एसईईको नतिजा सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने, ‘यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतिजालाई नै बोर्डले प्रमाणीकरण गरेको छ ।’ विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । कोरोना भाइरस सङ्क्रमण बढेपछि यस वर्ष विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आइभीआरमार्फत प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको, १६००, अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने व्यवस्था गरेको छ । विद्यार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि एसईईको नतिजा थाहा पाउने व्यवस्था गरेको छ । नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनःपरीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।बोर्डले यही साउन ३१ गतेदेखि हुने भनिएकाे कक्षा १२ काे स्थगित गर्ने निर्णय गरेको हाे । संक्रमण बढेकाे भन्दै धेरैले परीक्षा स्थगित गर्न माग गरेका थिए । यस्तै शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका थिए । बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।
मेलम्ची नगरपालिकाका सम्पूर्ण शिक्षकलाई ल्यापटप वितरण
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । विनियोजित रकमबाट प्रति शिक्षकलाई ७० प्रतिशत र शिक्षकको तर्फबाट ३० प्रतिशत बेहोर्ने गरी १५ शिक्षकलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक जनक अधिकारीले जानकारी दिए । शुक्रबार एक कार्यक्रमबीच ९ नम्बर वडाका वडाध्यक्ष कमलबहादुर खड्काले शिक्षकलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् । प्रत्येक कक्षाकोठामा श्रव्य दृश्य माध्यमको प्रयोग गरी सबै शिक्षकलाई सोको तयारीका लागि आवश्यक प्रशिक्षण दिई आगामी एक वर्षभित्र प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गरिने प्रधानाध्यापक अधिकारीले बताए । रासस