कामना सेवा विकास बैंकद्वारा बुटवल क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले भैरहवा र मणिग्राम शाखामार्फत समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गरेको हो । यस अन्तर्गत भैरहवा शाखाद्वारा लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड प्रदान गरियो भने मणिग्राम शाखाबाट शान्ति नमुना माध्यमिक विद्यालयका बालबालिकालाई जाडोयाम लक्षित न्यानो कपडा वितरण गरिएको छ । उक्त सामग्री बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरेका थिए । कार्यक्रमका अवसरमा आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन अनाथ बालबालिका र आर्थिक रूपमा कमजोर बालबालिकाहरूका लागि बैंकले योगदान दिन पाएकोमा खुशी व्यक्त गरे । सहयोग प्राप्त संस्थाहरूले बैंकको यस मानवीय पहलप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रममा बैंकका कर्मचारी, सम्बन्धित संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँग समन्वय गर्दै यस्ता सामाजिक कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।  

विदेश अध्ययनका लागि गएका विद्यार्थीसँगै बाहिरियो ५६ अर्ब ५२ करोड

काठमाडौं । विदेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीसँगै ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३  को पहिलो पाँच महिनामा भ्रमण व्ययतर्फ ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको हो । यो अघिल्लो वर्षको तुलनामा ९ अर्ब ७ करोडले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा ४७ अर्ब ४५ करोड रकम बाहिरिएको थियो । पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थीको संख्या बढेसँगै बाहिरिने रकम पनि बढ्दै गएको छ । नेपाली विद्यार्थीबाट ५६ अर्ब बढी रकम बाहिरिएसँगै विदेशबाट नेपाल अध्ययनका लागि आउने विद्यार्थीबाट एक अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ। गएको चार महिना (साउन–कात्तिक) मा अर्ब दुई करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको हो । यो रकम नेपाली विद्यार्थीले खर्च गरेको रकमको दुई प्रतिशत भन्दा कम हो ।  नेपाल राष्ट्र बैँकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५‍.३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ९७ करोड पुगेको छ । भ्रमण आय भने ३.७ प्रतिशतले कमी भइ ३३ अर्ब ९७ करोड कायम भएको छ ।

कामना सेवा विकास बैंकद्वारा विराटचोकको बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शाखा कार्यालय विराटचोकमार्फत ब्रेथ अफ लाइफ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले एक कार्यक्रमकाबीच बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । सामग्री ग्रहण गर्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभूत आवश्यकता, शिक्षा तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न बैंकको सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले यस सहयोगले आश्रममा रहेका बालबालिकाको दैनिकी र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने भन्दै बैंकप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले बाल आश्रमलाई प्रदान गरिएको खाद्यान्न तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा विराटचोक उपमहानगरपालिकाकी उपमेयर नीतु थापा कोइराला, वडा अध्यक्ष योगेन्द्र सुवेदी, बैंकका कर्मचारी, बाल आश्रमका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।