स्वास्थ्य बीमा व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भैरहेको बताए । केही दिनअघि एक कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेको अभिव्यक्ति मध्ये यसरी सकिंदैन भन्ने क्लिपहरु मात्र अहिले सञ्चारमाध्यममा भाइरल बनेकामा यता मन्त्री पौडेलको सचिवालयले पूरा भिडियो हेरेर मात्र धारणा बनाउन आग्रह गरेको छ । मन्त्री पौडेलले बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भैरहेको बताएको सचिवालयले उल्लेख गरेको छ । ‘गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ,’ सचिवालयले प्रेस नोटमा भनेको छ, ‘सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।’ मन्त्री पौडेलले अहिलेकै स्थितिबाट यो चल्दैन त्यसैले अब यो हटाउने भन्ने नभइ यसलाई व्यवस्थित गर्न खोजिएको हो यसलाई व्यवस्थित गर्न दुई चरणको काम गरि सक्यौ भनेर मन्त्री पौडेलले भनेको पुनः प्रष्ट पारेको छ ।

शिखर र सलिकोबीच प्रतिस्पर्धा, यी हुन् सात महिनामा २ अर्ब बढीको व्यवसाय गर्ने ४ कम्पनी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको माघसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले सो बीमा शुल्क संकलन गरेका हुन् । जुन बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.८० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । प्राधिकरणको तथ्यांक अनुसार माघमा मात्रै २ लाख ३२ हजार ३६१ बीमा लेख जारी हुँदा कुल ३ अर्ब ४७ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ । चालु आवको माघमा निर्जीवन बीमा कम्पनीहरुले गरेको व्यवसाय गत आवको माघमा गरेको भन्दा बढी हो । गत आवको माघमा कम्पनीहरुले २ लाख ६१ हजार ५९० बीमा लेख जारी गरेर ३ अर्ब १४ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका थिए । चालु आवको माघसम्मको तथ्यांकअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेको छ । तथ्यांकअनुसार उक्त कम्पनीले माघ मसान्तसम्ममा कुल ३ अर्ब १३ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले माघमा मात्रै ५४ करोड १७ लाख व्यवसाय गरेको छ । शिखर इन्स्योरेन्सपछि सगरमाथा लुम्बिनी (सलिको) को व्यवसाय धेरै छ । सलिकोले माघसम्ममा एक लाख ६२ हजार ९६३ बीमालेख जारी गर्दा कुल २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । सलिकोले माघमा मात्रै २२ हजार ९४९ बीमालेख जारी गरी ३८ करोड ३९ लाख व्यवसाय गरेको छ । त्यस्तै तेस्रोमा सिदार्थ इन्स्योरेन्स कम्पनीले माघसम्ममा १ लाख ७६ हजार ८३९ बीमा लेख जारी हुँदा २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले माघमा मात्रै ३० करोड ९३ लाख बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रडेन्सियलले माघसम्मा २ अर्ब २ करोड ६८ लाख व्यवसाय गरेको छ । माघ मसान्तसम्ममा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९५ करोड २ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड १८ लाख, एलएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड १६ लाख, द ओरिन्टियलले १ अर्ब ५२ करोड ५२ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड ९२ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब २५ करोड ९५ लाख, युनाइटेड अजोडले १ अर्ब ४० करोड १४ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड ८ लाख, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको तालिम तथा सेमिनार सम्पन्न

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनारको आयोजना गरेको छ । तालिम तथा सेमिनारमा कम्पनीका ७ वटै प्रदेशका प्रमुख, विभागीय प्रमुख तथा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकसमेतको सहभागिता रहेको थियो । उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकलाई अनुपालन तथा एएमएल सीएफटी बारेमा विस्तृत रूपमा जानकारी गराए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायले दिएको निर्देशन, त्यसैगरी ऐन नियम, कानुन र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरंशः पालना गरी ग्राहकलाई सेवा प्रदान गर्न निर्देशन दिए । सोही अवसरमा उनले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीलाई तथा प्रदेश प्रमुखमार्फत शाखाका सम्पूर्ण कर्मचारीलाई दैनिक रूपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरूको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।