विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा ९९–१२०मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ । विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेको छ । प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी एक सय २५ मा बिक्री वितरण हुँदै आएको छ । ‘विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ, विद्यार्थीले लगाएको च्याउको बजार खोज्नसमेत सघाउँछौँ’, उनले भने । विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरूपमा च्याउखेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् । एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउखेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताउनुभयो । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उनको भनाइ छ । विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानसमेत आर्जन गर्न पाएकामा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थी बताउँछन् । नेपाल सरकारको नमूना विद्यालय मङ्गला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायतका उपज फलाउने गरेका छन् । विद्यालयमा विसं २०७६ मा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा प्रयोगशाला सहायक सहित नौजना दरबन्दी छ । रासस

जसको कमाण्डमा चलिरहेका छन् काठमाडौंका कलेज

काठमाडौं । चन्द्रमामा पुगि सकिन्, अरू देशका नारी हाम्रा भने पिठ्यूँमा छन्, घाँस दाउराका भारी । एक समय थियो, छोरीलाई घाँस दाउरामा सीमित राख्ने र छोरालाई विद्यालय पढाउने । छोरीहरू मेलापाखामा गएर विरहका गीतमा रमाउँथिन् भने छोरा विद्यालयमा रमाउँथे । विरहका गीतहरू गायर छोरीहरूका दन बित्थे । तर, अहिले समय बदलिएको छ । छोरीहरू चुलो–चौकामा मात्र सीमित होइन, देशको विभिन्न क्षेत्रको नेतृत्व गर्ने पदमा पुगिसकेका छन् । सामाजिक, राजनीतिक, आर्थिक लगायत हरेक क्षेत्रमा महिलाको सहभागिता छ । शिक्षा क्षेत्रमा पनि महिलाको सहभागिता बढ्दै गएको छ । छोरीलाई पढाउनुपर्छ भन्ने चेत अभिभावमा छ । हेरक क्षेत्रमा कतिपय यस्ता नारीहरूछन् जसले त्यो क्षेत्रको नेतृत्व गरिरहेका छन् । इन्जिनयर, पाइलट र चिकित्सा क्षेत्रमा मात्र होइन राजनीतिकरूपमा पनि महिला अगाडि देखिन्छन् । परिवार, समाज र देशमा यस्तो परिवर्तन आउनुको कारण शिक्षा हो । शिक्षाले सही, गलत सबै छुट्याउँछ । नेपाली शिक्षा क्षेत्रमा पनि महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न निजी क्षेत्रबाट सञ्चालित कलेजमा पनि महिलाले नेतृत्व गरिरहेका छन् । कादम्बरी हाँक्ने प्रदिप्ता काठमाडौँ बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेजको प्रमुखको रूपमा काम गरिरहेकी छन् प्रदिप्ता कादम्बरी । २४ वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी १० वर्षदेखि कलेजको प्रमुखको रूपमा काम गरिरहेकी छन् । प्रदिप्ताको घर ललितपुर हो । उनी काठमाडौंमै हुर्किन्, पढिन् । उनले सन् १९९५ मा माइक्रोबायोलोजीबाट स्नातकोत्तर गरिन् । सन् २००० मा त्रिभुवन विश्वविद्यालयमा एमएस्सीका विद्यार्थीलाई माइक्रोबायोलोजी पढाउन सुरु गरिन् । उनी यो पेसामा लागेको २४ वर्ष भयो । उनले पढ्दै गर्दा शिक्षक हुन्छु भनेर सोचेको थिइनन् । तर, जब उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्न सुरू गरिन् । तब उनलाई युवाहरूसँग इंगेज हुन रमाइलो लाग्यो । त्यसपछि उनी सन् २०१३ उनी सामाजिक कार्यतर्फ लागिन् । उनले सुत्र नामक एउटा