २४औं वार्षिक साधारण सभामा उक्त विशेष प्रस्ताव पेश गरिने भएको हो । विहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले असोज १ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि भदौ २२ गते कम्पनीको सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने कम्पनी सचिव भद्रबहादुर विष्टले जनाएका छन् । साधारण सभाले आव २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूचिहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

एनआईसी एशियाको डिजिटल च्यानलबाट सगरमाथाको प्रिमियम भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बीमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्ग लगायत एनसीएच एल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । सो सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।