आईएमई लाइफको १०.५२ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिसहितको वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ । सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको तत्काल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै संशोधनका लागि निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट गरिएको खर्चसमेत अनुमोदन गरेको छ । सभामा अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सुझाव र सहयोग गर्ने सेयरधनी, सञ्चालक, बीमित, नियमनकारी निकाय, पुनर्बीमा कम्पनी, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था तथा अन्य सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे ।
सानिमा रिलायन्स लाईफको १०.१७ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रतन लाल केडियाले गरेका थिए । सभामा कम्पनीको आव ०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण रिपोर्ट र वित्तीय विवरण पारित गरिएको छ । साथै, संचालक समितिको प्रस्ताव अनुसार चुक्ता पूँजीको १०.१७८ प्रतिशत दरले ५१ करोड ४ लाख १८ हजार ९ सय ७० रूपैयाँ बराबरको नगद लाभांश करसहित वितरण गर्ने निर्णय पनि पारित भएको छ । यसैगरी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, ग्राहकमैत्री सेवा, शाखा विस्तार, सूचना प्रविधि प्रयोग र आन्तरिक नियन्त्रण प्रणालीका कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान ओगट्न सफल भएको जानकारी दिँदै मर्जरपछि आएका चुनौतीहरू व्यवस्थापन गरी कम्पनीलाई सबल र सक्षम बनाउन सफल भएको बताए । सभाध्यक्षले उपस्थित सेयरधनी, अतिथिहरू, नियामक निकायहरू, अभिकर्ता, बीमित र सञ्चारकर्मीलाई धन्यवाद दिँदै सभालाई समापन गरेका छन् ।
माघदेखि बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन मंगलबार निर्देशन दिएको हो । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बीमालेखका शर्त वा प्रचलित कानून बमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको र नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणाली मार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो । यसअघि, प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकहरूलाई दिइने पारिश्रमिक वा ज्याला बापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत सम्बन्धित कर्मचारी तथा श्रमिकको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।