संस्थामा काम गरिन् । ४ जना अस्ट्रेलियाली सोसलवर्करसँग ५ वर्ष नेपालमा काम गरिन् । प्रदिप्ताले सोसलसाइन्सबाट स्नातकोत्तर गरिन् । उनले इन्टरनेश्नल फ्याम्ली स्टडिजमा पनि स्नातकोत्तर पास गरेकी छन् । उनले सन् २०१५ बाट कादम्बरी मेमोरियल कलेजको प्रमुखको जिम्मेवारी सम्हालिएकी हुन् । उनलाई शिक्षण पेसा सबैभन्दा राम्रो लाग्छ् । ‘शिक्षाले कहिले पनि कमजोर गराउँदैन, मलाई यो पेसा सबैभन्दा राम्रो लाग्छ,’ उनले भनिन् । डनबस्को सम्हालिरहेकी रश्मि काठमाडौंको लाजिम्पाटमा रहेको काठमाडौं डनबस्को कलेजको नेतृत्वदायी भूमिकामा छिन रश्मि शर्मा मैनाली । उनले लामो समय देखि कलेजको प्राचार्यको जिम्मेवारी सम्हाल्दै आएकी छन् । उनको पहाड घर पर्वत भएपनि उनी काठमाडौंमा जन्मिन्, हुर्किन् । उनले स्नातक तहसम्मको पढाइ भने भारतको सिलाङबाट गरिन् । भारतमा पढेर फेर्केर नेपाल आइन् । नेपाल आएर शिक्षण पेसामा लागेकी उनी पनि अहिले यही क्षेत्रमा रमाइरहेकी छिन् । २३ वर्षदेखि एपेक्सको नेतृत्वमा दुर्गा काठमाडौंको मध्ये बानेश्वरमा रहेको एपेक्स कलेजको जिम्मेवारी २३ वर्षदेखि दुर्गा रिजालले सम्हाल्दै आएकी छन् । विद्यार्थीकालमा राजनीतिमा लागेकी उनी त्यसपछिका समयमा भने नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरिन् । पञ्चायती प्रतिबन्धकाबिच विद्यार्थी राजनीतिमा संलग्न रीजाल त्यसपछि निरन्तर शिक्षा सेवामा समर्पित भइन् । अमेरिकाबाट उच्च शिक्षा हाँसिल गरेकी उनी नेपालमै रहेर शिक्षण पेशामा आवद्ध रहेर एपेक्स कलेज हाँकिरहेकी छन् । सगरमाथामा छिन् दक्षिणा ललितपुरको सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजले स्थापनाकालदेखि नै इन्जिनियर उत्पादनमा विशेष योगदान पुर्याउँदै आएको छ । इन्जिनियरिङ शिक्षासँगै विद्यार्थीको भविष्यका लागि समेत मार्ग निर्देशन केन्द्रित रहेको कलेजको दाबी छ । त्यही कलेजको नेतृत्वमा छिन् ई.दक्षिणा श्रेष्ठ । पहिले सह-प्रचार्यको भूमिका रहेकी उनि अहिले कलेजको प्रधानाध्यापकको रूपमा काम गरिरहेकी छिन् । आाईएसटीको नेतृत्वमा सम्झना काठमाडौँको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजको नेतृत्व तहमा छिन् सम्झना बस्न्यात । २० वर्षदेखि शिक्षण पेशामा आवद्ध उनी विगत १२ वर्षदेखि कलेजको प्राचार्यको रूपमा काम गरिरहेकी छन् । उनलाई शिक्षक भएर अध्यापन पेशामा रम्छु भन्ने लागेको थिएन तर, जब उनी यो पेशामा आइन् तब उनलाई अन्त सोच्नु परेन । ‘काम गर्दै जाँदा रमाइलो लाग्ने रहेछ,’ उनी भन्छिन्, ‘आफूमा भएको ज्ञान, शिक्षा बालबालिकालाई बाँड्न पाउनु नै ठूलो हो, अहिले मलाई शिक्षण पेसा नै रमाइलो लागिरहेको छ ।’ अनामिकाको कमाण्डमा क्याम्पियन कलेज नेपालमा विवाह गरेर आएकी अनामिका श्रीवास्तव २५ वर्षदेखि शिक्षण पेशामा आवद्ध छिन् । उपत्यकाका विभिन्न स्कुल र कलेजमा अध्यापन गराउँदै आएकी उनी अहिले ललितुरको सानेपामा रहेको क्याम्पिन कलेजको प्राचार्यकारूपमा काम गरिरहेकी छन् । भारतको बिहार घर भएकी उनी रौतहटको गौरमा बिहे गरेर आएपछि शिक्षण पेशामा आवद्ध भएकी हुन् । फरक देश, फरक भाषा, चालचलन सबै फरक समाजबाट आएकी उनलाई नेपाल आएर शिक्षण पेशामा लाग्न भने उत्तिकै चुनौती थियो । तर, उनले हार मानिनन् । भाषामात्र होइन नेपालको रहनसहन तथा परिवेशमा घुलमिल हुन पनि केही समय लाग्यो । काठमाडौंको नोबेल एकेडेमीबाट अध्यापन यात्रा सुरु गरेकी उनले सेन्टजेभियर कलेज, भीएस निकेतन लगायत धेरै विद्यालय, कलेजमा समेत अध्ययापन गराएकी थिइन् ।