नेक प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते हुने
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यो वर्षको प्रवेश प्रवेश परीक्षा घोषणा गरेको छ । कलेजले इन्जिनियरिङ विधाका सात वटा विषयमा स्नातक तहमा अध्ययन गर्न विद्यार्थीहरुलाई प्रदेश अनुसार छात्रवृत्ति दिँदै आएको छ । यो वर्षको प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते तोकिएको छ । प्रवेश परीक्षा भक्तपुर चाँगुनारायण स्थित कलेजमा हुनेछ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले देशका सबै क्षेत्रका विद्यार्थीहरुले इन्जिनियरिङ शिक्षा हासिल गर्न सकुन् भनेर प्रादेशिक छात्रवृत्ति दिएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए । ‘इन्जिनियरिङ विषय देश विकासको महत्वपूर्ण विषय भएको र यसमा देशका सबै क्षेत्रका विद्यार्थीको सहभागीता बढोस् भनेर सातै प्रदेशका लागि प्रादेशिक छात्रवृत्ति दिँइदै आइएको छ’, उनले भने । कलेजले यसअघि लिएको प्रदेश परीक्षामा सहभागी भई पास भएका तर, फर्म भर्दा प्रादेशिक छात्रवृत्तिमा समेत टिक लगाएका विद्यार्थीहरु पनि प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् । कलेजले सात वटा विषयमा सातै प्रदेशका लागि एकएक वटा पूर्णछात्रवृत्ति प्रदान गर्दछ । नेकको प्रादेशिक छात्रवृत्ति पाउनका लागि प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा पास गर्नुपर्छ । सरकारी स्कुलबाट कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्रवृत्ति दिइने गरिन्छ । त्यसका लागि विद्यार्थीले प्रदेशको स्थानीय तहबाट सिफारिस समेत ल्याउनु पर्ने प्रावधान रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिषकुमार झाले बताए । ‘प्रादेशिक छात्रवृत्तिले विशेषगरी दुरदराजमा रहेका, कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीलाई इन्जिनियर बन्ने अवसर प्रदान गर्दछ’, उनले भने । सन् १९९४ मा स्थापना भएको नेकमा इन्जिनियरिङका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ, कम्प्युटर, सिभिल एण्ड रुलर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, सिभिल फर डिप्लोमा होल्डर्स तथा आर्किटेक्ट विषयमा अध्ययन गर्न सकिन्छ । नेकले प्रादेशिक छात्रवृत्तिसँगै अन्य विभिन्न छात्रवृत्तिहरु प्रदान गर्दै आइरहेको छ । कलेजले प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुने, सेमेष्टर टपर, स्थानीय तहका विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आएको छ । कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्ति दिने गरेको छ ।
दोस्रो भारत-नेपालमैत्री शिखर सम्मेलन, शैक्षिक नीति तथा नवप्रवर्तनबारे विचार छलफल
काठमाडौं । काठमाडौं मोडल कलेजले दोस्रो भारत–नेपालमैत्री शिखर सम्मेलन २०२४ आयोजना गरेको छ । कलेजको बिजनेस डिपार्टमेन्टको नेतृत्वमा शिक्षा क्षेत्रका विषयमा छलफल गर्न सम्मेलन गरिएको कलेजले जनाएको छ । दुई देशबीचको शैक्षिक सहकार्यलाई मजबुत बनाउने, दुवै देशका विद्यार्थी र शिक्षकलाई सहयोग गर्ने र शैक्षिक नीति तथा शैक्षिक नवप्रवर्तनबारे विचार आदानप्रदान गर्ने उद्देश्यले कलेजले गएको वर्षदेखि सम्मेलन गर्दै आएको कलेजका प्राचार्य सुरेन्द सुवेदीले जानकारी दिए । उनले यस्ता सम्मेलनले दुई देशका शिक्षाविद्हरूलाई शिक्षामा नयाँ अवसरहरू र सहयोगका सम्भावनाहरू बारे जानकारी दिन पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘यो नेपाल र भारतमा भएका वैज्ञानिक, विद्वान र पोलीसी मेकिङमा रहेका दुवै पक्षका विज्ञहरूको सम्मेलन हो,’ प्राचार्य सुवेदीले भने, ‘नेपाल र भारतका साथै समग्र साउथ एशियाको शिक्षाविद्हरूले कस्तो भूमिका खेल्नुपर्छ ? उनीहरूले आफ्नो रिसर्चबाट कसरी प्रोफेसनल विकास र आर्थिक वृद्धि गर्नुपर्छ भन्नेबारे गरेको खोजी प्रस्तुति गर्न यो कार्यक्रम गरिन्छ ।’ नेपाल र भारतमा रहेर जसले लामो समयदेखि शिक्षाको क्षेत्र, विज्ञान, आविष्कारको क्षेत्रमा जे-जति काम गरेका छन्, उनीहरूलाई सम्मान गर्ने ठाउँ पनि सम्मेलन रहेको बताउँदै प्राचार्य सुरेन्द्रले नयाँ विद्वान र विद्यार्थीलाई पनि कसरी पेपर प्रिजेन्टेसन गर्ने, कसरी पेपर लेख्ने भन्ने कुरासमेत सिकाउने बताए । उनका अनुसार खासगरी अहिलेको जल्दोबल्दो विषय ग्लोबलाइजेशन र सोसियो इकोनोमिक डेभलपमेन्टमा जल्दोबल्दो इस्सु के छ ? नेपाल जस्तो विकासशील राष्ट्रले कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा विभिन्न पेपरमार्फत प्रचारप्रसार गर्न र ज्ञान बाँड्नको लागि यो सम्मेलनको आयोजना गरिएकाे हाे । यस्ता कार्यक्रमले दुई देशका विद्यार्थी र शैक्षिक प्रतिनिधिहरूबीच अनुभव आदानप्रदानको अवसर प्रदान हुने पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बताइन् । उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसरहरूको पहुँच र जानकारी प्रदान गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिन् । समग्र शैक्षिक क्षेत्रको फाइदा शिखर सम्मेलनमा बोल्दै सञ्चार सूचना तथा प्रविधिमन्त्री देव गुरुङले यस्ता कार्यक्रमले समग्र शिक्षा क्षेत्रका लागि फाइदा पुर्याउने बताए । शिक्षा क्षेत्रमा नेपालले पनि फड्को मारिरहेको बताउँदै उनले दुई देशका शिक्षविद्हरूको सम्मेलनले अझै सहयोग पुग्ने बताए । उनले भने, ‘विश्वमा शिक्षा क्षेत्रमा के भइरहेको छ, प्रविधिले फड्को कसरी मारेको छ ? यी विषयमा थाहा पाउन दुई देशबीचका विज्ञहरूबीच भेटघाट हुन जरुरी छ, यस्ता कार्यक्रम हरेक शैक्षिक संस्थाले गर्न आवश्यक छ ।’ कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रोफेसर विजुकुमार थपलियाले नेपाली शिक्षामा व्यावसायिक नवप्रवर्तन र उद्यमशीलताका विषयमा विद्यार्थीहरूलाई व्यावसायिक नवप्रवर्तन र उद्यमशीलताको महत्त्वबारे जानकारी दिइँदै आएको बताए । यस विषयमा विद्यार्थीहरूले नयाँ व्यावसायिक अवसरहरूको खोज, स्टार्टअप सुरु गर्ने तरिका र चुनौतीको सामना गर्ने उपायमा छलफल गर्न आवश्यक रहेको बताउँदै उनले यी विषयमा जाेड दिनुपर्ने बताए । कार्यक्रममा सहभागी विज्ञहरूले शिक्षा क्षेत्रमा सम्मेलन गरिनु सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । कलेजले शिक्षाका विभिन्न क्षेत्रमा खोज अनुसन्धान गर्ने व्यक्तिलाई सम्मानसमेत गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र
NEB काठमाडौं । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिए । खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ । तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ । तीमध्ये दुई सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ । विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्यांकलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ । यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।