संसदमा अड्कियो बीमा विधेयक, ‘ऐन छिट्टै बने सुधार चाँडै हुने’

काठमाडौ । संघीय संसदमा पुगेको लामो समय भइसक्दा समेत ‘बीमा विधेयक’ पारित हुन सकेको छैन । उक्त विधेयक जति छिटो पारित हुन्छ त्यति नै छिटो बीमा क्षेत्रमा सिईओको योग्यता देखि सर्भेयरले गर्ने कामसम्ममा सकारात्मक प्रभाव पार्ने बताइएको छ । राष्ट्रिय बीमा संस्थानले दिएको जानकारी अनुसार–‘बीमा विधेयक संसदबाट पारित हुना साथ राष्ट्रिय बीमा संस्थान कम्पनीमा जान्छ ।’ उक्त संस्थान कम्पनीमा गए पछि बीमा क्षेत्रमा आएका नयाँ कम्पनीको ढाँचा अनुसार संस्थानले सम्पूर्ण काम थाल्नु पर्ने हुन्छ । २०४९ को बीमा ऐनको दफा ४७ मा नियम तथा विनियम बनाउने अधिकारका बारेमा उल्लेख गरिएको छ । उक्त दफाको उप–दफा १ मा भनिएको छ–‘यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्ने छन् ।’ यस्तै, दफा ४७ कै उपदफा २ ले भनेको छ –‘यस ऐनको अधिनमा रही समितिले नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियम बनाउन सक्नेछ ।’ नेपाल सरकारले बीमा व्यवसायको हित र सम्बद्र्धनको निमित्त समितिलाई आवश्यक निर्देशन दिनसक्ने र त्यस्तो निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुने विद्यमान ऐनमा छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार बीमा विद्येयकमा केही महत्वपूर्ण कुराहरु समेटिएका छन् । बीमा विद्येयकमा बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा लाने लग्ने कुरा उल्लेख छ । यस्तै, बीमा कम्पनीमा काम गर्ने प्रमुख कार्यकारी अधिकृत (सिईओ)को योग्यताको विषयमा समेत सम्बोधन गरेको पाइन्छ । विद्येयकले सिइओको योग्यता बीमा, व्यस्थापन तथा अर्थशास्त्र लगायतका विषयमा स्नातकोत्तर गरेको हुनु पर्ने कुरामा जोड दिएको छ । यस्तै हाल बीमा क्षेत्रमा कार्यरत सर्भेयरहरु क्षेत्र विषेशको आधारमा काम गर्दैनन् । बीमा विद्येयकले सर्भेयरले गर्ने कामलाई विषेश विधागत आधारमा गर्ने व्यवस्था गर्नेछ । अहिले बीमा क्षेत्रमा काम गर्ने सर्भेयर सिभिल इन्जिनियरिङ्गसँग सम्बन्धित हो भने उसले मेकानिकल समेतको सर्भे गरेका पाइन्छ । तर, बीमा ऐन आए पश्चात सिभिल इन्जिनियरिङ्ग पढेको सर्भेयरले मेकानिकलमा सर्भे गर्न पाउँदैनन् । बीमा क्षेत्रमा सुशासन कायम गर्ने कुरामा बीमा ऐन केन्द्रित रहेको जानकारहरुले बताएका छन् ।

एनआईसी एशियाका ग्राहकलाई होटल ह्यारिसन विराटनगरमा ३० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन् । प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रभु इन्स्योरेन्स २४ औँ वर्षमा, ‘अघिल्लो आवको भन्दा १३ प्रतिशत व्यवसाय बृद्धि’

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औँ बार्षिक साधारण सभा तथा २४ औं बार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । तिनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै श्रावण १७ गते देखि कम्पनी स्थापनाको २३ औँ बर्ष पूरा गरी २४ औँ बर्षमा प्रवेश गरेको छ । २४ औँ स्थापना दिवसको उपलक्ष्यमा राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताए । ‘व्यवसायको तुलनामा दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरु राम्रो रहेकोले कम्पनीको अवस्था धेरै राम्रो रहेको छ’–उनले भने । सोही कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले गत आर्थिक वर्ष २०७५/०७६ मा बीमा क्षेत्रले धेरै राम्रो प्रगति गर्न सकेको बताउँदै बिगत वर्ष बीमाको पहुँच ६÷७ प्रतिशत जनतामा रहेकोमा आव २०७५/०७६ मा १९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको बताउँदै मुलुकको कूल गार्हस्थ उत्पादनमा बीमाक्षेत्रको योगदान २ प्रतिशत रहेको बताए । साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि तोकिएको समय सीमा समाप्त भएकोले अब तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीको लागि कुनै पनि समय सीमा थप नगर्ने तथा पुँजी बृद्धि गर्न असफल कम्पनीहरुलाई स्पष्टिकरण सोधिसकिएको बताए । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृत्ति बिकासको लागि सबै बीमा कम्पनी तथा बीमा समितिको सहकार्यमा बीमा तालिम केन्द्र स्थापना गरिसकिएको उनले बताए । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनी बीमा समितिको मार्गदर्शनमा अगाडि बढिरहेको बताउँदै कम्पनीले बीमाको बिकासको लागि नयाँ-नयाँ प्रोडक्टहरुको शुरुवात गर्न लागेको बताइन् । सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको छ–उनले बताइन् । साथै कम्पनीका सञ्चालक राजेन्द्र मल्लले पुनर्बीमा सम्वन्धी सम्पूर्ण कारोवार मुलुक भित्र नहुने हुनाले अझै पनि ठूलो रकम बिदेशिने गरेकोले नेपालमा रहेको पुनर्बीमा कम्पनीलाई अझ मजबुत बनाउन आग्रह गरे । कम्पनीको बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवसाय बृद्धि गरेकोे बताए । ग्राहकहरुको सुविधाको क्यासलेस दावी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको तथा ग्राहकलाई बीमालेख तथा दावी सम्वन्धी जानकारी दिनको लागि अनलाइन सिस्टकको बिकास गरेको बताउँदै आगामी दिनमा थप शाखा सञ्जाल बिस्तार गर्दै लगिने बताए । हाल कम्पनीको चुक्ता पूजी रु. १ अर्व ५० लाख ७६ हजार रहेको छ । केन्द्रीय कार्यालय सहित ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।