विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि दाङको ३ विद्यालय बन्द
तुलसीपुर । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै राप्ती बाल एकाडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ‘ओमिक्रोन’ भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने उनको भनाइ छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ । पछिल्लो समय शिक्षक र विद्यार्थीमा सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उनले बताए । ‘विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ’, जनस्वास्थ्य निरीक्षक केसीले भने, ‘यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।” केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए । साथै दुईजना उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना देखिएको छ । प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंँलगायतका स्थानमा ‘टुर’ गएका रहेको निरीक्षक केसीले बताए । उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्राय: भेरोसिल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ । अहिलेसम्म तुलसीपुरमा ३९ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ११ मात्रै खोप नलगाएका हुन् । राप्ती बाल एकाडेमीका प्राचार्य ठाकुर डाँगीका अनुसार ती सङ्क्रमित भनिएका विद्यार्थी केही दिनदेखि विद्यालय नआएको जानकारी दिए । रासस
तोकिएकोभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गरिने
काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक-पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो । बुधबार मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकाकूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’ राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ । विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दला बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । चिकित्सा शिक्षाको एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ । मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरुले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिनै बञ्चित गराउँदै आएका छन् ।
पदाधिकारीका कारणले त्रिविको शैक्षिक गुणस्तर खस्केको आरोप
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन् । त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएसनको पुस २१ गते कीर्तिपुरमा भएको तेस्रो वार्षिक साधारणसभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाए । उनीहरुले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशोसिएसनले गर्नुपर्ने बताए। कार्यक्रममा एशोसिएसनका अध्यक्ष सुनीति हाडा, प्राध्यापक डा सुदर्शनराज तिवारी, प्रा डा रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए । त्रिविका पूर्वविद्यार्थीको सङ्गठनका रुपमा एशोसिएसन २०७४ सालमा स्थापना भएको थियो । रासस