नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीको आकर्षण, प्रवेश परीक्षामा उत्साहजनक सहभागीता
काठमाडौं । नेपालमै सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हेतूले स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागीता रहेको छ । शनिबार चाँगुनारायण–४ भक्तपुरमा दिइएको पहिलो प्रवेश परीक्षामै कक्षा १२ पास गरेका विद्यार्थीहरूले उत्साहजनक सहभागीता जनाएको कलेजले जनाएको छ । स्नातक तहमा इन्जिनियरिङ विधाका ६ वटा विषयमा लिइएको प्रवेश परीक्षामा देशभरबाट विद्यार्थीहरूले सहभागीता जनाएको कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । ४८० कूल सिटको प्रवेश परीक्षामा झण्डै आधा सिटमा विद्यार्थीहरूले परीक्षा दिएका छन् । ‘स्नातक तहका सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा आर्किटेक्ट विषयको प्रवेश परीक्षामा विद्यार्थीहरूको उत्साहजनक रूपमा सहभागीता रह्यो,’ प्राचार्य भण्डारीले भने । प्रवेश परीक्षा निरिक्षणका लागि आएका पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद कोइरालाले विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जन गरेर नयाँ बनाइएकोले पनि विद्यार्थीहरुको आकर्षण बढेको बताए । कोभिड–१९ पछि विश्वविद्यालयले विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिष्पर्धा गराउन पुरानो मोडल हटाएर नयाँ मोडलको पाठ्यक्रम तयार पारिएको जिकीर गरे । ‘पोखरा विश्वविद्यालयबाट सञ्चालित धेरै विषयहरूको पाठ्यक्रम चेन्ज गरेका छौं, नेपाली विद्यार्थीहरू विदेश नजाउन् स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनुपर्छ भनेर विश्वविद्यालय सचेत छ,’ प्राध्यापक कोइरालाले भने । प्रवेश परीक्षाको निरिक्षणमा आएका नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने कुरा नेपाल इन्जिनियरिङ कलेजले प्रमाणित गरेको बताए । पछिल्लो समय कक्षा १२ पास गर्नेबित्तिकै विद्यार्थीहरू विदेश गइहाल्ने गलत ट्रेन्डको विकास हुँदा देशमा युवा जनशक्ति अभाव हुनसक्ने चिन्ता समेत व्यक्त गर्दै कम्तीमा ब्याचलर तहको अध्ययन नेपालमा गर्नुपर्ने जिकीर गरे । ‘नेपालको इन्जिनियरिङ शिक्षा अर्न्तराष्ट्रियस्तरको छ, हतारमा कुनै ज्ञान र सीप विना विदेश जाँदा धेरै समस्या आइपर्छ, देखासिकी र लहडमा नजाउँ,’ अध्यक्ष खत्रीले भने । प्रवेश परीक्षामा सहभागिता जनाएका संखुवासभाका विद्यार्थी रञ्जन अर्यालले एआई, मसिन लर्निङ जस्ता नयाँ विषयहरू पोखरा विश्वविद्यालयको पाठ्यक्रममा रहेकाले नेपाल इन्जिनियरिङ कलेज छनोट गरेको बताए । ‘यहाँ फुलटाइम फ्याकल्टी हुँदो रहेछ, ल्याब, पुस्तकालय पनि अन्य कलेजको दाँजोमा राम्रो रहेछ, त्योसँगै आईटीका नयाँ टेक्नोलोजी एआई, मसिन लर्निङ जस्ता विषयहरू पनि रहेछ,’ कलेजले दिने छात्रवृत्ति पनि आफूलाई मन परेको भन्दै विद्यार्थी अर्यालले भने । सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । कलेजमा विद्यार्थीको घुइँचो लाग्नुमा कलेजले हरेक वर्ष दिने आकर्षक छात्रवृत्ति पनि एक हो । प्रत्येक वर्ष कलेजले स्थानीय पालिका, वडा तहदेखि प्रादेशिक, सेमेस्टर टपर, कलेज टपर लगायत विभिन्न शीर्षकमा १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिँदै आएको छ । गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको यो कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ । काउन्सिलले हरेक वर्ष देशभर सञ्चालित कलेजहरुको शैक्षिक, भौतिक, प्राविधिक मुल्यांकन गरी स्थायी र अस्थायी अनुमति दिने गरेको छ । कलेजले अर्को प्रवेश परीक्षा केही समयमै सञ्चालन गर्ने बताएको छ ।
