प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका ७ विजेतालाई बीमा प्राधिकरणले गर्यो सम्मान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा शिक्षा र साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय र छवटा प्रदेश कार्यालयमार्फत प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा सातवटै प्रदेशबाट एक–एक जना विजेता छनोट गरिएको थियो । विजेताहरूलाई जनही २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । बागमती प्रदेशका विजेता विद्यार्थीलाई आइतबार ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे । प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका धनराज शाह, मधेश प्रदेशबाट बीरगञ्जस्थित नेशनल एकेडेमी क्याम्पसकी कविता कुमारी यादव, र बागमती प्रदेशबाट भक्तपुरस्थित ख्वप कलेज अफ लका दिल बहादुर भण्डारी विजेता घोषित भए । यसैगरी, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालय, स्कुल अफ बिजनेसकी कुसुम क्षेत्री, लुम्बिनी प्रदेशबाट बुटवल कालिका क्याम्पसकी निरा अधिकारी, कर्णाली प्रदेशबाट सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकायकी तारा कुमारी मल्ल र सुदूरपश्चिम प्रदेशबाट धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसकी दिव्या पन्त पनि प्रतियोगितामा विजयी भए । ‘गरीबी न्युनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व’ शीर्षकमा आधारित निबन्ध प्रतियोगिताका लागि देशभरका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट ८९ वटा निबन्ध प्राप्त भएका थिए । प्राप्त निबन्धहरूमध्ये विषयवस्तु, विश्लेषण, प्रस्तुतीकरण र भाषा सन्तुलनका आधारमा विजेता छनोट गरिएको हो । प्राधिकरणका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा बीमाप्रतिको समझदारी बढाउनुका साथै बीमालाई जोखिम व्यवस्थापनको प्रभावकारी साधनका रूपमा बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सानिमा रिलायन्सको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना : सीमित अवधिमा असीमित लाभ
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न खाले बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले विभिन्न आकर्षक योजनाहरू ग्राहकमाझ बिक्री गरिरहेको छ । त्यसमध्येको एक हो ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना । यस योजनाले बचत गर्न चाहने र भविष्यका आपतकालीन अवस्थाका लागि तयारी गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त देखिन्छ । लचिलो प्रिमियम भुक्तानी र प्रत्येक ५ वर्षमा जोखिम कभरमा वृद्धि प्राप्त गर्न सक्नेछन् । साथै राइडरहरूले थप सुरक्षा प्रदान गर्छ । जसले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट सुविधा र घातक रोक रक्षावरणमा बीमितलाई सुरक्षा प्रदान गर्दछ । बीमितले १०, १५, २० र २५ वर्ष अवधिको बीमा गर्न सक्नेछन् । भुक्तानी अवधि भने क्रमशः ८, १२, १६ र २० वर्षको रोज्न सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि बीमितको उमेर कम्तिमा १८ वर्ष र बढीमा ६५ वर्षको हुनुपर्नेछ । बीमितहरुले न्युनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ। यस्ता छन् सुविधा भविष्यका लागि बचत बीमितले बीमा अवधि पुरा भएपछि बिमांकका साथै बोनस प्राप्त गर्नेछन । यसले भविष्यमा आइपर्ने आर्थिक संकटलाई सहज बनाउँछ । त्यस्तै, यदि बीमककोे मृत्यु बीमा अवधि नसकिँदै भएको खण्डमा परिवारले बीमांकको पूरै अर्थात् बीमा गरिए बराबरको रकम र बोनस प्राप्त गर्नेछन् यो योजनामा बीमा अवधि व्यतीत हुँदै जाँदा, जोखिम बहन पनि बढ्दै जान्छ। वैकल्पिक राइडर लाभ बीमितहरुले यस योजनाअन्तर्गत दुर्घटना मृत्यु सुविधाबापतको थप बीमाशुल्क तिरेमा बीमितको दुर्घटनाबाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोब्बर रकम सम्म प्राप्त गर्नेछन् । पूर्ण स्थायी अशक्तता सुविधाअन्तर्गत बीमितलाई बीमांक सम्मको रकम १२० मासिक किस्तामा भुक्तानी पाउनेछन् । यो योजनाले असहज अवस्थामा समेत बीमितलाई