आईएसएमटी कलेजले सम्पन्न गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । काठमाडौंको तीनकुने गैरिगाँउस्थित आईएसएमटी कलेजले सामाजिक उत्तरदायित्व र अध्ययनरत विद्यार्थीको शैक्षिक क्रियाकलापअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारी सहभागी भएका थिए । बेलायतको सुन्डरल्यान्डबाट सम्बन्धन प्राप्त यस आईएसएमटी कलेजले बीबीए, बीएचएम, बीएससी आइटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक, एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै आईएसएमटी ग्रुपअन्तर्गत युनिभर्सिटी अफ सुन्डरल्यान्ड युकैकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरू सञ्चालनमा छन् ।
मैले काम गर्छु भन्दाभन्दै कर्मचारीले जबरजस्ती ताला लगाए : उपकुलपति प्रा.डा. शीलु बज्राचार्य
खुला विश्वविद्यालयकी उपकुलपति प्रोफेसर डा. शीलु मानन्धर बज्राचार्य । आर्थिक, सामाजिक राजनीतिकलगायत विभिन्न कारणवश उच्च शिक्षा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई केन्द्रित गर्दै स्थान भएको विश्वविद्यालय हो, नेपाल खुला विश्वविद्यालय । नेपाललगायत विभिन्न देशमा खुला विश्वविद्यालय सञ्चालनमा आएका छन् । यसको उद्देश्य जसले समयमै आफ्नो पढाइ पुरा गर्न सकेनन्, उनीहरूको लागि घरमै बसीबसी शिक्षा प्रदान गर्ने /गर्न पाउनु हो । तर, नेपालमा रहेको खुला विश्वविद्यालयले उद्देश्यअनुरूप काम गर्न सकेको छैन ।कहिले डीन नियुक्तिमा विवाद, कहिले शिक्षक कर्मचारीबीच विवादले यो विश्वविद्यालय थिलोथिलो हुँदै गएको छ । स्थापनाको ७ वर्षसम्म न आफ्नै भवन बनाउन सकेको छ न त देशभरका विद्यार्थीलाई समेट्न सकेको छ । अहिले पनि यो विश्वविद्यालयका शिक्षक कर्मचारी आन्दोलित छन् । कलेजमा ताला लागेको छ । यस्तो अवस्था किन आयो ? के खुला विश्वविद्यालय राजनीति गर्ने थलो बनेकै हो त ? हामीले खुला विश्वविद्यालयकी उपकुलपति प्रोफेसर डा. शीलु मानन्धर बज्राचार्यसँग कुरा गरेका छौं। सोही कुराकानीको सम्पादित अंश : अचेल यहाँको दैनिकी विश्वविद्यालयभन्दा बढी अड्डा अदालत धाउँदै बितेको छ, केही दिन अगाडि डीनमाथि कारवाही पनि गर्नु भयो, खासमा यो विवाद के हो ? केही दिन अगाडि सामाजिकशास्त्र तथा शिक्षा संकायका डीनलाई कारवाही गर्नुपर्ने अवस्था आयो । किनकि विश्वविद्यालयको डीन भनेपछि फ्याकल्टीको एकेडेमिक लिडर हो । लिडरको जिम्मेवारी भनेको आफ्नो फ्याकल्टीअन्तर्गत चल्ने सम्पूर्ण शैक्षिक कार्यक्रमलाई राम्रोसँग चलाउने हो । शैक्षिक क्यालेण्डर व्यवस्थापन गरेर काम गर्ने हो । सँगै आफ्नो संकायमा चलेका कार्यक्रम, रिसर्च प्रोजेक्टहरू सबै नियमसंगत चलाउनुपर्ने हो । तर उहाँले कोही कसैसँग सहकार्य नगरी एकलौटी ढंगमा काम गर्न थाल्नुभयो । म यो संस्थाको कार्यकारी प्रमुख हो । कुनै पनि काम गर्दा मसँग पनि सल्लाह लिनुपर्छ तर, उहाँले कसैको कुरा नसुनेर काम गर्दा मैले विभागीय कारवाही गरेकी हुँ । भनेपछि उपकुलपतिलाई डीनले टेरेनन्, हो ? विश्वविद्यालयको उपकुलपति भनेको पूर्णकालीन प्रमुख कार्यकारी हो । ऊअन्तर्गत डीन पनि पर्छ । डीनले कार्यकारी प्रमुखले भनेको कुरा मान्नुपर्छ । कुनै पनि काम गर्दा राय सल्लाह लिनुपर्छ । तर यहाँ त्यस्तो भएन । कुनै पनि काममा सोधनी हुँदैन, कुनै काम भनेको अनुसार गरेको पनि हुँदैन, आफ्नै स्वेच्छाचारी ढङ्गबाट अगाडि बढ्ने भएको र त्यहाँका शिक्षकलाई पनि वेवास्ता गरेर एकलौटी काम गर्ने कारवाही गर्नुपरेको हो । यही घटनाले हो अदालतसम्म पुग्नु परेको ? कारवाहीपछि उहाँ अदालत पुग्नुभयो । उहाँ जानुपर्ने त पुनरावेदन अदालत हो तर जिल्ला अदालत जानुभयो । अहिले मुद्दा जिल्ला अदालतमा चलिरहेको छ । मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामै कारवाही भोगेका डिनले कुलपतिबाट डिनलाई यथावत जिम्मेवारीमा कामकाज गराउन दिनु भनेको पत्र ल्याएर फर्कनुभो । यो विश्वविद्यालयको कुलपति शिक्षामन्त्री हुन्छ । मलाई थाहा नदिइकन यो निर्णयको कार्यान्वयन विश्वविद्यालयको रजिष्टारबाट भयो । बोधार्थको आधारमा रजिष्टारले जसलाई मैले निमित्त भनेर दिरहेको थिएँ, उहाँलाई काम नगर्न भनियो र मैले कारवाही गरेको मान्छेलाई फेरि त्यही काममा राखिएको छ । यो कुरामा हाम्रो मन्त्रीज्यूले एक पटक सोधेर काम अगाडि बढाएको भए हुने, त्यसो गर्नुभएन । यहाँ अराजकता अपनाइयो । हामी विश्वविद्यालयका प्रमुखले समस्या समाधान गर्ने हो, सिर्जना गर्ने होइन । अनि, शिक्षामन्त्रीसँग यो विषयमा छलफल भएन त ? छलफल हुनुपर्थ्यो । तर गरिएन । उपकुलपतिले कारवाही गरेको मान्छेलाई फेरि काम गर्न पठाउँदा एक पटक किन हो भनेर सोध्नुपर्थ्यो । तर सोधिएन । मन्त्रीज्यूबाट नै योसम्मको कार्य हुनु राम्रो पक्कै होइन । किनकि मैले त्यत्तिकै विभागीय कारवाही पक्कै गरेको थिइनँ पनि । विश्वविद्यालयमा किन यस्तो हुन्छ ? यो सब भएको राजनीतिक हस्तक्षेपले गर्दा हो । यो विश्वविद्यालयमा अवरोध भएको अहिले मात्र होइन । पहिले पनि धेरै पटक भइसक्यो । म नियुक्त भएको २० दिनमा पनि यस्तै भएको थियो । यो समस्या बाहिरबाट भएको होइन, विश्वविद्यालय भित्रका व्यक्तिबाट भएको हो । यसमा यसको उसको भन्दा पनि सबैको दोष छ । म त हामी आफैले आफैलाई दोष दिनुपर्छ भन्छु । यो कसैको कारण भएको भन्नुभन्दा पनि हामी कर्मचारीको आफ्नै संस्कार र नियतिका कारण भएको हो । अब यसको समाधान पनि आफैले गर्नुपर्ने हो तर अवस्था सहज छैन । अहिले शिक्षक/कर्मचारीले नै विश्वविद्यालयमा ताला लगाएका छन्, ताला लगाउनुपर्ने अवस्था किन आयो ? तालाबन्दी नै गर्नुपर्ने कुनै कारण थिएन । यो विश्वविद्यालयमा धेरै