१४ अर्ब ६३ करोड पुग्यो निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी, लगानी ३२ अर्ब ९४ करोड

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म निर्जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी १४ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुको लगानी ३२ अर्ब ९४ करोड १८ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीहरुको नगद तथा मौज्दातमा ३ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ रहेको छ । १ सय ८१ प्रकारका बीमा लेखहरु प्रचलनमा आउँदा अभिकर्ता संख्या भने ३ हजार ८ सय ७० पुगेको छ । बीमा समितिका अनुसार १ लाख ३ हजार ८ सय ६८ बीमा दावी परेको छ । उक्त दाबी मध्ये तिरिएको दाबी रकम १३ अर्ब ३२ करोड १२ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ । निर्जीवन बीमा कम्पनीका कार्यालय संख्या निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको कार्यालय संख्या ८ सय ६९ वटा रहेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीका कूल कर्मचारी संख्या ४ हजार ६ सय ८३ पुगेको तथ्याङ्कले देखाउँछ । गत आर्थिक बर्षमा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या ४० रहेको छ । सो संख्या मध्येमा जीवन बीमा गर्ने कम्पनीहरु भने १९ वटा र निर्जीवन बीमा कम्पनीको संख्या २० छ । १ मात्र पुनर्बीमा कम्पनी रहेको छ । बीमा समितिका अनुसार बीमा समितिबाट इजाजत पत्र प्राप्त बीमा कम्पनीहरुको स्वामित्व संरचनामा सरकारी, निजी, विदेशी तथा संयुक्त छन् । यस्तै, समग्र बीमा क्षेत्रमा भने सरकारी कम्पनीको संख्या ३, निजी तर्फ ३२, विदेशी शाखा भएका कम्पनी ३, संयुक्त लगानीमा सञ्चालित कम्पनीहरु २ गरी जम्मा ४० वटा बीमा कम्पनीहरु क्रियाशील रहेका छन् ।

शिखर इन्योरेन्सको १४ औँ साधारण सभा सम्पन्न, यस्ता छन् ३ विशेष निर्णय

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ विशेष निर्णय सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार ४ संचालक नियुक्त गर्ने देखि, चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने तथा मर्जरमा जाने निर्णय सार्वजनिक गरेको हो । १४ औँ साधारण सभाको अवसरमा कम्पनीले सो निर्णय सार्वजनिक गरेको हो । बीमा समितिबाट जारी भएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ अनुसार कम्पनीको संचालक समितिको संख्या बढीमा ७ जना हुने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कम्पनीको नियमावलीको नियम १२ संसोधन गरी शिखर इन्स्योरेन्सले ७ जना संचालक हुने व्यवस्था कायम गरेको हो । साथै संचालकमा एकजना महिला रहनु पर्ने व्यवस्था रहेका छन् । साथै कम्पनीको संचालकमा रमेशकुमार लुईटेल, राजेन्द्रप्रसाद श्रेष्ठ, सौरभ जंग बहादुर राणा र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् । सो व्यवस्था कायम हुनु भन्दा अघि संचालक समितिमा ९ जना रहने व्यवस्था थियो । ३० प्रतिशत हकप्रद जारी गर्ने इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने कम्पनीले जनाएको छ । यता, बीमा समितिबाट जारी भएको बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ को कम्पनीले पालना गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) दीपप्रकाश पाण्डे भने–‘शिखर इन्स्योरेन्स कम्पनीले नेपालमा स्याउको समेत बीमा गरेको छ, कम्पनीले आवश्यकता अनुसारको प्रडण्ट बजारमा ल्याउने छ ।’ आर्थिक वर्ष २०७४/७५ मा मात्रै कम्पनीले १ सय ८७ करोडको दाबी भुक्तानी गरेको जनाएको छ । निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी राजश्वमा ६५ करोड रुपैयाँ योगदान पुर्याउन सफल भएको कम्पनीले दाबी गरेको छ ।

ग्लोबल आइएमईको क्रेडिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखेर क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदन दिन सक्ने जनाइएको छ ।