बीमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले नियुक्त
काठमाडौं । सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा.वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा जारी गरेको अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा काफ्ले सदस्य थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । यसअघि डा काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरु गरेका थिए । राहत रकममा ४ सय प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए । डा काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उहाँ विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधि डा काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।
क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । फागुन २२ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गरेको छ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आईएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, आव २०८०/०८१ को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण पारित गरेको छ। साथै उक्त सभाले आव २०८१/०८२ को लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्न प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/०८१ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पूँजी पाँच अर्ब मात्रको २१.०५२६४ प्रतिशत (अक्षरेपी एक्काइस दशमलब शून्य पाँच दुई छ चार प्रतिशत) का दरले हुने रकम एक अर्व पाँच करोड छब्बीस लाख बत्तीस हजार रुपैंया नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरको छ । यसका साथै उक्त सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ । उक्त सभाले आव २०८०/०८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ । सभाध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनी आर्थिक स्थायित्व, आधुनिक प्रविधिको उपयोग, सेवा विस्तार तथा नयाँ बीमा योजनाहरूको विकास गर्दै शेयरधनीहरुको लगानीलाई सुरक्षित राख्दै दीर्घकालीन रूपमा आकर्षक प्रतिफल प्रदान गर्न तदरुकताका साथ लागिरहेको जानकारी दिए ।