माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । आगामी भदौ २३ गतेसम्म १ हजार रुपैयाँ नियमित दस्तुरमा र ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने गरी आयोगले फाराम खुलाएको हो । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ । आयोगका अनुसार आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन सकिनेछ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं तोकिएका कागजातहरू पेस गरेपछि परिवर्तन नगर्न आयोगको सुझाव छ ।

विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख संकलन

त्रिवेणी । रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख संकलन गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका-१० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग संकलन अभियान थालिएको हो । विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरीय शिक्षा प्रदानका लागि भनेर थालिएको सहयोग संकलन अभियानमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको सहयोग अभियान संकलनकर्ता टीकाराम पुनले जानकारी दिए । उनका अनुसार देश तथा विदेशमा रहेका २ सय ४३ नेपालीबाट उक्त रकम संकलन भएको हो । विद्यालयको भौतिक संरचना तथा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग संकलन अभियान थालिएको पुनले जानकारी दिए । संकलन गर्ने कार्य अझै जारी रहेको र संकलन भएको रकम केही दिनमा विद्यालयलाई हस्तान्तरण गर्ने उनले जानकारी दिए । आठबिसकोट–१० फलाटे निवासी पुन अहिले रोजगारिको सिलसिलामा अमेरिका बस्दै आएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पले विद्यालय भवन क्षति पुर्याएको र पठनपाठनमा समस्या भइहेका बेला विद्यालयको भौतिक संरचना निर्माण तथा शिक्षा सुधारका निम्ति सहयोग संकलन गर्नु निकै उदाहरणीय काम भएको सरस्वती माविका प्रधानाध्यापक कमानसिंह कुसारीले जानकारी दिए । सरकारी निकायले समेत विद्यालयको भौतिक संरचना निर्माणमा नजर नपुगेका बेला रकम संकलन गरी विद्यालयका निम्ति सहयोग संकलन गरेकामा विद्यालय परिवार खुसी भएको समेत प्रअ कुसारीले उल्लेख गरे । संकलन भएको रकमबाट विद्यालयको बालमैत्री वातावरण निर्माण, शुद्ध पिउने पानीको व्यवस्थापन, खेलकुद मैदानको निर्माण, इन्टरनेट तथा कम्प्युटर कक्षाको स्थापना, गुणस्तरीय खाजा घरको निर्माण र बालमैत्री पठनपाठन प्रणालीको विकास गरिने विद्यालयले जननाएको छ । हाल सरस्वती आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा ५ सम्म पठनपाठन सञ्चालन भइरहेको प्रअ कुसारीले जानकारी दिए ।