काठमाडौंका विद्यालयहरूले शिक्षा र मानविकी संकाय धमाधम बन्द गर्दै, विद्यार्थीको संकट
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतनले शिक्षा संकायमा विद्यार्थी पाउन सकेको छैन । सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयको छवि बनाएको यस विद्यालयलाई शिक्षा संकायमा भर्ना हुने विद्यार्थी पाउन मुस्किल परेको हो । शिक्षा संकायमा आवश्यक संख्या ३० जनालाई मात्र छुट्याएको भए पनि विद्यालयले १० जना पनि विद्यार्थी नआएपछि अब यो संकाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताएको छ । मानविकी संकायमा पनि विद्यार्थीको संख्या अझै अपुग रहेको विद्यालयले जानकारी दिएको छ । ५० जना विद्यार्थीका लागि छुट्याइएको मानविकी संकायमा पनि अहिलेसम्म मुस्किलले ३० जना विद्यार्थी मात्रै भर्ना भएका छन् । यस विद्यालयमा विज्ञान र व्यवस्थापन संकाय पढ्ने विद्यार्थीको संख्या भने थेगी नसक्नु छ । प्रधानाध्यापक हेरम्बराज कँडेल विज्ञान संकायमा ४ सय ५० जना विद्यार्थी भर्ना गर्ने योजना भए पनि ५ सय ७५ जना विद्यार्थीलाई भर्ना गरिसकेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । उनका अनुसार व्यवस्थापनमा झण्डै ६ सय विद्यार्थी भर्ना भएका छन् । विज्ञानमा ४ सय ५० को कोटामा प्रवेश परीक्षा दिन दुई हजार विद्यार्थी सहभागी भएका थिए । प्रधानाध्यापक कँडेल भन्छन्, ‘शिक्षा र मानविकी संकायमा विद्यार्थी पाउन समस्या छ, विज्ञान र व्यवस्थापनमा संख्या पुगेर विद्यार्थीलाई फर्काउनु परेको छ ।’ काठमाडौंको वाफलमा रहेको ज्ञानोदय माविले पनि शिक्षा र मानविकी संकायमा विद्यार्थी भर्ना नलिने निर्णय नै गरेको छ । यो संकायमा पढ्ने विद्यार्थी नै नआउने भएपछि संकाय नै बन्द गरिएको विद्यालयले जानकारी दिएको छ । ज्ञानोदयमा कक्षा ११ मा विज्ञान, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानून अध्ययन गराइन्छ । जसमध्ये कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्टमा विद्यार्थीको चाप बढी छ । स्कुलले साइन्स, सिभिललाई निश्चित कोटा छुट्याएको छ अर्थात एउटा कक्षामा ४० देखि ५० विद्यार्थीलाई भर्ना गरिन्छ । यसमा विद्यार्थीको संख्या पुरा भइसकेको छ । प्रधानाध्यापक विष्णु घिमिरे रिमाल विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरे रिमाल विद्यार्थी र अभिभावकले सकीनसकी भएपनि विज्ञान र व्यवस्थापन पढ्न खोज्दा शिक्षा र मानविकीमा विद्यार्थी नपाएको बताउँछिन् । काठमाडौंको मध्यबानेश्वरमा रहेको रत्नराज्य लक्ष्मीमा पनि समस्या उस्तै छ । शिक्षा, मानविकी व्यवस्थापन, विज्ञान, व्यवस्थापन र कम्प्युटर साइन्स पढाइ गराउँदै आएको विद्यालयले शिक्षा र मानविकीमा विद्यार्थी पाउन नसकेको जानकारी दिएको छ । यो विद्यालयले सबै संकायमा गरी ३ सय ५० जना विद्यार्थीमात्र भर्ना लिने योजना बनाएको छ । