२८.४० प्रतिशत लाभांश पारित गर्न सिटिजन लाइफले चैत १५ गते बोलायो सेयरधनी भेला
काठमाडौं । लाभांश पारित गर्न सिटिजन लाइफ इन्स्योरेन्सले ८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चैत १५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८ प्रतिशतका दरले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १.४२ प्रतिशतका दरले ५ करोड ५९ लाख २१ हजार रुपैयाँ नगद गरी कुल २८.४० प्रतिशत लाभांश पारित गर्नेछ । बोनस सेयर वितरणपश्चत् चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेछ । गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक एसआर एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २७ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सानिमा रिलायन्स लाइफको हेड अफिस नक्साल सर्ने, सेयरधनीहरूलाई ९.२४ प्रतिशत लाभांश
काठमाडौं । लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चैत ८ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँको १.२४ प्रतिशतका दरले ६ करोड १८ लाख ५८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशतका दरले ३९ करोड ६२ लाख ५४ हजार रुपैयाँ नगद गरी कुल ९.२४ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड रुपैयाँ, बोनस सेयर वितरणपश्चत् जारी पुँजी र चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेछ । कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको नयाँ बानेश्वरबाट परिवर्तन गरी नक्साल कायम गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेछ । गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक जेबी राजभण्डारी एण्ड डिबीन्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २६ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सञ्चालनमा आएको दुई वर्षमै गार्डियन माइक्रो लाइफ मर्जरमा जाने, जोडि खोज्दै
काठमाडौं । सञ्चालनमा आएको दुई वर्षमै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मर्जरमा जाने भएको छ । कम्पनीले कुनै उपयुक्त बीमा कम्पनीसँग मर्ज हुने प्रस्ताव अघि सारेको हो । कम्पनीको सञ्चालक समितिले चैत ११ गते विराटनगरको होटल एयरपोर्टमा बिहान ११ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा गार्डियन माइक्रो लाइफ र अन्य कुनै इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज हुन आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०÷०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१÷०८२ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरूको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा बढाउने र सामाजिक उत्तरदायित्व अन्र्तगत गरेको खर्च अनुमोदन गर्नेछ । कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा वि.सं २०७९ पुस ११ गते दर्ता भई गार्डियन माइक्रो लाइफले बीमा ऐन, २०७९ बमोजिम मिती चैत २७ गते लघु जीवन बिमा व्यवसाय गर्ने इजाजत पत्र प्राप्त गरेको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय मोरङ्गको विराटनगर महानगरपालिका–७ मा रहेको छ ।