एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद जारी गर्ने, जेठ १४ गतेदेखि बिक्री शुरु

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई एक बराबर ३ को अनुपातमा अर्थात ३०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको सो मात्रा अर्थात अंकित मूल्य १०० रुपैयाँको दरले ८२ लाख १९ हजार ४७५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रद सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ नाघ्ने छ । इच्छुक सेयरधनीले आगामी जेठ १४ गतेदेखि असार १६ गतेसम्म कम्पनीको हकप्रद सेयर किन्न सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने छ । उक्त हकप्रद सेयर जारी गर्नको लागि कम्पनीले “केयर-एनपि आईपीओ ग्रेड ४” प्रमाणपत्र पाएकाे छ । उक्त ग्रेडले कम्पनीको अवस्था औषतभन्दा कमजाेर रहेको देखाउँछ ।

बिदाको दिनपनि अजोड इन्स्योरेन्सले बीमा सेवा प्रदान गर्ने, ३६५ दिननै कार्यालय खुल्ने

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ । बैशाख १ गते देखि नै सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पूर्ण सेवाहरु उपलब्ध गराएको कम्पनीले जनाएको छ । ग्राहक तथा सेवाग्राहीको व्यस्त समयलाई मध्य नजर गर्दै बिदाका दिन समेत बीमालेख जारी गर्ने, बीमाशुल्क भुत्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाएको बजार बिभाग प्रमुख लक्ष्मण पराजुलीले बताए ।

सहकारीलाई बीमा लाइसेन्स दिन माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले पूर्व बजेट छलफल कार्यक्रममा सहकारीहरुलाई समेत बीमा गर्न अनुमति दिनुपर्ने माग गरे । बीमा कम्पनीहरुले सर्वसाधारणलाई राम्रोसँग सेवा दिन नसकेको र त्यहाँ धेरै समस्याहरु रहेकाले सहकारीहरुलाई जीवन तथा निर्जिवन बीमालेख जारी गर्ने अनुमति दिनुपर्ने माग उनले गरेका हुन् । ‘सहकारीले लाइफ र नन लाइफ बीमा गराउन पाउनु पर्छ, बीमा कम्पनीहरुले नागरिकलाई धेरै दुःख दिईरहेका छन्, अब हामी सहकारीले नै बीमा गराउँछौं’, महासंघका अध्यक्ष बडालले भने । उनले बीमा कम्पनीका अनावश्यक नियमहरुका कारण गाउँ गाउँका जनता बीमाबाट बञ्चित हुनु परेकाले पनि शहकारीलाई बीमा गराउने बाटो खोल्नुपर्ने माग गरेका थिए । बडालले ग्रामिणस्तरमा बीमा सेवा पुर्याउन र सहज दावी भुक्तानी सुनिश्चित गर्न पनि शहकारीलाई बीमाको सेवा दिने सुबिधा दिनुपर्ने दावी गरे । बडालले सहकारीलाई बीमा सेवाको अनुमति दिनुपर्छ भनेर धारा प्रवाह भाषण गरिरहँदा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ भने केही परको अर्काे टेबलमा बसेर मुस्कुराईरहेका थिए । हामीले समिति अध्यक्ष चापागाईँलाई सोध्यो, शहकारीलाई बीमा सेवाको अनुमति दिन सकिन्छ ? उनले प्रति प्रश्न गरे-‘डाक्टरले बाटो बनाउने काम र इञ्जिनियरले शल्यक्रियाको काम गर्न मिल्छ र ?’ अध्यक्ष चापागाईँले सबै संस्थाहरु आफुलाई नियमन गर्ने कानुनहरु सञ्चालन हुने भएकाले आफ्नो दायरा र क्षेत्राधिकार बिर्सन नहुने स्पष्ट पारे । ‘राज्यले बिभिन्न संस्थाहरु बिभिन्न ऐन मार्फत जन्माएको हुन्छ । सबैले आ–आफ्नो ऐनको मर्म अनुसार काम गर्नु पर्छ । सहकारीले काम गर्ने भनेको आफ्नो निक्षेप सदस्यमा मात्रै हो । बीम गराउने कुरा कुनै पनि हिसाबले मेल खाँदैन’, अध्यक्ष चापागाईँले भने । सहकारी संस्थाहरुले आफ्नो ऐनलाई बिर्सन नहुनेमा पनि उनले जोड दिए । ‘सहकारीले बीमा गर्ने कुरा न सहकारी ऐन अनुसार भयो न त बीमा ऐन अनुसार नै, अर्काे महत्वपूर्ण कुरा भनेको बीमा हुनका लागि पुनर्बीमा हुनुपर्छ, सहकारीले कसरी पुनर्बीमा गरेर जोखिम हस्तान्तरण गर्छन् ?’, अध्यक्ष चापागाईले प्रश्न गरे । उनले एक करोड पुँजी समेत नभएका सहकारीहरुले बीमा गराउँछौं भन्नै नमिल्ने तर्क पनि गरे । ‘एक करोडको पनि पुँजी नभएका सहकारीहरुले अरबौंको बीमा गराउने कुरा साह्रै गलत हो र त्यो सम्भव पनि छैन्’, चापागाईँले भने । सबै बीमा सेवाको नियामकीय अधिकार खोज्दै बीमा समितिले सबै खाले बीमा सेवा दिने कम्पनीहरुको नियमन गर्ने जिम्मेवारी खोजिरहेको छ । हाल स्वास्थ्य बीमा बोर्डले बार्षिक २५ सय रुपैंयाँ प्रिमियम संकलन गरेर पाँच जनाको परिवारलाई ५० हजारसम्मको स्वास्थ्योपचार शुल्क व्यहोरिरहेको छ । त्यस्तै, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले पनि आफ्ना सञ्चय कर्ताहरुको बीमा गराउने तयारी गरिरहेका छन् । नेपाली सेनाले समेत कल्याणकारी कोष मार्फत सैनिकहरुको बीमा गराउने कार्यक्रम अघि बढाएको छ । बिभिन्न संघ संस्थाहरुले आफुखुसी बीमा गराउन थालेपछि समितिले सबै खाले बीमाहरुको नियमन अधिकार मागेको हो । बीमा हुनका लागि पुनर्बीमा हुनै पर्ने विश्वव्यापी मान्यता अनुसार स साना संस्थाहरुलाई बीमा गर्न दिनै नहुने समितिको अडान रहँदै आएको छ । बीमा समितिले सहकारीलाई बीमाको अनुमति दिने कुरा असम्भव भएको पनि स्पष्ट पारेको छ ।