गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । सो प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले आगामी २०८२ वैशाख ५ गते वार्षिक साधारण सभा आह्वान गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि चैत २८ गते कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार, चैत २७ गतेसम्म सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हुलदङ्गाबाट भएको क्षतिको बीमा दाबी चाँडो फछ्र्यौट गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकामा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले बीमा कम्पनीलाई घटनाको क्षति र असहजतालाई ध्यानमा राखी दाबी प्रक्रिया छिटो गर्न भनेको छ । साथै, हुलदङ्गाबाट भएको क्षतिको विवरण प्रत्येक हप्ताको बुधबार एक्सेल स्प्रिडसीट ढाँचामा साप्ताहिकरूपमा प्राधिकरणमा पेश गर्न निर्देशन दिइएको छ ।

प्राधिकरणमा बढुवा भएका निर्देशकले पाए जिम्मेवारी, रेग्मीले कानून र ढुंगेलले अनुसन्धान महाशाखा सम्हाल्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी विभिन्न महाशाखाका लागि जिम्मेवारी तोकेको हो  । नयाँ जिम्मेवारीअनुसार, निर्देशक कमल प्रसाद रेग्मीले कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) ले अनुसन्धान महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन् । यसैगरी, हालै निर्देशकमा बढुवा भएका अधिकारीहरूलाई पनि विभिन्न महाशाखाहरूको नेतृत्व तोकिएको छ । निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । प्राधिकरणले बीमा क्षेत्रको नियमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।