डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने
दोधारा चाँदनी । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको जानकारी दिए । ‘अनुमति प्राप्त भइसकेको छ । यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी तयारी गरिरहेका छौँ’, उपकुलपति जोशीले भने । विश्वविद्यालयले उपप्राध्यापक र सहप्राध्यापक माग गरिसकेको छ । उनले अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा रहेको र त्यसलाई थप गरेर सुरुवातमा तीनसय शय्याको अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिरहेको बताए । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निर्माणको प्रक्रिया अघि बढाएको हो । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि डिपीआर निर्माणको काम भइरहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको भनाइ छ । सरकारले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । ‘डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश क्षेत्रका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ भने प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ’, उपकुलपति जोशीले भने, ‘विशेष गरी सुदूरपश्चिमको पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउनेछन ।’ मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए । विश्वविद्यालयले एमबिबिएस सञ्चालनका लागि समेत रणनिति बनाएर तयारी गरिरहेको जनाएको छ । रासस
बेलायतका विश्वविद्यालय तहमा पढ्ने विद्यार्थीलाई घरभाडा भारी पर्दै
काठमाडौं । पछिल्लो समयमा बेलायतका विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले महंगो घरभाडाको सामना गरिरहेका छन् । जसकारणले अनुमान गरिएको भन्दा बढी खर्च गर्नुपर्ने अवस्था आइपरेको रिपोर्टमा उल्लेख गरिएको छ । रियल स्टेट फर्म कुशम्यान एन्ड वेकफिल्डको सर्वेक्षण अनुसार सन् २०२२/२३ को तुलनामा घरभाडामा ८ प्रतिशतले वृद्धि भएको छ । धेरै विद्यार्थीहरुले सुहाउँदो मूल्यको कोठा पाउन निकै संघर्ष गरिरहेका छन् । कतिपय स्थानहरुमा घरभाडामा २७ प्रतिशत सम्म वृद्धि भएको जनाइएको छ । बेलायतमा पछिल्लो दशकमा आवास व्यवस्था गरेर अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ३ लाख ९० हजारले वृद्धि भएको छ । आवासहरुको विकास तथा संचालन खर्चमा भएको वृद्धिको कारण र उच्च मुद्रस्फितिको कारणले भाडामा वृद्धि भइरहेको जनाइएको छ । राजधानी लन्डन भन्दा बाहिर एक वर्षको घरभाढा ७६०० पाउन्डस्टर्लिङ सम्म पुगेको छ । जुन विद्यार्थीले प्राप्त गर्ने ऋणको ७७ प्रतिशत हो । कुशम्यान एन्ड वेकफिल्डका अनुसार विश्वविद्यालय भएका प्रमुख शहरहरुमा प्रत्येक १० मा एकवटा बेड मात्रै विद्यार्थीहरुले मर्मत ऋण तथा अनुदानका आधारमा प्राप्त गर्ने सम्भावना छ । नेशनल युनियन अफ स्टुडेन्टले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा बेलायतमा अध्ययन गर्ने ६९ प्रतिशत विद्यार्थीहरुले पार्ट टाइम काम गर्ने गर्छन्, जसले उनीहरुको खर्चलाई न्यूनिकरण गर्न सहयोग पुर्याएको छ । तर, अधिकांश विद्यार्थीहरुले कामको कारणले आफ्नो अध्ययनमा बाधा पुगेको प्रतिक्रिया दिएका छन् । नेशनल युनियन अफ स्टुडेन्टका उपाध्यक्ष क्लो फिल्डले मुद्रास्फितिको आधारमा मर्मत ऋणको व्यवस्था हुनुपर्ने र घरभाडालाई नियन्त्रण गर्न आवश्यक भएको प्रतिक्रिया दिएका छन् । एजेन्सीको सहयोगमा ।
चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको लागि सिट निर्धारण, कुन कलेजले कति कोटा पाए ?
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगको परीक्षा निर्देशनालयले असोज ९ गते एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०/८१ का लागि सिट निर्धारण गरेको हो । आयोगले एमबीबीएसमा १९२५, बिडिएसतर्फ ५४५, बिएससी नर्सिङतर्फ १७२०, बिएनएसतर्फ ११३० र बिएससी एमएलटी ३२५ सिट निर्धारण गरेको छ । आयोगले विभिन्न २१ वटा कलेजलाई एमबिबिएस, १४ वटा कलेजलाई बिडिएस र ५६ वटा कलेजलाई बिएससी नर्सिङको कोटा बाँडेको छ । आयोगले यी बाहेक पनि चिकित्सा शिक्षा अन्तर्गतका अन्य विषयहरुको समेत सिट निर्धारण गरेको छ । हेर्नुहोस, कुन कलेजले कति विषय सञ्चालन गर्नका लागि कति सिट प्राप्त गरे ?