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले शिक्षा संकायमा ४० जना विद्यार्थी कोटा भएपनि अहिलेसम्म २२ जना विद्यार्थीमात्र भर्ना भएको बताए । बाँकी अरु संकायमा भने विद्यार्थीको संख्या बढी छ । प्रधानाध्यापक रामाशिष यादव दरबार हाइस्कुलले पनि शिक्षा संकायमा अध्ययन गर्ने विद्यार्थी पाएको छैन । गथवर्ष विद्यार्थी नहुँदा शिक्षा संकाय सञ्चालन नै भएन । यो वर्ष पनि अहिलेसम्म विद्यार्थी भर्ना हुन नआएको स्कुलका सहायक प्रधानाध्यापक पदम बटालाले बताए । व्यवस्थापनमा भने विद्यार्थीको चाप छ । चारवटा सेक्सनमा २ सय विद्यार्थी भर्ना गर्ने योजना अनुरुप अहिले भर्ना कार्य जारी रहेको विद्यालयले जनाएको छ । बागबजारमा रहेको पद्मदोय माविमा पनि शिक्षा संकायमा विद्यार्थीको संख्या निकै कम छ । अन्य संकायमा विद्यार्थीको चाप भएपनि शिक्षामा विद्यार्थी नै भर्ना नभएको स्कुलकी प्रधानाध्यापक शर्मीला पोखरेलले बताइन् । सामुदायिक विद्यालयमा मात्र होइन् । निजी विद्यालयमा पनि कक्षा ११ मा अहिले भर्ना भएका विद्यार्थीको रुचि शिक्षा र मानविकी संकायमा घट्दो छ । एसईईपछि विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका विषय अध्ययन गर्ने विकल्प विद्यार्थीलाई हुन्छ । तर, अधिकांश विद्यार्थीको रोजाइ विज्ञान र व्यवस्थापन भइरहेको विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयले कक्षा ११ मा शिक्षा र मानविकी संकायमा विद्यार्थी पाएका छैनन् । ३० जना सिट संख्या रहेको विद्यालयमा मुस्किलले २० जना पनि पुग्दैनन् । यी संकायमा विद्यार्थी नपाएर धेरैजसो विद्यालयले संकाय नै हटाइसकेका छन् । विकासन्युजले काठमाडौं उपत्यकाका केही विद्यालयमा गरेको खोजअनुसार अधिकांश विद्यालयमा शिक्षा र मानविकी संकायमा विद्यार्थी पाउन मुस्किल छ । मानविकी र शिक्षामा किन विकर्षण ? अहिले विद्यार्थी आफ्नो क्षमता भन्दा देखासिकीले विषय रोज्ने गरेको शिक्षाका जानकारहरू बताउँछन् । साथीले रोजेको विषय रोज्ने, साथीले रोजेको स्कुल पढ्ने हुँदा विद्यार्थीले आफनो रुचि नै भुल्ने गरेको पाइन्छ । समाजले मानविकी र शिक्षा पढ्ने विद्यार्थीलाई कमजोर विद्यार्थीका रुपमा हेर्ने गरेकाले पनि यी संकाय पढ्ने विद्यार्थीको रोजाइमा नपरेको विश्व निकेतनका प्रधानाध्यापक हेरम्ब कँडेल बताउँछन् । ‘उत्कृष्ट पढ्नु प¥यो, मनैदेखि मिहिनेत गरेर पढ्नुप¥यो, जुनसुकै विषयमा पनि स्कोप छ, उनी भन्छन्, ‘शिक्षा विषय पढेको विद्यार्थी भोलिको राम्रो शिक्षक बन्न सक्छ, मानविकी विषय बढेको विद्यार्थी भोलि राम्रो एनजिओ, आइएनजीओको हाकिम बन्न सक्छ, कुनै पनि विषय आफैंमा कमजोर हुँदैन । रत्नराज्य माविका प्रधानाध्यापक यादव पनि शिक्षा र मानविकीलाई कमजोर ठान्नेहरू शिक्षालाइ बुझ्न नसकेको व्यक्ति भन्छन् । उनी अहिले पनि यिनै विषय पढेका दक्ष व्यक्ति बजारमा पाउन मुस्किल हुने भन्दै विद्यार्थीलाई यी विषयमा अध्ययन गर्न आग्रह गर्छन् । गाउँ गाउँमा क्याम्पस काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसमा शिक्षा र मानविकी पढ्ने विद्यार्थी घट्नुको एउटा कारण गाउँगाउँमा विद्यालय खोल्नु पनि भएको कतिपयको भनाइ छ । अहिले गाउँ–गाउँमा कक्षा ११ र १२ सम्म पढाइ हुने धेरै विद्यार्थी छन्, शिक्षा र मानविकी पढ्नेहरू उतै पढछन् । प्राविधिक शिक्षा वा विज्ञान, व्यवस्थापन विषय पढ्न चाहने विद्यार्थीमात्र सहर आउने र बाँकी गाउँमै पढ्ने भएकाले पनि यो संकायमा विद्यार्थी संख्या विद्यालयमा कमी देखिएको हुन सक्ने ज्ञानोदयकी प्रधानाध्यापक विष्णु घिमिरेले बताइन् । कक्षा ११ मा छनोट गरेका