नेशनल लाईफले १६५ अभिकर्तालाई मलेशिया, सिंगापुर र दुबई घुमाउने

काठमाडौं, १५ भदौ । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुको चियरपर्सन क्लबका सदस्यहरुको सम्मान एवंम तीन दिने तालिम कार्यक्रम गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहका अध्यक्षतामा होटल पोखरा ग्राण्डीमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत, पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष, कम्पनीका कर्मचारीहरु तथा कम्पनीका ४०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेका थियो । उक्त कार्यक्रममा अध्यक्ष सिंहले कम्पनीका अभिकर्ताहरुको प्रयासले कम्पनीको ब्यवसायिक लक्ष्य प्राप्त भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा कम्पनी नयाँ नयाँ योजना सहित जीवन बीमा बजारमा उपस्थित भई बीमा ब्यवसायलाई ग्राहक मुखि बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । कार्यक्रममा विशेष रुपमा सम्मानित प्रमुख १० अभिकर्ताहरु मध्ये आफ्नै कोडमा सबैभन्दा बढी प्रथम बीमा शुल्क रकम संकलन गर्न सफल प्रथम, द्वितीय तथा तृतीय हुने अभिकर्ताहरु तथा आफ्नो र आफ्नो संजालबाट सबै भन्दा बढी प्रथम बीमा शुल्क रकम संकलन गर्न सफल प्रथम, द्वितीय तथा तृतीय हुने अभिकर्ताहरुलाई विशेष सम्मान सहित नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा मलेशिया, सिंगापुर र दुबई मध्ये कुनै १ देशमा भ्रमणको लागि तथा बैंकक भ्रमणको लागि गरी १६५ जना अभिकर्ताहरु छनौटमा परेको सीईओ बस्नेतले जानकारी दिए ।

एलआईसी नेपालको ‘जीवन श्री’ योजना बजारमा

काठमाडौं, १५ भदौ । एलआईसी नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । “तपाई… खुसीको खाता खोल्नुहोस्” भन्ने सन्देशका साथ कम्पनीले न्युनतम् ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी सो योजना ल्याएको हो । बीमा अवधि १५ वर्ष र न्युनतम बीमाङ्क रकम ५ लाख रुपैयाँ रहने यस बीमा योजनामा विमितलाई पहिलो ५ वर्षका लागि ६५ हजार प्रति वर्ष सुनिश्चित लाभ बोनसको रुपमा प्रदान गर्ने कम्पनीले जनाएको छ । यस योजनामा विमितले वीमाशुल्क ५ वर्षमा तिरेर १५ वर्षसम्म दुर्घटना लाभसहितको जीवन बीमा सुविधा लिन सक्नेछन् । सो योजनामा बीमाशुल्क अत्यन्त न्युन तर प्रतिफल उच्च रहेको छ । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् विमितले कम्पनीबाट कर्जा तथा बीमा सुविधासमेत लिन सक्नेछन् । कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले विमितले वित्तीय अनिश्चितताको समयमा आफ्नो लगानीबाट जीवन बीमासहित सुनिश्चित प्रतिफल ‘जीवन श्री’ योजनाले मानसिक शान्ति प्रदान गर्ने बताएका छन् ।

शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच बीमा सम्झौता

काठमाडौं, ८ भदौ । शिखर इन्स्योरेन्स र फोटोपत्रकार क्लबबीच फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा गर्ने सम्बन्धी सम्झौता भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक दिप कुमार पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिताको नेपाल स्माइल बिधामा प्रायोजन गरेको शिखर इन्स्योरेन्सले फोटोपत्रकारहरुको क्यामेरामा ३ लाख सम्म, स्वास्थ्यमा १ लाख र दुर्घटनामा ५ लाखसम्मको बीमा गर्ने सम्झौता गरेको हो । कार्यक्रममा शिखर इन्स्योरेन्सका कार्यकारी निर्देशक पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए । फोटोपत्रकारहरुको क्यामरा चोरी भएको अबस्थामा बीमा दाबी गर्न नसकिने र अन्य अबस्थामा गरिने बीमा दाबी क्लबको सिफारिसमा दिइने बताए । पहिले प्रिमियम तिर्न नपर्दा फाइदा हुन्छ भन्ने धारणा चल्दै आएको बताउँदै सिइओ पाण्डेले भने तर अहिले जस्ले प्रिमियम तिर्छ उसलाई बढी फाइदा हुन्छ । फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले शिखर इन्स्योरेन्ससँगको सहकार्यले फोटोपत्रकारहरुलाई निर्धक्क आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरको बताए । बिभिन्न आन्दोलका क्रममा फोटोपत्रकारका क्यामेरा, लेन्सको क्षति हुने गरेको तर कहिकतैबाट पनि क्षतिपूर्ति नआउने अबस्थाबाट मुक्त भएको बिचार ब्यक्त गरे । फोटोपत्रकार क्लबसँगको सहकार्यलाई लामो समयसम्म निरन्तरता दिने बताउँदै शिखर इन्स्योरेन्सका सिइओ पाण्डेले कुन बीमा कति प्रिमियम थप गर्न सकिन्छ आपसी सहमतीबाट तय गर्न सकिने जानकारी दिए । फोटोपत्रकार क्लबसँगको बीमा सम्झौता अनुसार बीमाशुल्कमा चालिस प्रतिशत छुट गरेको छ ।