सिद्धार्थ इन्स्योरेन्सले पारित गर्यो १५.४८% बोनश सेयर दिने प्रस्ताव, ३ सञ्चालक निर्वाचित
काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १७ वार्षिक साधारण सभाले सेयरधनीहरुलाई १५.४८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १५.४८ प्रतिशतले हुन आउने १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै कम्पनीले सञ्चालक समितिमा समूह ‘क’ संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित ३ जनाको नाम सार्वजनिक गर्यो । कम्पनीको सञ्चालनमा पवनकुमार अग्रवाल, रतनलाल केडिया र राहुल अग्रवाल २०७६ असार ६ गते निर्वाचित भएका हुन् । साधारण सभामा सेयरधनीका तर्फबाट अमृतनाथ रेग्मीले पछिल्लो समय बैंकहरुलाई विभिन्न हावा चलेको छ, यस्तो बेलामा इन्स्योरेन्सहरुपनि सचेत रहन आवश्यक रहेको बताए । अर्का लगानीकर्ता उद्धवप्रसाद घिमिरेले सिद्धार्थले प्रदान गरेको प्रतिफल प्रति खुशी व्यक्त गर्दै भने–१५.४८ प्रतिशत प्रतिफल भनेको चानचुने कुरा होइन । लगानीकर्ताको अभिव्यक्ति सुनिसकेपछि संचालक समितिका अध्यक्ष रतनलाल केडियाले भने–‘लगानीकर्ताहरुले राख्नु भएको माग हामीे पूरा गर्न प्रतिवद्ध छौँ, महिला सञ्चालक समेतको माग हुँदै आएको छ, हामीले सो कुरालाई समेत प्राथमिकतामा राखैका छाँै, आगामी दिनमा ठाउँ खाली हुने बित्तिकै सो माग पूरा हुनेछ ।’
ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सेवा सम्झौता
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौता पश्चात चितवन लगायत आसपास क्षेत्रका कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । उक्त सम्झौतापत्र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं ५ का क्षेत्रीय प्रबन्धक चरन तिमिल्सिनाले आदान प्रदान गरेका थिए ।
रिलायन्सले चौबीसै घण्टा जीवन बीमाबारे जनचेतना अभिबृद्धि गर्ने, सम्पर्क केन्द्र उद्घाटन
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा र ३६५ दिन नै सम्पर्क केन्द्र सञ्चालन गर्ने भएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे । सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र ४७८७२२४ मा फोन गरी प्रेषित वा प्राप्त गर्न सक्ने बताइएको छ । नेपालको जीवन बीमा इतिहासमा कम्पनीले पहिलो पटक सम्पर्क सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले दाबी गरेको छ ।