एसईई विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’: रिचार्जमा बोनस, दैनिक १५० एमबी डेटा

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् । यो योजना मंगलबार (भदौ १५) देखि संचालनमा आउँदै छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्छन् । यो योजना अन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सातदिन भित्र रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्जमा रु २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँछन् । त्यसैगरी रु ५० वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा ६ महिना सम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्छन् । यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कलगर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन् । विद्यार्थीहरुलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् । भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सक्छन् । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु १०० वा सो भन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउँनेछ । विद्यार्थीहरुले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ । एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउँन पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विभिन्न सेवाहरु बन्डल गरिएको यो पहिलो सिम योजनाले विद्यार्थीहरुलाई साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन र मोबाइल इन्टरनेटको माध्यमबाट विश्वसँग जोडिन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीले परीक्षाको माध्यम आफै रोज्न पाउने

काठमाडाैं । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो । सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको गुगल फारम भरी कुन माध्यमबाट जाँच दिने हो खुलाउनुपर्नेछ । विद्यार्थीको आवेदनबमोजिम परीक्षालाई व्यवस्थित, मर्यादित र आधारभूत मापदण्डअनुसार सञ्चालनका लागि समयतालिका अविलम्ब सार्वजनिक गर्ने सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता टोलीका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काले पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई दशैँ बिदाअगावै सम्पन्न गर्ने गरी तयारी थाल्ने बताए । विश्वविद्यालयले विद्यार्थीबाट लिने विभिन्न शीर्षकका शुल्क हेरफेर गर्न कार्यदल गठन गरी पुनःनिर्धारण गर्ने, तोकिएको समयमा दीक्षान्त समारोह, सभा, बैठक सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठाएको परिपत्रअनुसार कोभिड–१९ को अवधिभरको शिक्षण शुल्क मिनाहा गर्ने, भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको साधारणतर्फ १७ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, हाल वितरण गर्न बाँकी रहेका विद्यार्थीलाई आगामी मङ्सिर मसान्तभित्र वितरण गरिसक्ने सहमति भएको छ । त्यस्तै पुस्तकालय, ई–पुस्तकालय, प्रयोगशाला, भौतिक संरचना निर्माण तथा स्तरोन्नति एवं सञ्चालनका लागि आर्थिक वर्ष २०७८/७९ को बजेटमा व्यवस्था गरी कार्यान्वयन गर्नेलगायत सात बुँदे सहमति भएको छ । सहमतिपत्रमा विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक प्रा डा लीलाधर तिवारी, प्रा डा चन्द्रप्रसाद रिजाल, सहप्राध्यापक वीरबहादुर पौडेल, उपप्राध्यापक विष्णुकुमार खड्का र आन्दोलनरत विद्यार्थी सङ्गठनका तर्फबाट नेपाल विद्यार्थी सङ्घका झक्कबहादुर शाही, अखिल (क्रान्तिकारी) का मोतीराम रम्तेल, अनेरास्ववियुका भरत शाही र अखिल (छैटौँ) का हरि बुढाले हस्ताक्षर गर्नुभएको छ । विभिन्न १९ बुँदे माग राखी विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसहरुमा क्रियाशील विद्यार्थी सङ्गठनहरु ४५ दिनदेखि आन्दोलनमा थिए । रासस

एआईटिम कलेजमा बेलायतकाे बर्मिङहम सिकाेको पढाई सुरु

काठमाडाैं । नेपाली विद्यार्थीहरुले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन । एशिएन इन्स्टिटयूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआईटिम) कलेजले बर्मिङहम सिटी युनिभर्सिटीको कार्यक्रमहरु समावेश गरेर पठनपाठन सुरु गरेसँगै नेपाली विद्यार्थीहरुलाई सो अवसर प्राप्त भएको हो । ललितपुरस्थित अन्तराष्ट्रिय स्तरको सो कलेजले बेलायतस्थित बर्मिङहम सिटी कलेजको कार्यक्रमहरुपनि समावेश गरेर पठनपाठनलाई अघि बढाएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिट्टले संयुक्त रुपमा सो कार्यक्रम उद्घाटन गर्दै बाह्य मुलुकमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा नेपालले पनि सो कलेजमार्फत् उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गरे । कलेजले नेपालमै पहिलो पटक बर्मिङहम सिटी युनिभर्सिटीसँग साझेदारी गर्न सफल भएको दावी गर्दै गौरवको महशुस भएको जनाएको छ । कलेजका सिईयो डा. रोशन राठीले कलेजले सधैं उच्च गुणस्तरको अन्तराष्ट्रिय शिक्षा प्रदान गरेको र आगामी दिनमा पनि बर्मिङहम सिटी युनिभर्सिटीमार्फत् नेपाल बाहिरबाट पनि विद्यार्थीहरुलाई आकर्षित गर्न सकिने विश्वास समेत व्यक्त गरे । खुमलटार हाईटमा रहेको यो कलेजको स्थापना सन् २०१२ साल जुन २० मा भएको थियो । १६ रोपनी जग्गामा फैलिएको यो कलेजको भौतिक पूर्वाधार उत्कृष्ट रहेको दावी गरिएको छ । कलेजले अन्तराष्ट्रिय स्तरको व्यवस्थापन संकायको स्नातक पाठ्यक्रमहरुको अध्यापन गराउँदै आएको छ ।