भारतले इन्जिनियरिङ क्याम्पसलाई दुई अर्ब १९ करोड दिएन, नयाँ भवनको योजना अलपत्र
ललितपुर । ललितपुरको पुल्चोकमा वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन रहेको छ । वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐतिहासिक दरबारमा विसं २०२३ देखि नेपाल इन्जिनियरिङ इन्स्टिच्युट सरेको थियो । दरबार परिसरमा इन्जिनियरिङ अध्ययन संस्थानका पहिलो डिन कुलरत्न तुलाधरको प्रतिमासमेत निर्माण गरिएको छ । विसं १९९० को भूकम्पले सामान्य क्षति पुर्याए पनि विसं २०७२ को भूकम्पले इन्जिनियरिङ अध्ययन संस्थानको प्रशासन रहेको आनन्द निकेतन दबारलाई क्षति पुर्याएको थियो । भूकम्पले जीर्ण अवस्थामा रहेको ऐतिहासिक दरबारलाई इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रशासनले मर्मत गरेर सञ्चालन गरेको छ । ललितपुरमा रहेका ऐतिहासिक राणाकालीन दरबारहरु, हरिहर भवन र नारायण भवन संरक्षणको अभावमा अलपत्र छन् । पुल्चोकको आनन्द भवन भने मर्मतपछि प्रयोगमा आएको छ । भूकम्पपछि पानी चुहिने समस्या रहेको ऐतिहासिक दरबारलाई मर्मत गरेर पानी नचुहिने बनाएको क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्यले बताए । विसं २०७२ को भूकम्पपछि भारत सरकारबाट रु दुई अर्ब १९ करोड रकम इन्जिनियरिङ अध्ययन संस्थानका भवन पुनःनिर्माणका लागि दिने सम्झौता भए पनि हालसम्म सहयोग नआएको पुल्चोक क्याम्पसका प्रमुख आचार्यले जानकारी दिए । भारत सरकारबाट आउने रु दुई अर्ब १९ करोड रकममध्येमा ३५ करोड रकम आनन्द निकेतन भवनको पुनःनिर्माणका लागि हो । विस्तृत परियोजना प्रस्ताव तयार भए पनि सम्झौता अनुसार अझै काम सुरु भएको छैन । ऐतिहासिक दरबार भूकम्पपछि चारैतिर चर्केको छ । कतिपय झ्याल फुटेका छन् । भवन जीर्ण अवस्थामा रहे पनि विज्ञको सल्लाहअनुसार मर्मत गरेर कार्यालय सञ्चालन गर्न मिल्ने भएपछि कार्यालय यथावत् राखेको उनको भनाइ छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अहिले पनि सयौँ विद्यार्थी इन्जिनियरिङ अध्ययन गरिरहका छन् । यही क्याम्पसमा इन्जिनियरिङ पढेर धेरै विद्यार्थी इन्जिनियर बनेका छन् । भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक आनन्द निकेतन दरबार पुनःनिर्माणको पखाइमा भए पनि निर्माणका लागि भने कुनै निकायले चासो देखाएका छैनन् । रासस
‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ शुक्रबार देखि, अष्ट्रेलियाका २८ युनिभर्सिटीका प्रतिनिधि आउने
काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले शुक्रबार, माघ ५ गते, फेयर सञ्चालन गर्न लागेको हो । काठमाडौंको डिल्लीबजार स्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकैछाना मूनी अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नेछन् । कार्यक्रममार्फत विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् । कार्यक्रममा सहभागीताका लागि कुनै पनि शुल्क लाग्दैन । ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयरमा विश्व स्तरका विश्वविद्यालयहरू जस्तै न्यू साउथ वेल्स युनिभर्सिटी, सिड्नी, युनिभर्सिटी अफ क्वीन्सल्याण्ड, युनिभर्सिटी अफ सिड्नी , युनिभर्सिटी अफ एडिलेड का प्रतिनिधिहरू सहभागी हुनेछन् । काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्दैछ । काठमाडौंमा माघ पाँच गते फेयर सञ्चालन गर्न लागेको ग्लोबल रिचले चितवनमा शनिबार, माघ ६ गते १० बजेदेखि ३ बजेसम्म फेयर सञ्चालन गर्नेछ । जसमा १४ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ । यस्तै बुटवलमा आइतबार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फेयर सञ्चालन हुनेछ । जसमा ९ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको छ । ग्लोबल रिचको पोखरा शाखाको कार्यक्रम सोमबार, माघ ८ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछ । जसमा ११ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् । विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रस्ट हुन सक्नेछन् ।
चार विषयमा इन्जिनियरिङ गरेका विद्यार्थीको बिदाइ
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङका चार वटा विषयमा स्नातक पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । शनिबार कलेजले एक कार्यक्रमका विच कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्ट, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनका विद्यार्थीहरुको विदाई गरेको हो । विदाई कार्यक्रमका प्रमुख अतिथी नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले व्यवसायीक क्षेत्रमा प्रवेश गर्न तयार नवइन्जिनियरहरुलाई पेशागत मर्यादामा रहेर काम गर्न सुझाब दिए । नेपालमा दक्ष इन्जिनियरहरुको खाँचो रहेको औल्याउँदै अध्यक्ष शाहीले इथिक्समा बसेर काम गर्दा सफलता प्राप्त हुने बताए । ‘तपाईहरुले जसरी कलेजमा माया पाउनु भएको थियो, ब्यवसायिक जीवनमा त्यो वातावरण पाउन पनि सक्नुहुन्छ नसक्नु पनि हुन्छ । इन्जिनियरिङ पेशामा अपडेट भएर इथिक्समा रहेर काम गर्नु होला ।’ ब्यवसायिक जीवनमा प्रवेश गरेपछि प्रत्येक दिन परीक्षा दिइरहनु पर्ने भन्दै अध्यक्ष शाहीले इन्जिनियरिङमा अनुभव र सीप नै महत्वपूर्ण भएकोले अरुभन्दा अब्बल हुन अनुशासित, मेहनती बन्न जरुरी रहेको उल्लेख गरे । पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्रा।डा। राजेश ठकुराठीले उच्च शिक्षा पुरा गरेका विद्यार्थीहरुले प्राप्त गर्ने सफलता नै पोखरा विश्वविद्यालय र नेपाल इन्जिनियरिङ कलेजको ब्राण्ड एम्बेष्डर रहेको उल्लेख गर्दै विश्वविद्यालय र कलेजको नाम रहने गरी काम गर्न सुझाए । ‘तपाईहरु पोखरा विश्वविद्यालयको एम्बेष्डर हो, तपाईहरु नेपाल इन्जिनियरिङ कलेजको एम्बेष्डर हो । तपाईहरुले जे गति गतिविधि गर्नुहुन्छ त्यसमा विश्वविद्यालय र कलेजको भविष्य गाँसिएको हुन्छ । तपाईहरुले कलेजको, विश्वविद्यालयको र अभिभावकको नाम उँचो राखेर काम गर्नुहोला ।’ ब्यवसायिक क्षेत्रमा लागेपछि समय ब्यवस्थापन र मर्यादा कायम गर्नु अपरिहार्य रहेको भन्दै उनले भने । कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले कलेजमा ४–५ वर्ष अध्ययन गरेर हासिल गरेको ज्ञान र सीपलाई ब्यवसायिक जीवनमा प्रयोग गर्न सुझाउँदै विद्यार्थीले हासिल गर्ने सफलता नै कलेज र फ्याकल्टीहरुको सफलता रहेको बताए । ब्यवसायिक क्षेत्रमा सफलता पाउन समय र अनुशासन महत्वपूर्ण पाटो रहेको औल्याउँदै कार्यवाहक प्राचार्य भण्डारीले व्यवसायिक मर्यादा कायम गरी काम गर्न सुझाब दिए । ‘करियर सुरु गर्न निकै गाह्रो छ तर, हामीले तपाईहरुले राम्रो करियर बनाउनु हुन्छ भन्नेमा हामी विस्वस्त छौं ।’ कलेजको पढाई पुरा गरेर गएपनि कलेजसँग सदैव जोडिन आग्रह गर्दै उनले भने । कलेजका आर्किटेक्ट डिपार्टमेन्टका प्रमुख अनिल कुमार रेग्मीले ब्यवसायिक जीवनमा एकैपटक सफलता प्राप्त गर्न नसकिने भन्दै अफ्ट्रयाक आएपनि आफुले पढाएका शिक्षक फ्याकल्टीहरुलाई सम्झेर अगाडी बढ्न सल्लाह दिए । ‘काम गर्ने सिलसिलामा ब्यवसायिक मर्यादा कहिल्लै नविर्सनु, आफुभित्र रहेको क्षमता र दक्षतालाई समातेर अगाडी बढ्नु ।’ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ डिपार्टमेन्टका प्रमुख यमकृष्ण पौडेलले चार वर्षको दौरानमा हासिल गरेका ज्ञान, सीपलाई व्यवसायिक क्षेत्रमा प्रयोग गर्दै कलेजको नाम उच्च राख्न सल्लाह दिए । साथै, उनले विद्यार्थीहरुलाई कलेजको अल्मुनाईमा जोडिन पनि आग्रह गरे । यस्तै, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन डिपार्टमेन्टका प्रमुख अमित साहले विश्वका सबै मानिसले आफ्नो सफलता नै चाहिरहने भएपनि शिक्षकहरुले मात्र विद्यार्थीले हासिल गरेको सफलतालाई आफ्नो सफलता ठान्ने गरेको बताए । पढाएका विद्यार्थीले जीवनमा प्राप्त गरेका सफलता देखेर नै शिक्षकहरु आफु सफल भएको ठान्ने बताउँदै उनले विद्यार्थीलाई व्यवसायिक सफलताको शुभकामना दिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका कम्प्युटर साइन्स डिपार्टमेन्टमा असिस्टेन्ट प्रोफेसर जितबहादुर बोहराले कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरुको सफलतामा कलेजले गर्व गर्ने बताए । विदाई कार्यक्रममा विद्यार्थीहरुले अध्ययनका क्रममा विताएका पलहरुको सम्झना गर्दै नेपाल इन्जिनियरिङ कलेजका फुलटाइम शिक्षक, मित्रवत व्यवहार गर्ने कर्मचारी, कलेजको ल्याब, पुस्तकालय, रिसर्चका माध्यमहरुका कारण आफुहरु इन्जिनियर बन्न सफल भएको बताए । उनीहरुले कलेजमा हासिल गरेको ज्ञान, सीपलाई व्यवहारमै उतार्ने प्रतिबद्धता जनाउँदै स्वदेशमै रहेर देशको सेवा गर्ने भने । विद्यार्थीहरुलाई विषयगत अवार्ड सो अवसरमा ग्राजुएट विद्यार्थीहरु निलिमा थापा, लक्ष्मी चालिसे, दशुनाथ कंडेल, अनिलकुमार यादवलाई प्रोगाम टपर अवार्ड दिइएको थियो भने, विषयगत अवार्ड जयप्रकाश महतो, सुरज कार्कीले प्राप्त गरे । आर्किटेक्चरका आकांक्षा सिंह, गीतिका श्रेष्ठ, हिमाल रोकाया, छविलाल गुप्ताले बेसिक डिजाइन अवार्ड पाउँदा निलिमा थापाले बेसिक डिजाइन सँगै विल्डिङ कन्ट्रक्सन अवार्ड प्राप्त गरिन् । सुरज कार्कीले इलेक्ट्रिकल र कम्प्युटर साइन्स अवार्ड प्राप्त गरे । अनिल कुमार यादवले कम्युनिकेशन अवार्ड पनि पाउँदा सरोज महर्जनले पावर इलेक्ट्रिकल अवार्ड हासिल गरे । कार्यक्रममा आर्किटेक्चरका हिमाल रोकाया र छविलाल गुप्तालाई डब्लूएएमडिइओ अवार्ड पनि दिइएको छ ।