एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले केआई सिंह गाउँपालिका–४, बगर वायल, डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर तथा चौतारा साँगाचोकगढी नगरपालिका–१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको हो । डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययनरत ३६ भन्दा बढी विद्यार्थीमध्ये २१ जना बाबुआमा गुमाएका तथा सीमान्तकृत विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराइँदै आएको छ । बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक पदमसिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । यस्तै, प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन हुने श्री जन जागृति माध्यमिक विद्यालयका करिब ४५० विद्यार्थीको प्रविधिमा पहुँच बढाउने उद्देश्यले बैंकले ल्यापटप, कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ । आयोजित कार्यक्रममा बैंकको ईएसजी एन्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्रप्रसाद नेपाल तथा प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए । बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीको पठनपाठन थप प्रभावकारी हुनुका साथै गुणस्तरीय शिक्षा र सूचना प्रविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
परीक्षा सकिएको सात दिनमै नतिजा
काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित ३ वटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उनले बताए । प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन सङ्काय (म्यानेजमेन्ट एन्ड ल) मा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) सङ्कायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ ।
क्याम्पसभित्रका दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै आंगिक क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ । त्रिवि शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै आंगिक क्याम्पस प्रमुखलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । निर्देशनालयका उपप्रशिक्षक सन्देश कुमार रेग्मीद्वारा जारी पत्रमा शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज कमजोर बनेको तथा शैक्षिक गुणस्तरमा समेत असर परेको निष्कर्ष निकाल्दै ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने र ९० दिनभित्र ’स्टुडेन्ट काउन्सिल’ वा ’भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली विकास गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उल्लेख छ । सोही निर्देशन कार्यान्वयनका लागि त्रिविले आफ्ना सबै आंगिक क्याम्पसलाई आवश्यक प्रक्रिया अघि बढाई यथाशीघ्र जानकारी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन अनुरोध गरेको छ । शिक्षा मन्त्रालयले सार्वजनिक शिक्षामा राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्दै विद्यार्थीको स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ यस्तो व्यवस्था अघि बढाएको हो । त्रिविको पछिल्लो निर्देशनसँगै अब आंगिक क्याम्पसहरूमा दलीय विद्यार्थी संगठनका कार्यालय तथा संरचना हटाउने प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ ।