सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार, सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा अब सलिको इन्स्योरेन्सले गर्नेछ । सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कवि राज पौडेल र सेती महाकाली ट्रक यातायात व्यवसायी संघका अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका हुन् । यस अवसरमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु र शाखा प्रमुख हेमन्त लामिछाने लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो । सम्झौताले सेती महाकाली ट्रक यातायात व्यवसायी संघका सवारी साधनहरूको बीमा प्रक्रियालाई थप सरल, सहज र शीघ्र बनाउने वाचा गरेको छ । भविष्यमा कुनै दाबी परेमा, बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया सरल बनाउनेछ ।

सलिकोले आगामी वर्षदेखि एनएफआरएस-१७ लागू गर्ने, इच्छुक कम्पनीलाई आह्वान

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले नेपाल वित्तीय प्रतिवेदन मान (नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्ट्याण्डर्ड-१७ (एनएफआरएस-१७) लागू गर्ने भएको छ । सलिकोले आगामी आर्थिक वर्ष २०८२/८३ देखि एनएफआरएस–१७ लागू गर्ने भएको हो । कम्पनीले आगामी आर्थिक वर्षका लागि एनएफआरएस-१७ सम्बन्धी व्यवस्था लागू गर्नुपर्ने भएकाले त्यस सम्बन्धी कार्य गर्ने स्वदेशी तथा विदेशी कम्पनीलका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको छ । इच्छुक स्वदेशी तथा विदेशी फर्म, कम्पनी, संस्थाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । कम्पनीका अनुसार कम्तीमा ५ वर्षको अनुभव सहितको कम्पनी तथा फर्मको प्रोफाईल र समय तालिका तथा लागत विवरण, विदेशी संस्थाको हकमा स्वदेशी कम्पनी तथा फर्मसँग कार्य समन्वयको सम्झौता पत्र, कम्पनी तथा फर्म दर्ता प्रमाणपत्र, प्यान तथा भ्याट प्रमाणपत्र पेस गर्नुपर्नेछ । यस्तै, विगत ३ आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, विगत ३ वर्षको वार्षिक प्रतिवेदन (आर्थिक विवरण) र फर्म वा कम्पनी कालोसूचीमा नरहेको प्रमाण पेस गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु चैत्र २८ गते २ बजे कम्पनीको खरिद समितिको उपस्थितीमा खोलिने छन् भने खरिद समितिले अध्ययन गरी निर्णयमा गर्नेछ ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,’ मन्त्री पौडेलले भने । बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भैसकेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् । हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरु प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए । अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । उनी बोर्डको यसअघि सदस्य रहि सकेका छन् ।