कर्मचारी छैनन् । केही शिक्षक कर्मचारीलाई २०७५ सालमा करारमा नियुक्त गरिएको थियो । त्योबेला करारमा नियुक्त भएकाहरू अहिले हामी सबै प्रक्रिया पुर्याएर करारमा छिरेको भन्दै स्थायी हुनुपर्यो भनिरहनुभएको छ । त्यसमा पनि विशेष आन्तरिक हुनुपर्यो भन्ने माग उहाँहरूको छ । यसमा मेरो कुनै आपत्ति छैन । उहाँहरू स्थायी हुनुपर्छ भन्ने चाहना मेरो पनि हो । आज नभएपनि गर्ने नै हो । तर अस्ति एउटा बैठक बस्ने तय भएको थियो, मेरो व्यस्तताले बैठक स्थगित हुनेबित्तिकै उहाँहरूले ताला लगाउनुभयो । यो विषयमा अगाडि बढाउने योजनामा म पनि छु । तर यसमा उहाँहरूले मलाई विश्वास नगरेको हो । खुला विश्वविद्यालयकी उपकुलपति प्रोफेसर डा. शीलु मानन्धर बज्राचार्य र पंक्तिकार । भनेपछि डीन, रजिष्टारले नै उपकुलपतिको विश्वास गर्दैनन् ? हो, त्यस्तै लाग्छ , नभए त मैले यो विषयमा निर्णय गर्छु भनेकै थिएँ । म केही व्यस्त भएकाले मात्र बैठकमा बस्न सकेको थिइनँ । मैले काम गर्छु भन्दा पनि कर्मचारीले जबरजस्त ताला लगाउनुभयो । सबै प्रक्रिया पुर्याएकै छन् स्थायी गरे भइहाल्यो नि त ? तीन महिनाजति भयो हाम्रो कार्यकारीसहितको बैठक नबसेको । हामीले एउटा डीन नियुक्त गरेका थियौं । त्यसमा हाम्रै भित्रका साथीहरूले मुद्दा हाल्नुभयो । त्यो मुद्दामा पनि उहाँले आदेश पाउनु भएन । जबसम्म अदालतले काम नगर भन्यो तबसम्म उहाँले काम गर्नुभएन । यो विषयलाई मुद्दा बनाएर बैठकमा उपस्थित नहुने भएपछि बैठक बस्न सकेन । यो बैठक नबसेर धेरै काम पनि प्रभावित भएको छ । हामीले समिति, सभापति, सभासद नियुक्त गर्नुपर्ने छ । अस्ति हामीले बैठक बस्ने भनेका थियौं तर, मेरो व्यस्तताले बैठक बस्ने सकेन अनि यो अवस्था आयो । अब यो विवादलाई कसरी समाधान गर्नु हुन्छ ? अब बैठक बसेर यो विषयमा छलफल गर्छौं । यो ठूलो विषय पनि होइन । यसलाई छलफलकै माध्यमबाट समाधान गर्छौं । भनेपनि यहाँका दिन कहिले अदालत, कहिले कहिले विश्वविद्यालय धाउँदै आन्तरिक विवादमै बितिरहेका छन्, हैन त ? अब हो भन्नै पर्छ । यसरी नै बितिरहेका छन् । यही विवादले चाहेअनुसार काम गर्न सकेको छैन । सरकारले एउट खुला विश्वविद्यालयको जिम्मा दिएको छ । यो एउटा राम्रो काम गर्ने अवसर पनि हो । यति मात्र होइन, म एउटा महिला पनि हुँ । मैले राम्रोसँग काम गर्यो भने महिलाको पनि इज्जत बढ्ने हो । जसले मलाई नियुक्त गरेको छ, उहाँहरू सबैको इज्जतको कुरा हो । यो समयलाई सदुपयोग गर्नुपर्ने हो, तर मेरो समय अन्य काममा बर्बाद भइरहेको छ । मलाई यो कुराले साह्रै चिन्तित तुल्याएको छ । तर पनि म संघर्षरत छु । मेरो कार्यकालमा अझै पनि राम्रो काम गर्नेछु भन्नेमा विश्वस्त छु । अर्को धेरै कुरा गर्न नसके पनि सुरुवातीमात्र गर्ने हो भने अब आउनेहरूका लागि राम्रो एउटा बाटो कोर्ने