शिक्षक अस्पतालका लागि जग्गाः समितिले बुझायो चितवन उपयुत्त हुने प्रतिवेदन

काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने भनेको छ । समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साईट डेभ्लपमेन्ट कार्यमा किफायति हुने देखिएको छ । संघीय शिक्षक अस्पतालका लागि हाल ३०० शैया क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाउने सोको लागि नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउने निष्कर्षसमेत समितिले निकालेको छ । प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताए । समितिले दिएका प्रस्तावित जग्गाहरुको विषयमा थप अध्ययन हुन्छ,’ उनले भने, ‘अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान्छु ।’ अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४०देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ । शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिमा डा. विमल शर्मा चालिसेको संयोजकत्वमा काक्तिक २२ गते ७ सदस्यीय समिति गठन भएको थियो ।

प्लाटिनम कलेजको हल्ट प्राइज अभिमुखीकरण कार्यक्रम सम्पन्न, विद्यार्थीलाई स्वरोजगार बनाउने लक्ष्य

काठमाडौं । काठमाडौंको डिल्ली बजारमा रहेको प्लाटिनम कलेजको बुधवार हल्ट प्राइज अभिमुखीकरण सत्र भर्चुअलमार्फत सम्पन्न भएको छ । प्लाटिनम कलेजका विद्यार्थीले हल्ट प्राइजको अभिमुखीकरण कार्यक्रम भर्चुअल माध्यबाट आयोजना गरेका थिए । हल्ट प्राइजकोबारेमा विद्यार्थीलाई बुझाउन र यसको महत्वको बारेमा छलफल गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ । ‘संसारलाई काममा फर्काउने’ हल्ट प्राइज २०२२ को नारा रहेको छ । विद्यार्थीहरुमा भएका समस्यालाई समाधान गरी उनीहरुलाई स्वरोजगार बनाउनका लागि व्यापार व्यवसाय सञ्चालन गर्न आर्थिक सहयोग गर्ने पनि कार्यक्रमको लक्ष्य छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा हल्ट प्राइज फाउन्डेसनका कर्पोरेट रिलेसन म्यानेजर मेधविनी ढकाल उपस्थिति थिए । कोभिड–१९ को समयमा विद्यार्थीको तनाव कम गर्न र विद्यार्थीमा लुकेको प्रतिभा खोजी गर्न हल्ट प्राइज कार्यक्रमा सञ्चालन गरिएको ढकालले बताए ।

नेपालमा ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ काे पढाई सुरु, साढे ५ लाख खर्च लाग्ने

काठमाडाैं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका नवीन खोज तथा अनुसन्धानलाई व्यवस्थापन शिक्षासँग समायोजन गरी भविष्यमा मुलुकलाई चाहिने व्यापार–अर्थशास्त्रका विज्ञ उत्पादन गर्न उक्त कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिइन् नेपालमा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै उनले विश्वका अन्य मुलुकमा पनि उक्त कार्यक्रम सञ्चालन भइरहेको तथा तीमध्ये प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय, लण्डन विश्वविद्यालय र दिल्ली विश्वविद्यालयमा अध्यापन भइरहेको जानकारी दिइन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था, उद्योग–व्यवसाय तथा व्यापारिक निर्णयका लागि विश्लेषणात्मक क्षमतायुक्त जनशक्ति उत्पादनको लक्ष्यका साथ उक्त कार्यक्रम सुरु गरिएको उनले बताइन् । कूल ६६ क्रेडिटको दुईवर्ष अवधिको उक्त कार्यक्रम चार सेमेष्टरको हुने तथा अर्थशास्त्र, व्यवस्थापन, विज्ञान र इञ्जिनियरिङ सङ्कायमा स्नातक तहमा ५० प्रतिशत वा २ जिपीएसहित उत्तीर्ण विद्यार्थी भर्नाका लागि योग्य हुने विडारीले जानकारी दिनुभयो । उक्त कार्यक्रम पूरा गर्न पाँच लाख ५० हजार लाग्नेछ ।