सहजता प्रदान गर्नेछ । यसका साथै बीमाशुल्क छुट सुविधासमेत पाइने छ । यदि बीमित कुनै दुर्घटनापश्चात पूर्ण स्थायी असक्तता भएमा उसको बीमाशुल्क मिनाहा हुनेछ । यो योजनामा घातक रोग रक्षावरण सुविधा पनि उपलब्ध छ । बीमित १८ मध्ये कुनै एक घातक रोगको शिकार बनेको अवस्थामा ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी पाउनेछन् । यसले स्वास्थ्य समस्यामा आर्थिक समर्थन प्रदान गर्दछ। लचिलो भुक्तानी यस योजनामा प्रिमियम भुक्तानीमा लचिलो व्यवस्था गरिएको छ । बीमितले वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक रूपमा प्रिमियम भुक्तानी गर्न सक्नेछन् । प्रत्येक अवधिको लागि प्रिमियम भुक्तानी अवधि पनि भिन्न रहेको छ । १० वर्ष अवधिको बीमा गर्न चाहने बीमितले ८ वर्षको भुक्तानी अवधि रोज्न सक्नेछन् । १५ वर्षको अवधिको बीमा गराउँदा ८ वर्ष र १२ वर्षको प्रिमियम भुक्तानी अप्सन छनोट गर्न सक्नेछन् । २० वर्ष अवधिको हकमा ८, १२ र १६ वर्षको भुक्तानी अवधि रोज्न सक्नेछन् । त्यसैगरी, २५ वर्षको बीमा अवधि रोज्ने बीमितले ८, १२, १६ र २० वर्ष वर्षको भुक्तानी रोज्न सक्नेछ । लचिलो भुक्तानीले आफ्नो बजेट र आवश्यकता अनुसार उपयुक्त भुक्तानी सुविधा दिन्छ । किन रोज्ने ? यो योजना केवल जीवन बीमा मात्रै नभई भविष्यका आपतकालीन अवस्थाहरू र महत्त्वपूर्ण खर्चहरूको लागि बचत गर्ने एक उपाय हो । बीमा अवधि सकिएपश्चात बोनससहित आउने एकमुष्ठ भुक्तानी भविष्यमा ठूलो वित्तीय सुरक्षा प्रदान गर्छ। छोटो अवधिको बीमाशुल्क भुक्तानी गरि पुरा बीमा अबधिको बीमांकको ३२५ प्रतिशतसम्मको जोखिम बहन र जीवन बीमा अवधि समाप्तिमा समेत आकर्षक बोनस भुक्तानी हुने भएकोले यो सबैखाले व्यक्तिका लागि फाइदाजनक छ ।
बीमा कम्पनीहरूले ३५ अर्ब ३६ करोड दाबी भुक्तानी गर्न बाँकी
काठमाडौं । बीमा कम्पनीहरूबाट अझै ३५ अर्बभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट १ लाख ५७ हजार ५५९ वटा बीमाको ३५ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको हो । चालु आवको चैत्र मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या जीवन बीमातर्फ ५२ हजार ६८७ रहेको छ भने निर्जीवनतर्फ १ लाख ४ हजार ८७२ रहेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४३ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ९४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । चैत्र मसान्तसम्ममा ३ लाख २ हजार ५२३ दाबीको ६२ अर्ब रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको चैत्रसम्मको तुलनामा दाबी संख्या १०.४७ प्रतिशत र दाबी रकम ३.४६ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो पाँच आवको बीमा दाबी भुक्तानीको विवरण (रु.करोड) तथ्यांकअनुसार दाबी भुक्तानीको संख्या र रकम क्रमश वृद्धि हुँदै गइरहेको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा बीमा कम्पनीहरुले ५० अर्ब ७० करोड रुपैयाँ दाबीबापत्को रकम बीमितलाई भुक्तानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीले ३३ अर्ब १६ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १७ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गरेका छन् । त्यस्तै, आव २०७८/७९ मा कम्पनीहरूले ६८ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । जुन आव २०७७/७८ को तुलनामा ३४.८५ प्रतिशतले वृद्धि हो । जसमा जीवन बीमा कम्पनीहरूले ४९ अर्ब १९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १९ अर्ब ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । आव २०७९/८० मा दाबी भुक्तानी ४.७२ प्रतिशतले वृद्धि देखिएको छ । उक्त आवमा जीवन बीमा कम्पनीहरूले ६० अर्ब २४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २४ अर्ब १७ करोड रुपैयाँ गरी कुल ८४ अर्ब ४२ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन् । आव २०८०/८१ मा दाबी भुक्तानी संख्या ७.९६ प्रतिशतले बढेको छ । उक्त आवमा बीमा कम्पनीहरूले ८४ अर्ब ४९ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन्।