जथाभावी मागिएकाे शुल्क विवादले इञ्जिनीयरिङ सङ्कायको परीक्षा अन्यौलमा
काठमाडौं । इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन् । परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि विद्यार्थीले आफूहरु सहभागी नभएका क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको विरोध गरेका छन् । कलेजमा धर्ना गरिरहेका विद्यार्थीले यी माग सम्बोधन नहुँदासम्म परीक्षा सञ्चालन गर्न नहुने बताउँदै आएका छन् । स्नातक तहको सबै वर्षको परीक्षा अर्काे महिनाको पहिलो साता गर्ने तयारी रहेको छ । चालू आवमा पनि गत वर्ष भौतिक कक्षा हुँदा जसरी नै शुल्क लिन खोजिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियू) का सचिवालय सदस्य इन्द्र पौडेलले बताए । उनका अनुसार कलेजमा कोभिडका कारण अतिरिक्त क्रियाकलाप नभए पनि त्यसको शुल्क लिइरहेका छन् । कलेजले औसतमा एक सेमेस्टरको एक लाखसम्म लिने गरेको उनले बताए । उनले भने, ‘कुनै एउटा शीर्षकको शुल्कमा छुटभन्दा पनि समग्रमा नै विद्यार्थीलाई राहत हुने गरी छुट हुनुपर्छ ।’ कोभिडका कारण अभिभावकको आम्दानी कम भएकाले पनि विद्यार्थीसँग बढी शुल्क लिन नहुने पौडेलले बताए । विद्यार्थीसँग बढी शुल्क लिए पनि अनलाइन कक्षा हुँदा कुनै पनि प्रयोगात्मक भएको छैन । इञ्जिनीयरिङ विषय भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीले केही सिक्न नसक्ने पौडेलले बताए । उनले भने, ‘अहिले इञ्जिनीयरिङका विद्यार्थी अरु सङ्कायमा पढे जस्तो भएको छ ।’ शुल्क विवाद चाँडो समाधान नभएमा स्नातक तहका सबै वर्षको परीक्षालाई असर गर्ने नेपाल विद्यार्थी सङ्घका नेता भुवन भट्टले बताए । कुनै पनि प्रयोगात्मक नहुँदा एकातिर विद्यार्थीले सिक्न सकेका छैनन् भने कलेजले प्रयोगात्मक क्रियालापहरुको शुल्क लिइरहेका छन् । कलेजले आधा शुल्क घटाउनुपर्ने उनले बताए । उनले भने, ‘अनलाइन कक्षा हुँदा कलेजको पनि लगानी कम भएकाले विद्यार्थीसँग पनि कम शुल्क लिनुपर्छ ।’ शुल्क छुट गर्नुपर्ने माग गर्दै विद्यार्थीले कुनै कलेजमा धर्ना गरिरहेका छन् भने कतै तालाबन्दी गरेका छन् । कुनै कलेजमा सबै विद्यार्थी सङ्गठनले संयुक्त रुपमा त कतै फरक फरक सङ्गठनले फरक कार्यक्रम गरिरहेका छन् । विद्यार्थीले आआफ्नो कलेज र संस्थानको कार्यालयमा आन्दोलन गरिरहेका हुन् । विद्यार्थीले केही साता पहिलेदेखि आन्दोलन गरिरहँदा पटकपटक इञ्जिनीयरिङ अध्ययन संस्थानलाई समन्वयका लागि अनुरोध गरिरहेको छन् । विद्यार्थीले संस्थानले समन्वयमा चासो नदिएको आरोप लगाएका छन् भने संस्थानले कलेजसँग वार्ता भइरहेकाले समाधान निस्कने अपेक्षा गरेको जनाएको छ । संस्थानले फारम भर्ने मिति आजसम्मका लागि तोकेको छ । विद्यार्थीले ११ गतेसम्म अतिरिक्त शुल्क तिरेर फारम भर्न पाउनेछन् । संस्थानले निजी कलेजलाई शुल्क घटाउन भनेको र कलेज पनि त्यसमा सहमत भएको संस्थानका डिन शशिधरराम जोशीले बताए । कलेजले चाँडो विवाद समाधान गरेर समयमा नै परीक्षा हुने वातावरण बनाउनुपर्ने उनले बताए । उनले भने, ‘केही विद्यार्थीको आन्दोलनका कारण १९ हजारलाई असर पुग्न दिनुहुँदैन ।’ त्रिभुवन विश्वविद्यालयका पाँच आङ्गिक कलेजमा शुल्क समस्या नभए पनि निजी कलेज खुलेदेखि नै शुल्कमा समस्या देखिन थालेको हो । विसं २०५० मा विश्वद्यिालयले निजी कलेजलाई सम्बन्धन दिन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही वर्ष पहिले ती कलेजहरुले अधिकतम कतिसम्म शुल्क लिन पाउँछन् भनी मापदण्ड बनाएको थियो । सरकारले निर्धारण गरेको मापदण्डभन्दा बढी शुल्क लिँदाबाहेक संस्थानले हस्तक्षेप गर्न नमिल्ने डिन जोशीले बताए । उनले भने, ‘शिक्षा मन्त्रालयले तोकेको आधारमा शुल्क लिँदा हामीले केही गर्न मिल्दैन ।’ रासस
खाँडाचक्र नगरपालिकाका विद्यालय सञ्चालनमा
मान्मा । खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले जानकारी दिए । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । ‘नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,’ उनले भने,’ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।’ यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र अन्यले तयारी गरेको जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख महेश देवकोटाले जानकारी दिए । ‘जिल्लाका सबै स्थानीय तहले कोभिड–१९ को महामारी अवस्था हेरेर विद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिएका छौं,” उनले भने,’त्यही आधारमा विद्यालय सञ्चालनमा आउने छन् ।’ विद्यालयमा स्यानीटाइजर र मास्क अनिवार्य गरिएको छ । ‘विद्यार्थी अहिले गोठालो र मेलापातमा जाने क्रम बढेको छ,’ उनले भने, ‘विद्यालय सञ्चालनमा आएको भए विद्यार्थी स्कुल गएर केही ज्ञान त सिक्न पाउँथे ।’ रासस
भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन
फाइल फाेटाे काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराएका भौतिक उपस्थितिमा नै परीक्षा लिन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले खोपको व्यवस्था गरेर परीक्षा सञ्चालन गर्न विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयलाई निर्देशन दिईएको जानकारी दिईन । सो बैठकमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिमा स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भएको जनाएका थिए । तेस्रो लहरको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को स्थगित गर्ने निर्णय गरेको हो । गत साउन २३ गते बसेको बोर्डले सो निर्णय गरेको थियो ।