आइएमई लाइफको नाफा २७ करोड रुपैयाँ, ३०.७१ प्रतिशत बढ्यो दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १ प्रतिशत बढेर २७ करोड ६ लाख ५८ हजार रुपैयाँ गरेको छ । गत आवको दोस्रो त्रैमसमा कम्पनीले २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ३६.४५ प्रतिशत बढेर ३ अर्ब १९ करोड २० लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३३ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर २ अर्ब ९४ करोड १३ लाख ९९ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले २ अर्ब २५ करोड ३ लाख २० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको कुल आम्दानी २७.५९ प्रतिशत बढेर ४ अर्ब १ करोड ४५ लाख ८० हजार रुपैयाँ र कुल खर्च ३० प्रतिशत बढेर ३ अर्ब ७४ करोड ३९ लाख २२ हजार रुपैयाँ गरेको छ । गत वर्षको ६ महिनामा कम्पनीले ३ अर्ब १४ करोड ६५ लाख ६४ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब ८७ करोड ८७ लाख १ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ५२ करोड ३८ लाख १६ हजार रुपैयाँ, महाविपत्ति कोषमा २८ करोड ९८ लाख ६९ हजार रुपैयाँ, सञ्चिति नाफा ४३ करोड ४२ लाख ८७ हजार रुपैयाँ र अन्य इक्विटी २१ करोड ९९ हजार रुपैयाँ रहेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.११ रुपैयाँ बढेर १०.८३ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.११ गुणा छ ।
स्वास्थ्य बीमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाका सम्बन्धमा देखिएको समस्या सरकारले स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य बीमासम्बन्धी छलफलमा उनले आर्थिक अभावको अवस्थामा सेवा कायम राख्ने, एकद्वार प्रणाली लागु गर्ने, बलियो नियमन र तत्काल स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । ऋण लिएर भए पनि वा अन्य स्रोत जुटाएर भए पनि स्वास्थ्य बीमा सेवा निरन्तर गर्नुपर्ने उनको स्पष्ट सन्देश छ । 'अब सेवा दिएन भने जनताले सडकमा प्रश्न उठाउँछन् । स्रोत जुटाउनै पर्छ', उनले भनिन्, 'एकद्वार प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्छ । नियमन गर्न जरुरी छ । पैसा गइरहेको छ, तर उपचार पाइरहेको छैन । कहाँ के भइरहेको छ, त्यो ठीक भएन ।' प्रधानमन्त्री कार्कीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसङ्ख्यक समुदायका लागि स्वास्थ्य बीमा सुविधा निरन्तरता दिनैपर्नेमा जोड दिइन् । 'जनताले रु ३ हजार ५०० तिरेका छन् । सरकारले रु १ लाखसम्म उपचार दिने भनेको छ । तर रकम पुर्याउन नसक्ने, सेवा दिन नसक्ने, यहाँ गम्भीर कमजोरी देखियो,' उनले भनिन्, 'हाल १६ लाख १७ हजार ८५ जना बिमितले सेवा लिइरहेका छन् । जुन तीन करोड जनताले तिरेको करबाट सम्भव भएको हो । सेवा लक्षित वर्गको पहुँचमा पुग्नुपर्छ ।' सो छलफलमा सहभागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले प्रिमियम दर फ्ल्याट राख्नुको सट्टा उमेरअनुसार बनाइनुपर्ने सुझाव दिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषसँग दोहोरोपना हटाएर वितरणमुखी कल्याणकारी कार्यक्रम एकीकृत गरे स्रोत व्यवस्थापन सम्भव हुने बताए । यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष जुद्धबहादुर गुरुङले नीतिगत सुधार र दोहोरोपना हटाउन नसके स्वास्थ्य बिमाले गति नलिने स्पष्ट पारे ।
