तथ्यांकमा खुम्चिएको लघु जीवन बीमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना अर्थात् वैशाखसम्ममा सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनीहरूको व्यवसाय खुम्चिएको पाइएको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आवको तुलनामा कम्पनीहरूको व्यवसाय १.७२ प्रतिशतले खुम्चिएको देखिएको हो । चालु आवको वैशाखसम्ममा लघु जीवन बीमा कम्पनीहरूले ९६ करोड ५६ लाख रुपैयाँ कुल व्यवसाय संकलन गरेका छन् । जबकि गत आवको यही अवधिमा कम्पनीहरूले ९८ करोड २६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका थिए । सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनीमध्ये एउटा बीमा कम्पनीको मात्रै व्यवसाय बढेको देखिन्छ । बाँकी २ कम्पनीको व्यवसायमा संकुचन आएको छ । चालु आवको वैशाखसम्ममा क्रेस्ट माइक्रोको व्यापार ३.५५ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको वैशाखसम्ममा ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा ३४ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। गार्डिएन माइक्रो लाइफले वैशाखसम्ममा ३४ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आवको यही अवधिमा ३७ करोड ३६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवमा कम्पनीको व्यवसाय ७.२४ प्रतिशतले घटेको छ । लिवर्टी माइक्रोको व्यापार गत आवको वैशाखसम्ममा ०.९३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आवमा २६ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २४ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । यद्यपि लघु जीवन बीमा कम्पनीहरूले भने व्यवसाय खुम्चिएको कुरालाई अस्वीकार गरेका छन् । कम्पनीहरूका अनुसार गत आर्थिक वर्षको तथ्यांकमा वैदेशिक रोजगार जीवन बीमाबाट प्राप्त प्रिमियमसमेत समावेश गरिएको थियो । तर चालु आर्थिक वर्षमा उक्त व्यवसायको तथ्यांक लघु जीवन बीमकको कारोबारमा नजोडिएकाले व्यवसाय घटेको जस्तो देखिएको हो । लघु जीवन बीमा कम्पनीहरूको वास्तविक व्यवसाय भने विस्तारकै क्रममा रहेको एक लघु जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बताउँछन् । उनका अनुसार कम्पनीहरूमा नयाँ बीमित थपिने क्रम निरन्तर बढिरहेको छ भने बीमाप्रतिको जनचेतना विस्तारसँगै ग्रामीण क्षेत्रमा समेत लघु जीवन बीमाप्रति आकर्षण बढ्दै गएको छ । लघु निर्जीवन बीमकको व्यापार ४० प्रतिशतले बढ्यो चालु आवको वैशाखसम्ममा लघु निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ८ करोड १ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । गत आव २०८१/८२ को सोही अवधमा कम्पनीहरूले ७६ करोड ७९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका थिए । गत आवको तुलनामा चालु आवमा लघु निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ४०.८४ प्रतिशतले वृद्धि भएको छ। हाल नेपालमा ४ वटा लघु निर्जीवन बीमक सञ्चालनमा छन् । १० महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गरेको छ । कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिको तुलनामा कम्पनीको व्यापार ५७.१७ प्रतिशतले वृद्धि भएको छ । वैशाखसम्ममा दोस्रो धेरै व्यवसाय आर्जन गर्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले वैशाखसम्ममा २७ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २१ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीको व्यापार २७.०६ प्रतिशतले बढेको छ । त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले अघिल्लो आवको वैशाखसम्ममा १८ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवमा २६ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा चालु आवमा ४३.१२ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १० महिनामा २३ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनाको कम्पनीको व्यवसाय ३६.८३ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । नेपालमा लघु बीमा कम्पनीहरूले व्यावसायिक सञ्चालन थालेको करिब तीन वर्ष पुगेको छ । न्यून आय भएका, ग्रामीण तथा विपन्न वर्गका नागरिकलाई सरल, सुलभ र किफायती बीमा सेवा उपलब्ध गराउने तथा बीमाको पहुँच नपुगेका समुदायसम्म बीमा विस्तार गर्ने उद्देश्यसहित लघु बीमाको अवधारणा ल्याइएको थियो । तर, तीन वर्ष बितिसक्दा पनि अधिकांश लघु बीमा कम्पनीहरू अपेक्षाअनुसार ग्रामीण क्षेत्रमा केन्द्रित हुन सकेको देखिँदैन । बरु व्यवसाय विस्तार र प्रिमियम संकलनको प्रतिस्पर्धामा उनीहरू सहरकेन्द्रित नै देखिन्छ । लघु बीमा कम्पनीहरूले भने अपेक्षाअनुसार