हैसियत हेरेर बीमा गरौं र गराऔं : बीमाविज्ञ घिमिरे
काठमाडौं । बीमाविज्ञ रविन्द्र घिमिरेले बीमितको आर्थिक हैसियत हेरेर मात्रै कम्पनीहरूले बीमा गराउनुपर्ने बताएका छन् । आइतबार एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । बीमितले पनि कसैले भनेको आधारमा बीमा गर्नुभन्दा पनि राम्रोसँग कुरा बुझेर आफूले कति सम्मको बीमा गर्न सकिन्छ, त्यसको आधारमा बीमा गर्नुपर्नेमा उनी जोड दिन्छन् । बीमा विज्ञ घिमिरेले आर्थिक हैसियत नहेरी बीमा गर्दा कम्पनी र बीमित दुबैलाई समस्या पर्ने यसले कसैलाई फाइदा नगर्ने अभिव्यक्ति दिए । घिमिरेले बीमा क्षेत्र भर्खर सिक्ने चरणमै रहेको हुँदा सिक्नुपर्ने कुरा धेरै रहेको औंल्याए । उनले भने, ‘बीमा क्षेत्रमा हामी सिक्ने चरणमै छौं, यो क्षेत्रका साथीहरू अध्ययन गर्न र केही सिक्नमा इच्छुक हुनुहुन्छ । सिक्दैछौं, सिकेपछि त्यसलाई व्यवहारमा उतार्न बाँकी छ ।’ सिक्ने सिकाउने क्रम कहिल्यै नसक्ने उल्लेख गर्दै बीमा विज्ञ घिमिरेले फिल्डदेखि केन्द्रीय नेतृत्व तहसम्मकाले सिक्नैपर्ने बताए । ‘मलाई बीमा पढ्दा सबै कुरा जानेजस्तो लाग्थ्यो । विस्तारै बुझ्दै जाँदा केही जाने रहेनछु भन्ने थाहा भयो । टेक्निकल विषय हो, निरन्तर सिकाइको प्रक्रियामा नगइन हामीले बीमा क्षेत्रको विकास गर्न सक्दैनौं,’ उनले भने । नेपाल बीमा प्राधिकरणले बीमाको क्षेत्रमा काम गर्दै आइरहेको भएपनि प्रभावकारी काम अझै हुन नसकेको औंल्याउँदै उनले त्यसतर्फ ध्यान पुग्नेपर्ने बताए । त्यस्तै, बीमाविज्ञ घिमिरेले बीमा क्षेत्रको सुधारको लागि प्राधिकरणले दक्ष जनशक्ति उत्पादनको लागि गम्भिर रुपमा सोच्नुपर्ने औंल्याए । त्यसबाहेक असल शुसान, समयअनुसार प्रविधिको प्रयोग र अभ्यास यो क्षेत्रले गर्दै जानुपर्ने उनले बताए । उनले भने, ‘असल शुसासन कायम आवश्यक छ । संसारभरिका जति पनि कम्पनीहरू कोल्याप्स भएका छन्, असल सुशासन नभएर नै हो । हरेकले आफ्नो क्षेत्रबाट राम्रै गरिरेको छु भन्ने ठाने पनि त्यहाँ सुधार्नुपर्ने धेरै कुरा हुन्छ । असल सुशासन र रेगुलेशनमा बीमा प्राधिकरणले काम गर्नुपर्छ ।’
बीमितको हीत संरक्षण हाम्रो पहिलो प्राथामिकता : अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितको हीत संरक्षण नै पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार इकोनमिक मिडिया एशोसिएसन अफ नेपाल (इमान) ले आयोजना गरेको ‘अबको बीमा क्षेत्र’ अन्तरक्रिया कार्यक्रममा उनले सो बताएका हुन् । कार्यक्रममा उनले बीमितको हीत संरक्षणकाो लागि बीमकको वित्तीय स्वास्थ्य बलियो हुनुपर्ने धारणा राखे । उनले भने, ‘बीमा क्षेत्रको हीतका लागि सम्पूर्ण स्टेक होल्डरको हीत सुनिश्चित हुनुपर्छ । बीमितको हीतको कुरा बीमा ऐनको प्रस्तावनामै उल्लेख गरेको छ । बीमकको वित्तीय स्वास्थ्य बलियो भएन भने बीमितको हीत संरक्षण हुन सक्दैन ।’ बीमकको वित्तिय स्वास्थ्य बलियो बनाउनका हामीले प्राधिकरण गर्नुपर्ने सहयोग, सजहीकरणमा संधै तत्पर रहेको र त्यसमा जिम्मेवारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए सबैको हीत समग्रतामा सुरक्षित नभएसम्म बीमाले सही बाटो समात्न नसक्ने भन्ने उनले विचार राखेका छन् । अध्यक्ष ओझाले आफू प्राधिकरणमा नियुक्त भएदेखि नै विभिन्न सरोकारवालारूसँग अन्तरक्रिया, छलफल कार्यक्रम गर्दै आएको बताएका छन् । ‘बीमाका विषयमा हामीले विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै आइरहेका छौं । विभिन्न क्षेत्रका संघसंस्था, बीमक संघ, मध्यस्थताकर्ता संघलगायत विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै आएका छौं,’ उनले भने, ‘उहाँहरूबाट आएका सल्लाह र सुझावको आधारमा हामीले गृहकार्यसमेत सुरु गरिसकेका छौं ।’ प्राधिकरणले विगतमा जारी गरेका निर्देशनहरू एकीकृत रूपमा आइदिएको भए हुन्थ्यो भन्ने धारणा सबैजसो बीमक संघबाट सुझाव आएको उल्लेख गर्दै अध्यक्ष ओझाले त्यससम्बन्धमा कमिटी बनाएर त्यसलाई एकीकृत गर्ने, नियालीमा आएका कतिपय निर्देशनहरु हटाउने साथसाथै आवश्यक पुनरावलोकण गरेर समयअनुकूल बनाउने काम भएको बताए ।
आईएमई लाइफ इन्स्योरेन्सले पायो आईएसओ ९००१ : २०१५ मान्यता
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईएसओ ९००१ : २०१५ मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आईएसओद्वारा प्रदान गरिने आईएसओ ९००१ : २०१५ सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) का लागि आवश्यक अवधारणाहरुको अवलम्वन गरिएको बताउँछ । उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरूमध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनीयता बढ्नुका साथै कर्मचारी र अभिकर्तामा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने ऊर्जा थपेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा पृथक पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापन लगायतका क्षेत्रहरुमा रणनैतिक विकास र डिजिटाइजेसन एवम् अटोमेसनको माध्यमबाट प्रकृयागत सुधार गरी दिगो विकासमा आईएमई लाइफ लागिरहेको बताए ।