वित्तीय साक्षरताबाट आत्मनिर्भर समाज निर्माणको यात्रामा एक बीमा अभियन्ता
भविष्यलाई भाग्यमा होइन, बीमाले सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई जीवनको मूल दर्शन बनाएकी दिलमाया तामाङ आज नेपाली समाजमा वित्तीय साक्षरताको एक शान्त तर प्रभावशाली अभियानको नाम बनेकी छन् । धेरैका लागि बीमा अझै पनि जटिल प्रक्रिया, ठूलो प्रिमियम र सम्पन्न वर्गका लागि मात्र सीमित विषयजस्तो देखिन्छ । तर यही भ्रम चिर्दै समाजका हरेक तह, वर्ग र समुदायसम्म बीमाको वास्तविक अर्थ र महत्त्व पुर्याउने अभियानमा उनी निरन्तर लागिरहेकी छन् । उनका लागि बीमा केवल वित्तीय उत्पादन होइन, चेतनाको विषय हो । एउटा दुर्घटना, रोग वा अकाल मृत्युले कसरी सिङ्गो परिवारलाई आर्थिक रूपमा दशकौँ पछाडि धकेल्न सक्छ भन्ने अनुभव र बुझाइले उनलाई यो क्षेत्रमा समर्पित बनाएको छ । उनी स्पष्ट शब्दमा भन्छिन्, 'बीमा विलासिता होइन, करकाप होइन यो जीवनको आधार हो' । आर्थिक सुरक्षाको आधारशिला बिना आत्मनिर्भर समाज सम्भव छैन भन्ने विश्वास उनको अभियानको केन्द्रमा छ ।' सिन्धुली जिल्लाको मरीन झाडीमा जन्मिएकी दिलमाया आर्थिक र शैक्षिक सीमाबीच हुर्किइन् । त्यतिबेला पढाइ आजको जस्तो सहज थिएन । विद्यालयसम्म पुग्नुपर्ने दूरी, सीमित साधन र पारिवारिक अवस्थाले उनलाई बारम्बार चुनौती दियो । तर जीवनले कोरेको सीमालाई चेतनाको शक्तिले जित्न सकिन्छ भन्ने विश्वासले उनलाई अघि बढायो । कठिनाइका बाबजुद उनले पढाइलाई निरन्तरता दिइन् र अहिले स्नातक तहको अध्ययन पूरा गर्ने चरणमा छिन् । कोभिड–१९ को महामारीले संसारलाई अनिश्चिततामा धकेलेको बेला उनले बीमा क्षेत्रमा प्रवेश गरिन् । त्यो समय केवल पेसागत परिवर्तनको क्षण मात्र थिएन, जीवनप्रतिको दृष्टिकोण बदलिने मोड पनि थियो । सुरुवातमा उनलाई बीमा के हो, यसको फाइदा के हो भन्ने विषयमा खासै जानकारी थिएन । लकडाउनका दिनहरूमा जुम मिटिङमार्फत बीमाबारे सुन्दै जाँदा उनले पहिलो पटक बीमालाई आफ्नो जीवनसँग जोडेर बुझ्न थालिन् । त्यही क्रममा उनले आफूले कमाएको सानो आम्दानीबाट बीमा गर्दा आमाबुबालाई हकदार बनाउन सकिने कुरा थाहा पाइन् । 'भोलि मलाई केही भइहाल्यो भने मेरो बीमाको रकम बुवा–आमाले पाउनुहुन्छ,' भन्ने सोचले उनलाई गहिरो रूपमा छोयो । त्यस क्षणदेखि बीमा उनका लागि केवल कागजी सम्झौता रहेन, पारिवारिक जिम्मेवारी र प्रेमको प्रतीक बन्यो । यही भावनात्मक बुझाइले उनलाई बीमाप्रति सकारात्मक बनायो र यो क्षेत्रलाई समाज परिवर्तनको माध्यमका रूपमा हेर्न सिकायो । बुझ्दै जाँदा उनले बीमालाई एउटा जीवनपद्धतिका रूपमा स्वीकार गरिन् । बचत गर्ने बानी बसाल्ने, जोखिमको सुरक्षा गर्ने, आवश्यक पर्दा कर्जाको सुविधा दिने र दीर्घकालीन योजना बनाउन सहयोग गर्ने यस्तो संयन्त्र उनले अरू कतै देखेकी थिइनन् । उनका अनुसार बीमाले मानिसलाई अनुशासनमा बाँधेर जीवनलाई सहज बनाउँछ। यही बुझाइले उनलाई अरूलाई पनि यो ज्ञान बाँड्नुपर्छ भन्ने निष्कर्षमा पुर्यायो र उनी बीमा अभिकर्ता बन्न पुगिन् । उनका लागि अरूलाई बुझाउनु भनेको व्याख्या गर्नु मात्र होइन, आफैँ उदाहरण बन्नु हो । 