प्रयासमा छु । नेपालका धेरै विश्वविद्यालयमध्ये खुला विश्वविद्यालयले मात्र महिला उपकुलपति पाएको छ, महिलालाई नेतृत्वदायी भूमिकामा काम गर्न कति सहज हुन्छ ? महिलालाई स्वीकार्न अहिलेको पुस्तालाई पनि गाह्रो छ । अहिले जति पनि दुःख पाइरहेको छु एउटा कारण यही हो भन्ने पनि मलाई लागिरहेको छ । महिलालाई अझै प्रमुखको रूपमा स्वीकार गर्न सक्ने हिम्मत धेरैमा छैन । भनेपछि अहिले पनि महिलाको नेतृत्वमा पुरुष डीन बन्न चाहँदैनन् भन्ने भाव देखियो ? यो पुरुषप्रधान देश हो । यहाँ जति ठूला कुरा गरेपनि अहिलेसम्म सोंच पितृसत्ता नै छ । मलाई पनि म महिला भएकै कारण नटेरेको हो कि भन्ने लाग्छ । मेरो ठाउँमा अन्य पुरुष भएको भए यस्तो अवस्था सायद आउँदैन थियो होला । यही आन्तरिक द्वन्द्वले चाहेको काम पनि गर्न नसकेको अवस्था छ । तपाईं यो विश्वविद्यालयमा एउटा डीन भएर प्रवेश गर्नुभयो, अहिले उपकुलपति हुनुभएको छ, डीन र उपकुलपतिको भूमिकामा के फरक छ ? डीन पनि एक लिडर नै हो । तर उसले एउटा संकायमात्र हेर्नुपर्छ भने उपकुलपति भइसकेपछि पुरै विश्वविद्यालयलाई हेर्नुपर्छ । म डीनमा रहँदा राम्रो काम पनि गर्न सकेकी हुँ । एउटा सफल डीन भएर आफ्नो संकाय चलाउन सकेकी हुँ । तीनवटा संकायमध्ये मैले चार वर्षे कार्यकालमा ब्याचलर्सदेखि पीएचडीसम्मका कार्यक्रम शैक्षिक क्यालण्डेरअनुसार सञ्चालन गरेकी पनि हुँ । तर, उपकुलपति हुँदा यसरी काम गर्न सकिनँ । काम गर्न पाइएन अथवा दिइएन भनौं । यहाँ राजनीति धेरै हुने र राम्रो राजनीतिक पहुँच नहुँदा मलाई समस्या आएजस्तो लाग्यो । तर म चुनौतीलाई अवसरको रूरुपमा लिन्छु । उपकुलपति हुँदा म के गर्छु भनेर योजना बनाउनुभएको थियो ? म डीनमै रहँदा यो विश्वविद्यालयमा कहाँ के गर्नुपर्छ, कहाँ के कमजोरी छ, के गर्यो भने राम्रो हुन्छ भन्ने सबै कुरा थाहा थियो । त्यही काम गर्ने भन्ने योजना पनि थियो तर, मलाई काम गर्न दिइएन । अथवा गर्न सकिनँ, तर मैले हार मानेकी छैन । मेरो कार्यकाल अझै केही समय छ । त्यो समयमा म गर्ने प्रयासमा छु । सफल हुने कुरामा म ढुक्क छु । अब कसरी अगाडि बढ्नुहुन्छ ? पहिले त अहिलेको आन्तरिक किचलो मिलाउनुपर्छ । यो किचलो मिलाइसकेपछि अनि कसरी अघि बढ्ने भन्ने कुरामा सोच्नुपर्छ । हामीले जुन उद्देश्यका साथ यो विश्वविद्यालयको सुरुवात गरेका हौं, त्योअनुसारको काम गर्न सकेका छैनौं । गर्नुपर्ने काम धेरै छन् तर गर्न सकिएको छैन । खुला विश्वविद्यालय अरू विश्वविद्यालयभन्दा बिलकुल फरक हो । यसको परिकल्पना नै फरक छ । एउटा नवीनतम प्रविधिको आधारमा दुरदराजमा, कामकाजीहरू अथवा उच्च शिक्षामा पहुँच नपुगेकाहरूलाई पहुँच पुर्याउन खोलिएको विश्वविद्यालय हो । घरमै बसेर सिक्न पाउने, काम गर्दै पढ्न पाउने विश्वविद्यालय हो । अहिलेको अवस्थामा यस्तो विद्यालयको आवश्यकता छ र मलाई लाग्छ अब अन्य विश्वविद्यालयले पनि यही बाटो अपनाउनुपर्छ । यसमा पढ्न जुसुकै उमेर समूहकाले पनि अध्ययन गर्न पाउनुहुन्छ । कतिपय कार्यक्रम अध्ययनको लागि हामीले ब्याचलर्स पढ्नयोग्य जुनसुकैलाई अध्ययन गर्ने व्यवस्था छ भने कतिपय कार्यक्रममा इन्ट्रान्स परीक्षा पनि लिने गरेका छौं । विद्यार्थीको संख्या कति छ ? अहिले हामीकहाँ करिब २ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । यहाँ व्यवस्थापन र कानुन, एजुकेसन र सोसल साइन्स र साइन्स हेल्थ टेक्नोलोजी गरी तीनवटा संकायमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । पूर्वमेचीदेखि पश्चिम महाकालीलगायत देशभरका विद्यार्थी आवद्ध रहेका छन् । खुला विश्वविद्यालय भएर जति खुला मासलाई समेट्नुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौं । विश्वविद्यालयभित्रको आन्तरिक कोलाहोलले नै हामी जसरी अगाडि बढ्नुपर्थ्यो, त्योअनुसार अगाडि बढ्न सकेको अवस्था छैन । धेरै गर्न सकिन्थ्यो भन्ने मैले पनि सोंचेकी थिएँ । भएका स्रोतसाधनलाई प्रयोग गरेर ७ वटै प्रदेशमा अध्ययन केन्द्रहरू सञ्चालन गर्ने, अन्य धेरै विद्यार्थीलाई आवद्ध गराउने यतिमात्र नभइ विदेशमा रहेका नेपालीलाई पनि यसमा आवद्ध गराउने भन्ने थियो । गएको वर्षमा यो कुरा पनि आएको थियो तर, गर्न सकिएन । हामीसँग मानव संशाधन पनि कम छ । अन्य सबै विश्वविद्यालयभन्दा हामी कङ्गाल विश्वविद्यालय नै हो । हामीसँग आफ्नो भवन छैन, आफ्नो जग्गा छैन भनौंभन्दा सरकाले दिने भनेको छ । हामीले साइनबोर्ड पनि राखेका छौं तर, हामीले आफ्नो भवन बनाउन सकेका छैनौं । यो विद्यालय प्रविधिमा आधारित विश्वविद्यालय भएकाले आफ्नो आइसीटी पूर्वाधार बनाएर आफ्नो ढङ्गबाट जान सकिरहेका छैनौं । अहिले हामीले जे पनि अन्तर्राष्ट्रिय डेटा निगम (आइडीसी)मा भर्नुपरेको छ । त्यता डाउन भयो भने हाम्रो पनि सबै डाटा उड्ने समस्या छ । हामीले यो सबैको व्यवस्थापन गर्न सकेका छैनौं । कर्मचारीको कुरा गर्ने हो भने हामीसँग अधिकृत तहका कर्मचारी छैनन् । अहिले जम्मा करिब ३० जनामात्र कर्मचारी छौं । अन्य शिक्षक सबै पार्टटाइमका हुनुहुन्छ । हामीसँग दुईवटा भवन छन् । हामीले मासिक ५ लाख भाडा तिर्नुपर्छ ।
लहडको भरमा विदेसिने प्रवृत्तिले नेपाली विद्यार्थी मारमा, काम र कोठा पाउनै मुस्किल
बेलायत । रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइगेका कार्कीको मनमा मडारिएको अनिश्चित र अन्योलपूर्ण भाव अनुहारमा प्रष्ट देखिन्थ्यो । ‘सुरुमा त बेलायत जाने भनेपछि खुसीको सीमा थिएन, भिसा पनि लाग्यो, घरपरिवार र साथीभाइबाट पनि बधाई आएको थियो’ उनले मलिनो अनुहारमा भने, ‘तर यहाँ आइपुगेपछि भने यहाँको अवस्था बुुझ्दा आङ् नै सिरिङ भयो, अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपियो । अब आई नै सकेँ, जे त होला । राम्रै होला भन्ने आशा गरौँ ।’ आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्लुभिथ्रीस्थित एक घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त कुनै समस्या भोग्नुपरेन तर अब कसरी कलेजको पढाइ र खर्चको व्यवस्थापनका लागि कामको खोजी गर्ने हो उनको मनमा त्रासको तुवाँलो मडारिएको छ । कार्कीलाई सहयोग गर्ने आफन्त लक्ष्मी दुलालले विद्यार्थीलाई काम पाउन निकै मुस्किल भएको अनुभव सुनाइन् । ‘केही समययता विद्यार्थीका लागि काम पाउन निकै गाहे छ, बल्लबल्ल काम पाए पनि विश्वविद्यालय र कामको समय मिलाउन निकै सकस छ’, उनले भनिन्, ‘झण्डै एक वर्षअघि विद्यार्थी भिसामै बेलायत आएकी लक्ष्मीलाई बेलायत सरकारले बढाएको शुल्क र विद्यार्थीले काम पाउन भोग्नुपर्ने समस्या विकराल भएको अनुभव ताजै छ ।’ कार्की बेलायत पुगेकै दिन उत्रिएका अर्का विद्यार्थी सुयोग गिरीले पनि आफूले यहाँ कोठा नपाएको भन्दै नेपाली विद्यार्थी इन युके समूहमा सहयोगको याचना गरेका छन् । उनले आफू पढ्ने क्याम्पसको नाम नै उल्लेख गरेर आफ्नो नम्बरसमेत राखेर सहयोगका लागि आग्रह गरेका हुन् । अर्का विद्यार्थी दीपक यादवले पनि सोही समूहमा आफू भर्खरै आएको भन्दै बस्ने कोठाका लागि अपिल गरेका छन् । केही अपवाद छाडेर काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था बेलायत आउने हरेक विद्यार्थीको नियति बनेको छ । पहिलो कुरा कोठा पाउनै सकस, त्यसपछि कमाएरै क्याम्पसको शुल्क तिर्ने र बेलायत आउँदा लागेको खर्च पनि केही महिनामै उठाउने सोच बोकेर यहाँ आइपुगेका विद्यार्थीहरु मानसिक स्वास्थ्यको शिकार पनि बन्ने गरेका छन् । एक महिनाअघि सेप्टेम्बर इन्टेकमा बेलायत आइपुगेका प्रितम् गिरी आफ्नो बर्मिङ्घमस्थित कलेज नजिकै बस्दै आएको कोठा महंगो भएकाले छोडेर उल्भरह्याम्टन सरे । ‘कोठा भाडा महङ्गो छ, त्यसमाथि काम पाइँदैन । घरबाट मगाएर कतिन्जेल टार्ने’, उनले भने । उनी पनि कामको खोजीमा छन् । केही दिन पहिलेदेखि उनले एक रेस्टुरेन्टमा ‘क्यास इन ह्यान्ड’ काम थाले पनि प्रतिघण्टाको पारिश्रमिक एकदमै कम छ । उनले पनि विद्यार्थीले कानुनीरुपमा गर्न पाउने हप्ताको २० घण्टा काम अझै पाउनु भएको छैन । वार्षिकरुपमा बढ्दो चर्को विश्वविद्यालयको शुल्क, शैक्षिक परामर्शदाताले दिलाएका झुठा आश्वासन, परिवारप्रतिको दायित्व, भाषा र भौगोलिक ज्ञानको अभावजस्ता कारण पनि कतिपय विद्यार्थी तनाव र डिप्रेसनसम्मको समस्या सामना गर्न बाध्य छन् । नेपाली समाज वेष्टमिड्ल्याण्डका अध्यक्ष भीम शर्माको अनुभवमा आवश्यक तयारीबिना विद्यार्थी बेलायत आउने भएको कारणले समस्यामा बढ्दै गएको छ । ‘बेलायत आउनुअघि हुनुपर्ने आधारभूत ज्ञानको अभावमा नेपाली विद्यार्थी धेरै समस्यामा पर्ने गरेका छन्’, उनले भने, ‘सकेसम्म समस्या नदेखाउने र हार खाने अवस्थामा पुुगेपछि सामाजिक सञ्जाल र नेपाली समूहमा हारगुहार गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।’ सकेसम्म समस्यामा परेका नेपालीका लागि आवश्यक सहयोग गर्ने तर समाजमा आवद्धहरुको पनि आफ्नै सीमितताका कारण ठूलो सहयोग गर्न नसकिने उनको भनाइ छ । नेपाली राजदूतावास बेलायतका प्रवक्ता रोशन खनालले ‘भिसा त लागोस् बाँकी भोगौंला’, भन्ने प्रवृति मुख्य समस्याको रुपमा देखिएको बताए । ‘कुन विषय पढ्ने ?, कुन विश्वविद्यालयमा पढ्ने ?’, उनले प्रश्नको शैलीमा भने, ‘सो ठाउँमा कामको सम्भावना र बस्ने ठाउँको अवस्था के छ ? समस्या पर्दा सहयोग गर्ने कोही छ कि छैन् ? लगायतका विषयमा आधारभूत ज्ञानसमेत नलिइकन बेलायत आउनेहरुले धेरै समस्या भोग्नुपरेको छ ।’ काम गरेर कलेजको शुल्क तिर्छु र यहाँ आउँदा लागेको खर्चसमेत केही महिनामै उठाउँछु भन्ने सोच बोकेर बेलायत पुग्ने अधिकांश विद्यार्थी मानसिक समस्यामा पर्नु मुख्य कारण भएको उनले बताए । यतिबेला बेलायतमा विद्यार्थीले काम नपाउने र पाए पनि २० घण्टा काम गरेर पढेको शुल्क तिर्छु र नेपालमा पनि पठाउँछु भन्ने सोचले आएका विद्यार्थीहरुले समयमै विश्वविद्यालयको शुल्क तिर्न नसकेपछि केही समयका लागि समन्वय गरिदिन आग्रह गर्नेहरुको संख्या बढेको उनको भनाइ छ । उनका अनुसार उल्भरह्याम्टन, बर्मिङघम, लण्डनलगायतका विभिन्न क्षेत्रका विश्वविद्यालयबाट विद्यार्थीहरुले काम नपाएको र शुल्क तिर्न समस्या भएको गुनासो सुनिएको छ । ‘नचलेका र जुनसुकै विषयमा भए पनि भिसा लगाउनकै लागि ग्रामीण कलेजमा पढ्न आउनेहरु समस्यामा पर्ने गरेका छन्’–उनले थपे, ‘बस्ने ठाउँ, पढ्ने ठाउँ र काम पाउने ठाउँको दूरी व्यवस्थापनमै धेरैलाई समस्या भइरहेको छ ।’ कतिपयलाई बेलायत आउन पाए पुग्ने, पढ्ने विषय, विश्वविद्यालयबारे समेत पर्याप्त जानकारी नभएको सुनाउँदै उनले थपे, ‘कतिपयलाई यहाँको यथार्थ भन्दा समेत जाने गएकै छन् राम्रै भएको छ, मलाई चाहीँ के नराम्रो होला भन्ने ठानेर दुख पाएको जस्तो लाग्छ ।’ लण्डनभित्रकै कलेज हो भनेर शैक्षिक परामर्शदाता कम्पनीले दिएको गलत र भ्रमपूर्ण जानकारी विद्यार्थीका लागि घातक हुने गरेको पाइएको छ । प्रक्रियाका क्रममा भिसा मात्रै लागोस् भन्ने चाहना राखेका विद्यार्थीलाई भिसा लागेपछि मात्रै कुन विश्वविद्यालय हो भन्ने थाहा हुन्छ, त्यसपछि पनि त्यसको भौगोलिक अवस्था र सम्भावनाबारे बुुझ्दा समस्या भएको हुनसक्छ । लामो समयदेखि नेपाली विद्यार्थीका समस्यालाई नजिकबाट नियालिरहेको नेपाली विद्यार्थीहरुको छाता संस्था मर्जिङनेप्ससका संस्थापक अध्यक्ष पवन कँडेलले सेप्टेम्बर इन्टेकमा बेलायतमा विश्वभरबाट हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी उच्चशिक्षाका लागि आउने भएकाले कोठा र काम पाउन कठिन रहेको बताए । ‘सेप्टेम्बर र जनवरी इन्टेकमा विश्वभरबाट गुणस्तरीय शिक्षाका लागि हजारौं विद्यार्थी बेलायत आउँछन्, विश्वका उत्कृष्टमध्यमै पर्ने बेलायतमा रहेका १३० भन्दा बढी मुख्य विश्वविद्यालयमा आउने हजारौँ विद्यार्थी सबै राम्रो उच्च शिक्षाकै उद्देश्यकै कारण नआउने गरेका छन्’, उनले भने, ‘त्यसमा पनि नेपाललगायत कम आय भएका देशका केही विद्यार्थीबाहेक अधिकांशको उद्देश्य पढाइभन्दा पनि कसरी बेलायत प्रवेश गर्ने भन्ने मात्रै सोचेको देखिन्छ ।’ अध्यक्ष कडेँलले बेलायतका विश्वविद्यालयलाई विद्यार्थीको लोभ र शैक्षिक परामर्शदाता कम्पनीले पाउने २० देखि २५ प्रतिशत कमिसनको चेपुवामा विद्यार्थीहरु पर्ने गरेका छन् । त्यसमाथि नेपालबाट आउँदा बेलायत भित्र्याउन पाउने सीमित पाउण्ड र बेलायतको बढ्दो महङ्गीकै कारण विद्यार्थीहरु बढी समस्यामा पर्ने गरेका सुनाए । ‘यहाँ पढ्नकै लागि आउने हो, पढाइलाई किनारामा राखेर पैसा कमाउने लक्ष्य हो भने त्यो सम्भव छैन भनेर बुझ्न आवश्यक छ’ उनले भने, ‘अधिकाश नेपाली विद्यार्थी काम गरेरै खर्च चलाउने, विश्वविद्यालयको शुल्क बुझाउनेदेखि नेपाल पैसा पठाउनेसम्म सपना देखेर बेलायत आउने गरेका छन् । त्यो पूरा हुन निकै कठिन छ ।’ बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीले साताको २० घण्टा काम गर्न पाउँछन् । वर्षमा केही महिना विश्वविद्यालय बिदा हुँदा सबै समय काम गर्न छुट छ तर, अहिले महिनौंसम्म काम नपाउने, नेपालबाटै मगाएर खर्च चलाउनुपर्ने जस्ता अवस्था सामान्य बनेका छन् । नेपाली, भारतीय र पाकिस्तानी कम्पनी तथा रेष्टुुरेन्टमा काम गर्नेहरुले पनि धेरै समय काम गरेर अत्यन्तै न्यून पारिश्रमिक पाउने गरेका छन् । कानूनीरुपमा उनीहरुले २० घण्टामात्रै काम गर्न पाउने भएकाले विद्यार्थीहरु जति पाए पनि केही नबोली गर्न बाध्य छन् । रोजगारदाताहरुको रोजाइमा पूर्णकालीन काम गर्न सक्ने, जुनसुकै दिन र समयमा उपलब्ध हुने तथा भाषा र कामको अनुभव भएकाहरूलाई प्राथमिकता दिने भएकाले विद्यार्थीहरुले सहजै काम गर्न कठिन हुने गरेको छ । नेपालबाट अध्ययनका लागि कति विद्यार्थी बेलायत आएका छन् भन्ने यकिन तथ्याङक नहुँदा समस्याको वास्तविक पहिचान गर्न सहज नभएको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता प्रवक्ता रोशन खनालको भनाइ छ । यसै वर्षदेखि ‘पोस्ट ग्राजुएट रिसर्च कोर्स’बाहेक अन्य कोर्समा आउँदा डिपेन्डेन्ट ल्याउन नपाइने नियम बनाएपछि विद्यार्थीहरुका लागि झनै समस्या भएको छ । तर पनि शैक्षिक परामर्शदाताले यथार्थ जानकारी नदिनु र लहडको भरमा विदेसिने प्रवृत्ति बढ्नुले नेपाली विद्यार्थीले अन्य देशमा पुगेर समस्या भोग्नुपर्ने क्रम बढेको छ । रासस