कामना सेवाबाट एशियन लाईफको बीमा सेवा पाइने
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।
काठमाडौँ र बुटवलमा सिद्धार्थ इन्स्योरेन्सको शाखा बिस्तार
काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लि.ले काठमाण्डौको स्वयम्भु तथा बुटवलको ट्राफिक चोकमा शाखा बिस्तार गरेको छ । स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ एवम् नायव महाप्रबन्धक मुरारी रेग्मीले संयुक्त रुपमा उद्घाटन गरे । यस्तै प्रमुख कार्यकारी अधिकृत बैदवार क्षेत्रीले ट्राफिक चोक बुटवल शाखाको उद्घाटन गरे । सो अवसरमा प्रमुख कार्यकारी बैदवार क्षेत्रीले अहिलेसम्म ७४ वटा शाखा सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भबिष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।
लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारण सभा, चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष मनोहरदास मूलले १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरे । आब २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूँजी पूरा गर्ने योजना रहेपनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अबस्था आएकोले हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको अध्यक्ष मूलले जानकारी गराए । सभाले कम्पनीको हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने र हालको चुक्ता पूँजी रु. ८८ करोडको २०% हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले बताए ।