भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्याउने तयारी

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ । यसका लागि केन्द्रले चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, ‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेका छौँ, गत चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सक्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण सुरु गर्नेछौँ, शैक्षिक सत्र सुरु हुँदासम्म पूरै सेटमा सबै कक्षाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउँछौँ ।’ केन्द्रले अहिले २४ सैँ घन्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको छ । आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए । उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सैँ घन्टा चलिरहेको जानकारी दिए । पुस्तक वितरण भने पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा र अन्तमा उपत्यकामा गरिने भएको छ । केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा प्रादेशिक कार्यालय एवं वितरण केन्द्रबाट बिहानदेखि बेलुकासम्म पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताए । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । उनले यस वर्षको भर्ना अभियान सुरु हुन अगाडिनै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन सक्ने बताए । प्रबन्ध निर्देशक झाले भने ‘गत वर्षजस्तै यस वर्ष पनि कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलब्ध गराउने छौँ, कुनै पनि पुस्तक यस वर्ष पनि अधाव हुँदैन ।’ केन्द्रले आउँदो शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो । केन्द्रका प्रबन्ध निर्देशक झाले भने कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भएपनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताए । आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएपनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्नसक्ने दाबी उनले गरे । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा १ देखि ४ सम्मको मात्रै दिएको छ । पाठ्यक्रम विकास केन्द्रले कात्तिकमै शिक्षा मन्त्रालयमा पत्राचार गर्दै पुस्तक छपाइबारे छिटो निर्णय गर्न पत्रचार गरेको भए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गत मङ्सिर १२ मा केन्द्रमै बसेको बेठकमा प्रबन्धक निर्देशक झाले सरकारले यसबारेमा चाँडै निर्णय गरी १ देखि १२ सम्मको आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी केन्द्रलाई दिन माग गरेको थियो । केन्द्रले जिम्मेवारी पाउने आशामा कक्षा ३ कक्षा केही किताब छपाइसमेत गरिसकेका थियो । रासस

समयमै विद्यार्थीको हातमा पुस्तक पुर्याउन शिक्षामन्त्रीको निर्देशन

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको बिहीबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताइन् । उनले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गरेकी थिइन् । मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराइन् । मन्त्री श्रेष्ठले भनिन्, ‘पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।’ केन्द्रका प्रबन्ध निर्देशक झाले मन्त्री श्रेष्ठलाई भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाड्यपुस्तक पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ, यही चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सम्पन्न गर्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण थाल्छौँ, शैक्षिकसत्र सुरु हुदाँसम्म पूरै सेटमा सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउँछौँ ।’ आउँदो शैक्षिकसत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान छापिसकेको र बाँकी १८ लाख थान पुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए । केन्द्रले आउँदो शैक्षिकसत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिकसत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिकसत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको हो । प्रबन्ध निर्देशक झाले यस वर्ष कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलबध गराउने बताए । उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४सैँ घण्टा चलिरहेको जानकारी दिए । पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा अनि मात्र उपत्यकामा पुस्तक वितरण गरिने छ । केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा आउटलेटबाट पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताए । उनले भने, ‘हामीले अहिले २४सै घण्टा दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ, २४सै घण्टा पुस्तक पछाइको काम भइरहेको छ । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । गत वर्षजस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौँ र समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ ।’ शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ । प्रबन्ध निर्देशक झाले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भए पनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताए । आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए पनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्न सक्ने उनको भनाइ छ । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा ५ को पुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई नदिई केन्द्रलाई दिएको हो । रासस

सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको खातामा एक हजार

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैंक खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम १ हजार मौज्दात भएको बैंक खाता खोल्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि गाउँपालिकाले यस किसिमको अभियान अघि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राको आकर्षण बढाउनका लागि छात्रा बचत खाता सञ्चालन कार्यक्रम ल्याउन लागिएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिए । ‘शैक्षिक सत्र २०८१ बाट गाउँपालिकाले यो कार्यक्रम लागू गरिनेछ,’ उनले भने, ‘विशेष गरेर छात्राहरुको वर्तमान र भविष्यका लागि सहयोग पुर्‍याउने लक्ष्यअनुरूप यस किसिमको योजना ल्याइएको हो ।’ उक्त कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नाका साथै छात्रामा सानैदेखि बचत गर्ने बानीको समेत विकास हुने विश्वास लिइएको उनले बताए । विद्यालयमा सञ्चालित शिक्षासँग उत्पादन कार्यक्रमबाट विद्यार्थीले गरेको आम्दानीलाई बचतमा जोड्ने लक्ष्य राखिएको छ । कार्यक्रमका लागि सुरुआती चरणमा करिब २५ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । उक्त विद्यालयमा करिब दुई हजार बढी छात्रा अध्ययन छन् । यसैगरी, गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकको हालै बसेको बैठकले सामुदायिक विद्यालयको शिक्षा सुधारको अभियानमा साथ दिन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो । गाउँपालिकाका अनुसार आगामी शैक्षिक सत्रदेखि आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारअन्तर्गत गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरिएकामा यस वर्ष सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई अनिवार्य भर्ना गर्नुपर्ने निर्णय गरिएको हो । सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्यअनुरूप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताए । शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले थप सहयोग पुग्ने विश्वास गरिएको उनले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुुणस्तर वृद्विका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायत छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने, विद्यालयमा गाडीको व्यवस्था, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा, कर छुटका काम गर्दै आएको छ ।