४२ शैक्षिक संस्थाले पाए १२ वर्षपछि सीटीईभीटीबाट सम्बन्धन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) ले ४२ शैक्षिक संस्थालाई सम्बन्धन दिने निर्णय गरेको छ । अदालतले आदेश दिएका १३ वटा र नियमित प्रक्रियामा रहेका २९ वटा गरी ४२ वटा संस्थालाई सम्बन्धन दिने निर्णय भएको सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारिले बताए । उनका अनुसार १२ वर्षपछि प्रमाणपत्र तहको स्वास्थ तथा इन्जिनियरिङ विषयमा अध्ययपन गर्ने शैक्षिक संस्थाले सम्बन्धन पाउने भएका हुन् । ती शैक्षिक संस्थामा स्वाथ्यतर्फ नर्सिङ, फार्मेसी, रेडियोग्राफी, फिजियोथेरापी, अप्थाल्मिक, ल्याब, एचए कार्यक्रमको सम्बन्धन दिएको हो । त्यस्तै, इञ्जिनियरिङ तर्फ कम्प्युटर इञ्जिनियरिङ, इलेक्ट्रिकल, सिभिल, आर्किटेक्चर कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ । एउटै संस्थालाई स्वास्थ्य, इञ्जिनियरिङ र कृषिको गरी चार वटासम्म अनुमति दिएको छ । यसअघि प्री डिप्लोमा पढाउने पाँच वटा शैक्षिक संस्थालाई स्तरोन्नति गर्दै डिप्लोमा तह अध्ययनका लागि सम्बन्धन दिने निर्णय भएको छ । अदालतको आदेशमा दिइएका १३ शैक्षिक संस्था सीटीईभीटीबाट सम्बन्धन लिन अदालतमा गएका १३ शैक्षिक संस्थाले अन्ततः सम्बन्धन पाएका छन् । विभिन्न मितिमा अदालतले आदेश दिएपछि सीटीईभीटीले सम्बन्धन दिएको हो । जसमा पाथिभरा सेन्टर फर एडभान्स स्टडिज, अर्जुनधारा- ११, झापा,जानकी ग्लोबल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, भरतपुर ९, चितवन, भरतपुर सेन्ट्रल हस्पिटल, भरतपुर-१०, चितवन, नेपाल टेक्निकल इन्ष्टिच्युट, धनुषा, जगदम्बा मेडिकल इन्टिच्युट राजविराज सप्तरी रहेका छन् । यस्तै, मानसरोवर इन्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, दमक, नेशनल पिपुल इञ्जिनियरिङ कलेज, कञ्चनरूप सप्तरी, सेन्ट्रल हस्पिटल प्रालि जनकपुरधाम, धनुषा, सनराइज इन्जिनियरिङ कलेज, इलाम, नवजीवन हेल्थ होम प्रालि, बिराटनगर, मोरङ, च्छोरोल्पा जनरल अस्पताल प्रालि चरिकोट, दोलखा, मिड वेष्टन कलेज अफ साइन्स एण्ड टेक्नोलोजी, विरेन्द्रनगर, सुर्खेत र शुभ स्वस्तिक टेक्निकल इन्ष्टिच्युट प्रालिले अब प्रमाणपत्र तहको स्वास्थ तथा इन्जिनियरिङ विषयमा अध्ययपन गराउन पाउने भएका छन् । १२ वर्षदेखि कसरतमा रहेका २९ शैक्षिक संस्था चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरी अन्तिम प्रक्रियामा रहेका २९ शैक्षिक संस्थाले १२ वर्षपछि सम्बन्धन पाउने पक्का भएको छ । मापदण्ड पूरा नगरेको भन्दै सरकारले २०६९ सालदेखि सीटीईभीटी अन्तर्गतका शैक्षिक संस्थालाई प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिएको थिएन । १२ वर्षपछि सीटीईभीटीले २९ शैक्षिक संस्थालाई सम्बन्धन दिने निर्णय गरेको छ । जसअनुसार अब मोर्डन इन्ष्च्यिुट अफ हेल्थ साइन्स त्रियुगा, ३ उदयपुर, ओम साइ पाथिभरा नर्सिङ कलेज, भद्रपुर नगरपालिका ७, झापा, लाइफ लाइन हस्पिट प्रालि दमक,५  झापा, बिजयपुर टेक्निकल इन्ष्टिच्युट, धरान १, सुनसरी, पूर्वान्चल स्वास्थ्य सहकारी संस्था लि., बिर्तामोड ५, झापा, सिद्धकाली टेक्निकल इन्ष्टिच्युट बिर्तामोड ३. झापा, सगरमाथा टेक्निकल इन्ष्टिच्युट, बिराटनगर ६, मोरङले सम्बन्धन पाउने भएका छन् । यस्तै, गोल्डेन पार्क कलेज, विराटनगर ३ मोरङ, बिराटनगर मोडेल कलेज, बिराटनगर,  गोल्डेन हस्पिटल प्रालि विराटनगर, मोरङ, नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालि, विराटनगर ४, मोरङ, ज्ञान बाटिका इन्ष्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्स प्रालि., परवानीपुर ५, बारा, छिन्नमस्ता एजुकेशनल एकेडेमी राजविराज ७ सप्तरी, द हिमाल इन्ष्टिच्यूट अफ हेल्थ एण्ड टेक्निकल साइन्स, वीरगन्ज, पर्सा छन् । यस्तै, राम जानकी टेक्निकल एकेडेमी, जनकपुरधाम, धनुषा, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड डेन्टल टेक्नोलोजी, जनकपुरधाम ९, धनुषा, बिएचसी मेडिकल कलेज, वीरगञ्ज १४, पर्सा, अग्रिमा एकेडमी प्रालि, लहान नगरपालिका ४ सिराहा, श्री चितवन कलेज, भरतपुर–१०, चितवन, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बाग्लुङ ४, बाग्लुङ, रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी, पोखरा १६, कास्की, कालिका मेडिकल एण्ड टेक्निकल इन्ष्टिच्यूट गैंडाकोट, नवलपुर, गण्डकी टेक्निकल इन्ष्टिच्युट प्रालि पोखरा उपमहानगरपालिका १० कास्की, कैलपाल हस्पिटल एण्ड कलेज, नेपालगञ्ज बाँके, कपिलवस्तु टेक्निकल इन्ष्टिच्युट, बाणगङ्गा २. कपिलवस्तु, सञ्जीवनी कलेज अफ मेडिकल साइन्स, बुटवल १०, रुपन्देही, एडभान्सड स्टडी अफ हेल्थ स साइन्स एण्ड टेक्नोलोजी प्रालि तिलोत्तमा २ रुपन्देही, शैलेश्वरी फार वेस्ट स्कूल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी प्रालि, धनगढी १, कैलाली, नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेज प्रालि, धनगढी, कैलालीले सम्बन्धन पाउने भएका हुन् । डिप्लोमा तहमा पाँच संस्थाको नाम सीटीईभीटीले यसअघि प्री डिप्लोमा कार्यक्रम सञ्चालन भइरहेका पाँच वटा संस्थालाई डिप्लोमा तह सञ्चालनका लागि अनुमति दिने भएको छ । श्री चित्रगुप्त इन्ष्टिच्युट अफ टेक्नोलोजी, बर्दिवास, महोत्तरी, कान्तिपुर कम्युनिटी हेल्थ सर्भिस प्रालि, बालाजु १६, काठमाडाैंले अब डिप्लोमा तह कार्यक्रम सञ्चालन गर्न पाउने भएका हुन् । यस्तै, नेशनल इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, भरतपुर १०, चितवन, लहान पब्लिक टेक्निकल कलेज प्रालि धनगढीमाई नगरपालिका ११, सिराहा र दमक इन्ष्टिच्युट अफ टेक्नोलोजी प्रालि, दमक, झापाले पनि डिप्लोमा तह पढाउने भएका हुन् । यी संस्थामा  चिकित्सा, मेडिकल ल्याब टेब्नाेलाेजी, लगायतका विषय सञ्चालन गरिने जनाइएको छ ।