एसईई खारेज गर्नुपर्ने शिक्षाविद्को भनाइ, विद्यालय व्यवस्थापक भन्छन् : खारेज गर्न आवश्यक छैन
काठमाडौं । शिक्षाविद्हरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) को औचित्यमाथि प्रश्न गरेका छन् । एसईईको संरचना एसएलसीको भन्दा फरक नभएकाे बताउँदै उनीहरूले एसईईकाे औचित्यमाथि प्रश्न गरेका हुन् । शिक्षाविद् प्रा.डा विनय कुमार काैसियत एसईईलाई खारेज गर्नुपर्ने बताउँछन्। काैसियत संविधानले कक्षा १२ सम्म विद्यालय भनेर तोकेपछि पनि एसईई संचालन गर्नुको अर्थ नभएकाे तर्क राख्छन् । ‘ऐनले १२ कक्षासम्मलाई विद्यालय शिक्षा भनेकाे छ, एसईई संरचना एसएलसीभन्दा केही फरक छैन, त्यसलै यसलाई तत्काल खारेज गरिनुपर्छ,’ उनले विकासन्युजसँग भने । विदेशमा पनि विद्यालय शिक्षा भनेपछि बीचमा राष्ट्रिय स्तरको बोर्ड नहुने उनी बताउँछन् । ‘कक्षा १२ लाई एसईई मान्नुपर्छ, कक्षा १० र ११ मा लिइने परीक्षालाई सामान्य रुपमा संचालन गरी कक्षा १२ लाई विद्यालय तहको अन्त्यकाे रुपमा लिनुपर्छ,’ उनले थपे । कक्षा ८ मा जिल्लास्तरीय परीक्षा लिएजस्तै कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउनुपर्ने उनकाे भनाइ छ । तर, प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरी एसईई खारेज गरे त्यसले नेपालको शिक्षालाई बिगार्ने बताउँछन् । राष्ट्रिय स्तरको परीक्षाको रुपमा संचालन भइरहेको एसईई खारेज भए यसको असर विपन्न परिवारलाई पर्ने उनी बताउँछन् । ‘अहिले पनि कक्षा १० को नतिजा पाएपछि आर्मी, प्रहरी, खरिदारको लागि प्रतिस्पर्धा गर्न पाइन्छ, कक्षा १० पास गरेर सेवा क्षेत्रमा प्रवेश गर्न चाहने धेरै मानिसहरू छन्, विशेष गरेर विपन्न परिवारका विद्यार्थीहरूलाई एसईई खारेज भए अफ्ठ्यारोमा पर्छन,’ उनले भने । अहिले पनि नेपालमा धेरैको पारिवारिक अवस्था कक्षा ११ र १२ पढ्ने भएको बताउँदै उनी एसईई खारेज गर्ने विषय सही नभएकाे बताउँछन् । कक्षा १० मा एसईई हुँदा विद्यार्थीको ध्यान पढाइमा केन्द्रित हुने र यसलाई कम ठान्न नहुने उनकाे भनाइ छ । यस्तै, एनप्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरी एसईई परीक्षा तत्काल खारेज गर्न नमिल्ने बताउँछन् । ‘जसरी कक्षा १२ मा गएर मात्र राष्ट्रियस्तरको परीक्षा संचालन गर्नुपर्छ भनेर भनिएको छ, त्यो व्यावहारिक रूपमा हालको लागि असम्भव छ,’ उनले भने । ‘अहिले पनि धेरै विद्यार्थी र अभिभावकको लागि कक्षा १० भनेको टर्मिनेटिङ्ग एक्जाम हो, सबै विद्यालयमा ११ र १२ कक्षा संचालनमा छैन, कुनै पनि विद्यार्थी कक्षा ११ र १२ मा जाँदा एउटा राष्ट्रिय स्तरको परीक्षाको नतिजा त आवश्यक पर्छ,’ उनले भने । बत्तिसपुतलीस्थित अंकुर विद्यालयका संयोजकसमेत रहेका सापकोटा १० पछि धेरै विद्यार्थीहरू थप अध्यनको लागि बसाइँसराइ गर्ने गरेको हुँदा सबै विद्यालयमा कक्षा ११ र १२ संचालन नभएसम्म एसईई खारेज गर्न नमिल्ने बताउँछन् । वैशाख ९ गतेदेखि एसईई परीक्षा संचालन हुँदैछ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ ।
५ सय यडलरको इन्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्ति काफ्ले र अर्याललाई
वाशिङ्गटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति बरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इन्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा दर्शनाचार्य (एमफिल) को उपाधि हासिल गरी सोही विषयमा विद्यावारिधि गर्दै गरेका बरिष्ठ पत्रकार कपिल काफ्ले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक हुन् । उनी हाल नेपाल खुला विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् । यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा उप–प्राध्यापकका रूपमा कार्यरत देवराज अर्यालले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा राजनीतिक परिवर्तनमा मिडियाको भूमिकासम्बन्धी विषयमा केन्द्रित भई विद्यावारिधि गरिरहेका छन् । २०४३ सालमा नेपाल प्रेस इन्ष्टिच्यूटबाट १० महिने पत्रकारिता तालिम पूरा गरेसँगै कामना प्रकाशन