छिमेक लघुवित्तको २४औं साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश र पूँजी वृद्धि गर्ने निर्णय

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा मंगलबार हेटौंडास्थित होटल सामना प्रालिमा सम्पन्न भएको छ। साधारण सभा संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा भएको हो । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाडौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हाल ६९ जिल्लामा रहेका १९७ वटा शाखामार्फत ४ लाख ४० हजार ३ सय ७ जना महिला सदस्यलाई लघुवित्त सेवाहरू प्रदान गर्दै आएको छ । वि.स. २०५८ सालमा स्थापना भएको संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद मुनाफा आर्जन गरेको छ । साधारण सभाले उक्त मुनाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी, संस्थाको हाल कायम चुक्ता पूँजी ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैयाँलाई वृद्धि गरी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैयाँ ५० पैसा पु¥याउने प्रस्ताव पनि सभाले पारित गरेको छ । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक निधि तिवारीले संस्थाको वर्तमान अवस्था तथा भावी योजनाबारे मन्तव्य व्यक्त गरेका थिए । साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक पदका लागि प्रकाश राज विष्ट आगामी चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल ईन्स्योरेन्सको ७७ औं साधारण सभा सम्पन्न, १६ करोड लाभांश पारित

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७७ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा भएको हो । कम्पनीले आ.व. २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । सभाले आ.व. २०८१/८२ को नाफाबाट २५४ करोड रुपैयाँ  चुक्ता पूँजीको ६.३१५८ प्रतिशत दरले १६ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मति पारित गरेको छ। साथै, आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको पुनर्नियुक्ति समेत गरेको छ। नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित यस कम्पनीले विगत ७८ वर्षदेखि नेपाली बीमा बजारमा आफ्नो विश्वासिलो पहिचान कायम राख्दै आएको छ । कम्पनीले देशभर ५४ शाखा/उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ प्रिमियरको साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले मंगलबार ३२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले सेयरधनीलाई २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । उनले नेपाली बीमा बजारमा कम्पनीले आफ्नै छुट्टै पहिचान बनाउँदै बीमितहरूको आकांक्षाअनुसार उच्चस्तरीय बीमा सेवा प्रवाह गर्न सफल भएको बताए । अध्यक्ष श्रेष्ठले उच्चतम प्रतिफल दिने लक्ष्यअनुरूप कम्पनीले सन्तोषजनक उपलब्धि हासिल गरेको उल्लेख गरे । सभाले २५ प्रतिशतका दरले हुन आउने कुल ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गर्ने प्रस्तावसमेत पारित गरेको छ ।