विषयले समग्र करियरकै ढोका खुल्ने भएकाले विषय रोज्दा ध्यान दिन उनी विद्यार्थीलाई आग्रह पनि गर्छिन् । व्यवस्थापन र विज्ञान किन रोजाइमा ? कुनैपनि विषय आफंैमा कमजोर हुँदैन । जुनसुकै विषयको विज्ञता अथवा दक्ष जनशक्ति अहिले पनि हरेक क्षेत्रमा आवश्यक छ । शिक्षादेखि चिकित्ससम्मका विशेषज्ञ व्यक्ति पाउनै मुस्किल छ । विभिन्न ठाउँको व्यवस्थापकीय तहमा तथा अन्य उद्योगमा पनि व्यवस्थापन पढेका विद्यार्थीले नेतृत्व गर्ने अभ्यास हुँदा व्यायस्थापन क्षेत्रमा विद्यार्थीको आकर्षण बढेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । बैंक तथा वित्तिय संस्था रोजगारी र माथिल्लो क्षेत्रमा कम्प्युटर तथा सूचना प्रविधि लगायतका विषय अध्ययन गर्नको लागि पनि विद्यार्थी व्यवस्थापन रोज्ने गरेको उनको भनाइछ । यस्तै, प्लसटुपछि डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थी धेरै भएकाले विद्यार्थीको रोजाई विज्ञान पर्ने गरेको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका पहिलो डीन डा. प्रचण्ड प्रधान अहिले बजारमा व्यापार व्यवसाय, उद्योगधन्दामा पनि कामदारको माग बढी भएकाले विद्यार्थीको झुकाव यतातिर धेरै रहेको बताउँछन् । ‘व्यवस्थापनको क्षेत्र ठूलो छ, त्यहाँ स्माट वर्क गर्न पाइन्छ,’ उनी भन्छन्,‘ आज काम गरेर भोलि आफ्नै कम्पनी निर्माण गर्छु भन्न पनि मिल्ने भएकाले यो क्षेत्रमा विद्यार्थीको रुचि बढेको हो ।’ तर, शिक्षा र मानविकी पढेका राम्रा सक्षम कामदारको महत्व भने अहिले पनि बजारमा रहेको उनी बताउँछन् ।
सरकारले माग्यो युवा वैज्ञानिक
काठमाडौं । सरकारले युवा वैज्ञानिक मागेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । यस प्रज्ञा–प्रतिष्ठानबाट चालु आर्थिक वर्ष २०८१/८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिहरूलाई २१ दिनभित्र अनुसन्धान प्रस्ताव पेस गर्न आग्रह गरेको हो । आवेदन दिँदा अन्तिम म्यादसम्ममा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने बताइएको छ । अनुसन्धान अनुदानका लागि बजेटको अधिकतम सीमा व्यक्ति÷समूहगतको अनुसन्धानका लागि ५ लाख रुपैयाँ, संस्थागतको लागि १० लाख रुपैयाँ र बहु विधागतको लागि १२ लाख रुपैयाँसम्म रहेको छ । माध्यमिक विद्यालय स्तर (विज्ञान कक्षा १२) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानका लागि ५० हजार रुपैयाँ, र क्याम्पस स्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि १ लाख रुपैयाँ र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि १ लाख रुपैयाँसम्म अधिकतम बजेट सीमा रहेको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट गत आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिएको अनुसन्धान अनुदानको बाँकी किस्ता रकम भुक्तानी दिनुपर्ने भएकोले सोको व्ययभार र प्रशासनिक खर्च कटाई बाँकी रकमबाट अनुसन्धान अनुदान प्रदान गरिने प्रज्ञा प्रतिष्ठानले बताएको छ । विद्यालय स्तर र क्याम्पस स्तरका विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि अनिवार्यरूपमा समूहगत प्रस्ताव र सम्बन्धित विद्यालय र क्याम्पसको सिफारिस पेस गर्नुपर्नेछ । अनुसन्धान प्रस्ताव पेस गर्दा अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि र अपडेटेड बायोडाटा अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।