बजेटमा बीमा : साइबर सुरक्षा बीमा सुरु गर्नेदेखि पोलिसी छनोटको सुविधा उपलब्ध गराइनेसम्म
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरेको बजेट तथा कार्यक्रममा बीमासँग सम्बन्धित केही नयाँ र धेरैजसो पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुवै सदनसमक्ष पेश गरेको बजेट तथा कार्यक्रममा सरकारले बीमा कम्पनीहरूलाई ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्नेदेखि विभिन्न बीमा कार्यक्रम समेटिएको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आव २०८१/८२ को बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुन:संरचना गरिने भन्ने कार्यक्रमालाई यस वर्ष निरन्तरता दिएको छ । त्यस्तै, बीमा सुविधामा दुरुपयोग हुन नदिन बीमामा दोहोरोपना हटाइने कार्यक्रमलाई डोहोे¥याइएको छ । जेष्ठ नागरिक अपांगता भएका व्यक्ति, दलित अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइने दिइने भएको छ । बजेटमार्फत बीमितलाई फरक फरक पोलिसी छनोटको सुविधा उपलब्ध गराइने भएको छ । त्यस्तै, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने भएको छ । हालसम्म बाँकी रहेको दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था गर्ने भएको छ । प्राकृतिक प्रकोप विपद र दुर्घटनाबाट हुने क्षतिको सुरक्षा गर्नका लागि सम्पत्ति बीमाको दायरा विस्तार गरिने भएको छ । यसै वर्षबाट सरकारले साइबर सुरक्षा बीमा सेवा कार्यक्रम पनि सुरु गर्ने भएको छ । सरकारले बीमामा पनि यसै वर्षबाट राष्ट्रिय परिचय पत्रलाई अनिवार्य बनाएको छ । सरकारले पहिलो पटक निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनको लागि पुनर्बीमा व्यवस्था गर्ने भएको छ । कोष स्थापना भएको झण्डै पाँच दशकपछि सरकारले कोषको जोखिम हस्तान्तरण गर्न पुनर्बीमा व्यवस्था गर्न लागेको हो । कृषि तथा पशुपंक्षी बीमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गरिने भएको छ । बाली तथा पशु बीमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । यसैगरी, बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गर्ने र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा एकिकृत गरिने भएको छ । त्यसैगरी, सरकारी दुई बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीको संस्थागत सुधार गरिने जनाएको छ । यसबाहेक नेपाल बीमा प्राधिकरणको निगरानी अनुसन्धान कारबाहीलाई सबल बनाइने, तेस्रो पक्ष बीमालाई समय सापेक्ष गर्दै लैजानेजस्ता कार्यक्रम बजेटमा समेटिएका छन् । करयोग्य आयमा छुट यथावत सरकारले कर योग्य आयबाट बीमाशुल्कवापतको रकम कट्टा गर्न मिल्ने सीमालाई यथावतै राखेको छ । हाल वार्षिक जीवन बीमाशुल्कको ४० हजार रूपैयाँसम्म व्यक्तिगत करयोग्य आयबाट कट्टा गर्न सकिने सुविधा छ । सम्पत्ति बीमामा ५ हजार रुपैयाँ र स्वास्थ्य बीमामा २ हजार पाँच सय रुपैयाँसम्मको खर्च करयोग्य आयबाट कट्टा गर्न सकिन्छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव. २०८०/०८१ को वार्षिक प्रतिवेदन लगायत अन्य सामान्य प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरेको छ । सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी सञ्चालक लतिका गोल्याण, सिद्धान्त झुनझुनवाला र स्वतन्त्र सञ्चालक बद्री सिग्देल, संस्थापक सेयरधनी, सर्वसाधारण सेयरधनी लगायतको उपस्थिति रहेको थियो । साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउने सञ्चालक समितिका सदस्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव एवं कम्पनीको व्यवसाय प्रवद्र्धनमा इमान्दारी र लगनशीलताका साथ योगदान दिने कम्पनीका सम्पूर्ण कर्मचारीहरूप्रति सभापति श्रेष्ठले धन्यवाद ज्ञापन प्रकट गरे ।
निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३० प्रतिशत, कुन क्षेत्रको कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म ३५ अर्ब ८६ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन् । यो अवधिमा कम्पनीहरूले मोटर बीमाबाट सर्वाधिक व्यापार गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले वैशाखसम्ममा मोटर बीमाबाट मात्रै १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको ३०.०५ प्रतिशत हिस्सा देखिएको छ । मोटर बीमापछि बीमा कम्पनीहरूले सबैभन्दा धेरै व्यापार सम्पत्ति बीमाबाट गरेको देखिएको छ । कम्पनीहरूले चालु आवको वैशाखसम्ममा सम्पत्ति बीमाबाट ९ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २५.२० प्रतिशत रहेको छ । त्यस्तै, निर्जीवन बीमाको व्यवसायमा इन्जिनियर तथा ठेक्काको हिस्सा १६.९० प्रतिशत रहेको छ । ११ महिनामा कम्पनीहरूले इन्जिनियर तथा ठेक्काबाट ६ अर्ब ६ करोड ३४ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरूले विविधबाट ३ अर्ब ८५ करोड ९ लाख रुपैयाँ व्यवसाय गरेका छन् । त्यस्तै, सामुद्रिक बीमाबाट २ अर्ब १० करोड २४ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कुल व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा ५.८६ प्रतिशत रहेको छ । बीमा कम्पनीहरूले हवाई बीमामार्फत १ अर्ब ९० करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यसैगरी, कृषि तथा बालीको १ अर्ब ३५ करोड २ लाख रुपैयाँ र लघु बीमाबाट ७८ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कुल व्यवसायमा हवाईको ५.३०, कृषि तथा बालीको ३.७६ र लघुको २.१८ प्रतिशत हिस्सा रहेको छ ।