व्यवसाय विस्तार हुन नसकेको तथ्य स्वीकार गरेका छन् । पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अस्थिरता, विभिन्न आन्दोलन तथा बन्द–हड्तालका गतिविधि, प्राकृतिक विपत्तिजस्ता कारणले लक्षित समुदायसम्म पुगेर व्यवसाय विस्तार गर्न कठिनाइ भएको कम्पनीहरूको भनाइ छ । उनीहरूका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमा सचेतना अभिवृद्धि गर्दै नयाँ ग्राहक थप्ने योजना रहे पनि प्रतिकूल परिस्थितिका कारण सोचेजति तीव्र गतिमा व्यवसाय विस्तार हुन सकेको छैन । साथै सीमित जनशक्ति, कमजोर वितरण सञ्जाल र बीमाप्रतिको न्यून जनचेतनाले समेत लघु बीमा व्यवसायको विस्तारमा चुनौती थपेको कम्पनीहरूको भनाइ छ ।
पोखरामा सुकुमवासी परिवारको जीवन बीमा
कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ । आर्थिक अभावका कारण बीमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिवर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमा ४४ परिवारको निःशुल्क जीवन बीमा गरिदिएको हो । दैनिक जीविकोपार्जनमै सङ्घर्ष गरिरहेका परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति कम गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । विशेषगरी वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारलाई लक्षित गरी बीमा सुविधा उपलब्ध गराइएको हो । वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्याउने अभियानअन्तर्गत उक्त कार्यक्रम ल्याइएको बताए । 'दुर्घटना वा अन्य अप्रत्यासित घटनाले विपन्न परिवारलाई झन् ठूलो समस्यामा पार्ने गर्दछ । त्यस्ता परिवारलाई न्यूनतम आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले जीवन बीमा कार्यक्रम सञ्चालन गरेका हौँ,' उनले भने । म्यादी जीवन बीमा कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक २५० रुपैयाँ बीमा शुल्कमा एक लाख रुपैयाँसम्म उपचार सुविधा र बीमित व्यक्तिको मृत्यु भएमा परिवारले एक लाख ५० हजार रुपैयाँसम्म राहत रकम प्राप्त गर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । न्यून शुल्कमा उपलब्ध हुने यो सुविधाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको वडा सदस्य शान्ति कोइरालाले बताए । वडाले बीमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बीमाको आवश्यकता, प्रक्रिया र लाभबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको छ । सहभागीलाई बीमाले आकस्मिक जोखिम व्यवस्थापन, परिवारको भविष्य सुरक्षा तथा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुर्याउने विषयमा जानकारी दिइएको थियो । बीमा सेवाबाट वञ्चित समुदायलाई सुरक्षाकवच प्रदान गर्ने भएकाले अन्य वडालाई यस्ता कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने विश्वास गरिएको वडाध्यक्ष बास्तोला बताउँछन् । रासस
मेटलाइफ नेपालको शंखरापुर नगरपालिमा ५०० बिरुवा रोपण अभियान सम्पन्न
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले शंखरापुर नगरपालिका अन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षारोपण स्वयंसेवी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । जुन ६, २०२६ मा सम्पन्न उक्त कार्यक्रम मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा तथा आर्बर डे फाउन्डेसन र फिल्ड इन्स्टिच्युट फर इकोकल्चरल रिस्टोरेशन (इको कल्चर) को सहकार्यमा सञ्चालन गरिएको हो । काठमाडौंबाट करिब ४५ मिनेटको दूरीमा रहेको पताप गाउँमा आयोजित कार्यक्रममा मेटलाइफ नेपालको करिब ५० जना सहकर्मीहरूले एफ ०२६ राजमार्ग तथा शंखरापुर सडक करिडोर आसपास ५०० वटा फलफूल, बदाम तथा स्थानीय प्रजातिका बिरुवाहरू रोपेका थिए । यस पहलले एकल बाली प्रणाली (मोनोकल्चर खेती) बाट दिगो कृषि–वन प्रणाली (एग्रोफरेस्ट्री) तर्फ रूपान्तरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । वातावरणीय संरक्षणसँगै स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानीका अवसर सिर्जना गर्ने उद्देश्यले टिमुर, ओखर तथा आरुका बिरुवाहरू छनोट गरी रोपिएको हो । हिमाली फेदीमा अवस्थित शंखरापुर नगरपालिका अन्तर्गतको पताप गाउँ माटो कटान, बाढी तथा पहिरोजस्ता वातावरणीय जोखिमप्रति संवेदनशील क्षेत्र मानिन्छ । जैविक विविधता संरक्षण, जमिनको स्थायित्व अभिवृद्धि तथा पुनःवनरोपण र कृषि अभ्यासको संयोजनमार्फत समुदायको उत्थानशीलता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । रोपिएका बिरुवाहरूको दीर्घकालीन संरक्षण तथा अनुगमन सुनिश्चित गर्न इकोकल्चर संस्थाले स्थानीय समुदायसँग निरन्तर सहकार्य गर्ने जनाएको छ ।