'अरूलाई खोलाको गहिराइ बुझाउन चाहने हो भने पहिले आफैँ खोलामा पसेर अनुभव गर्नुपर्छ,' भन्ने सोचका साथ उनले आफ्नै जीवन बीमा गरिन् । आफू बिमित भएर मात्रै विश्वास जित्न सकिन्छ भन्ने मान्यताले उनलाई अझ जिम्मेवार बनायो । आज दिलमाया तामाङको अभियान सहरका सीमामा सीमित छैन । उनी गाउँका किसान, मजदुर, गृहिणी, साना व्यवसायी, एकल महिला, बाटोमा मकै बेच्ने महिला र वैदेशिक रोजगारीमा जाने युवासम्म पुगेर बीमाको महत्त्व बुझाइरहेकी छन् । धेरैले 'बचत छैन' भन्दै बीमाबाट टाढा भाग्ने गरेको देख्दा उनी सोच परिवर्तन आवश्यक रहेको बताउँछिन् । सानो रकमबाट पनि बीमा सुरु गर्न सकिन्छ भन्ने सन्देश उनी निरन्तर दिन्छिन् । उनको बुझाउने शैली सरल र जीवनसँग जोडिएको छ। मोटरसाइकल किन्दा बीमा अनिवार्य हुन्छ भने, हाम्रो अमूल्य जीवनलाई बिना बीमा उपेक्षित गर्नु बुद्धिमानी हो त ? यही प्रश्नले उनले धेरै मानिसको सोच बदल्न सफल भएकी छन् । बीमा बेच्नु उनको लक्ष्य होइन, चेतना बाँड्नु उनको ध्येय हो । उनको काम केवल बीमाको फाइदासम्म सीमित छैन । उनी आय–व्यय व्यवस्थापन, बचतको बानी, जोखिम व्यवस्थापन र दीर्घकालीन योजना जस्ता विषयमा खुलेर कुरा गर्छिन् । आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म मानिस साँच्चिकै स्वतन्त्र हुन सक्दैन भन्ने विश्वासका साथ उनले बीमालाई आत्मनिर्भरताको पहिलो खुड्किलोका रूपमा प्रस्तुत गर्दै आएकी छन् । अरूलाई सिकाउनुअघि आफू उदाहरण बन्नुपर्छ भन्ने मान्यताअनुसार उनले आफैँ करिब एक करोड रुपैयाँ बराबरको जीवन बीमा गरेकी छन् । यसले उनको प्रतिबद्धता र विश्वासलाई अझ मजबुत बनाएको छ । बीमा बाहेक, उनले महिलालाई लक्षित गर्दै तामाङ पहिरन उत्पादनको सानो उद्योग पनि सञ्चालन गरेकी छन् । मौलिक संस्कृतिको जगेर्नासँगै बच्चा भएका महिलालाई रोजगारी दिने उद्देश्यले सुरु गरिएको यस उद्योगमा अहिले १०–१२ जना महिला कार्यरत छन्, जसले उनको सामाजिक सोच र मानवीय संवेदनशीलतालाई स्पष्ट देखाउँछ । उनका अनुसार बीमा व्यवसाय इमान्दारिता र विश्वासमा आधारित हुनुपर्छ । ग्राहकको आय, परिवारको अवस्था र आवश्यकताबिना बीमा गराउनु गलत हो भन्ने कुरामा उनी दृढ छिन् । एक पटक विश्वास टुटेपछि यो पेसा नै समाप्त हुने भएकाले आफू यस विषयमा अत्यन्त सजग रहेको उनी बताउँछिन् । केही वर्षअघि विवाहबन्धनमा बाँधिएकी दिलमायाकी अहिले १६ महिनाकी छोरी छिन्। आमा बनेपछि बीमाको महत्त्व उनले अझ गहिरो रूपमा महसुस गरेकी छन् । बच्चाको भविष्यलाई 'जे होला होला' भन्दै भाग्यमा छोड्ने प्रवृत्तिप्रति उनी असहमत छिन् । उनको धारणा स्पष्ट छ—जुन जोखिमको समाधान सजिलै सम्भव छ, त्यसमा भाग्यवादी हुनु हुँदैन । 'जोखिमलाई भाग्यमा नछोडौँ, बीमाले सुरक्षित गरौँ,' भन्ने सन्देश उनको जीवनदर्शन बनेको छ। छोरीलाई काखमा लिएर भविष्यतर्फ हेर्दा, आफूले बीमा गरेर मात्र होइन, बीमा अभियन्ताको रूपमा धेरै परिवारलाई जोखिमबाट सुरक्षित बनाउन पहल गरेकोमा उनलाई धेरै गर्व लाग्छ । उनका लागि बीमा व्यवसाय होइन, बरु आत्मनिर्भर, सुरक्षित र सचेत समाज निर्माणतर्फको निरन्तर यात्रा हो ।