समूहमा आवद्ध भएका काफ्लेले त्यही संस्थाबाटै आफ्नो परिचय बनाएका हुन् । हाल सो प्रकाशन गृहको राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा कार्यरत काफ्ले त्यसका संस्थापक सम्पादक पनि हुन् । सिनेमाका विषयमा केन्द्रित कामना मासिकमा रिपोर्टरबाट पत्रकारिताको अभ्यास थालेका काफ्ले छोटो समयमै त्यसका सम्पादक भए । विगत तीन दशकभन्दा लामो समयदेखि उनी विभिन्न मिडियामा सम्पादककै जिम्मेवारीमा छन् । २०५३ सालदेखि चितवनको नारायणी साप्ताहिकबाट पत्रकारिता शुरु गरेका अर्यालले २०५४ सालदेखि युगसम्वाद साप्ताहिकको सम्वाददाता, सहसम्पादक हुँदै २०५९ सालदेखि २०६३ सालसम्म कार्यकारी सम्पादकको जिम्मेवारी बहन गरेका थिए । उनले माउण्टेन टेलिभिजनमा २०७३ देखि २०७४ सालसम्म समाचार सम्पादकको रुपमा कार्य गरे । नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद सदस्य समेत रहेका अर्याल त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागमा उपप्राध्यापकका रूपमा कार्यरत छन् । अमेरिकाको राजधानी वाशिङ्गटनमा मुख्यालय रहेको इञ्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्तिको राशी जनही पाँच सय अमेरिकी डलर रहेको छ । इन्टरनेसनल मनिटरी फन्डको उच्च पदमा पुगेर सेवा गर्नु भएका अर्थ विद स्व. डा सुखदेव शाहको संस्मरणमा ईन्जासंग सहकार्य गर्दै उनकी धर्मपत्नी श्रीमती विजया शाहले स्थापना गरेको अनुसन्धानवृत्ति कोष अन्तर्गत यो अनुसन्धानवृत्ति प्रदान गरिएको कुरा इन्जाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एक कक्षा पढ्न चार घण्टा हिड्नुपर्ने बाध्यता
म्याग्दी । म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहरदोहर गर्न बाध्य छन् । झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरूलाई निकै सकस हुने गरेको छ । बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरस्थित रायखोर आधारभूत विद्यालय पुग्छन् । पहिरो, जङ्गल र खोला भएको अप्ठ्यारो र भिरालो बाटो हुँदै दैनिक विद्यालय आउजाउ गर्ने ठाँटी र मूलपानीका १७ बालबालिका गाउँमा प्राथमिक तहसम्मको विद्यालय नहुँदा यस्तो समस्या भोग्न बाध्य छन् । सडक सञ्जालले नछोएको ठाँटी र मूलपानीकी सजिना शेरपुञ्जा र रजिना शेरपुञ्जा मूलपानी बालविकास केन्द्र पढ्न जाने गरेका छन् । उनीहरू जस्तै गाउँका २७ परिवारका विद्यार्थीले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका रायखोरका विकास पुर्जाले बताए । टाढा भएकाले विद्यार्थी नियमित विद्यालय नआउने गरेको उनले बताए । कक्षा १–५ रायखोर र कक्षा ६–१० का लागि विद्यार्थी पढ्न पाखापानी र छिमेकी कुइनेमङ्गलेको रितुङ मावि जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य छन् । ‘विद्यालय पुग्न दुई घण्टा लाग्छ, बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्’, पुर्जाले भने । उनले गाउँबाट विद्यालयसम्म पुग्ने पैदलमार्गमा चार ठाउँमा पहिरो जाने भएकाले असारदेखि भदौसम्म विद्यार्थीलाई सकस हुने गरेको बताए । ‘दैनिक चारघण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्, गाउँमै विद्यालयको आवश्यकता छ’, अभिभावक इन्द्रा पुनले भनिन् । भिरको बाटो भएकाले एक्लै पठाउन समस्या हुने गरेको मूलपानीकी धनकुमारी पुनको भनाइ छ । ‘बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारो हुन्छ, घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ’ उनले भने । मूलपानीमा प्राथमिक तहको विद्यालयका लागि पहल भइरहेको तर, विद्यार्थी सङ्ख्या थोरै भएकाले मापदण्ड पूरा गर्न नसक्दा समस्या भएको वडासदस्य लिलाबहादुर पुनले बताए । ‘मूलपानीमा प्राथमिक तहसम्मको विद्यालय सञ्चालनका लागि माग गरेका छौं’, उनले भने । रघुगङ्गा–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जा बस्ती छरिएकाले सबै ठाउँमा विद्यालयको अनुमति पाउन समस्या भएको बताए । मूलपानीमै कक्षा १ सम्म पठनपाठनको व्यवस्था मिलाउन लागिएको उनी बताउँछन् । बस्तीसम्म सडक खने राहत हुने शेरपुञ्जाले बताए । रासस