अब त्रिविमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाई हुने, एक लाख ७३ हजार खर्च लाग्ने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन शुरु गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा योगेश रञ्जितले जानकारी दिए । दुई वर्षे यो विषय पढ्नका लागि एक लाख ७३ हजार लाग्ने जनाइएको छ । विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै शंकाय डिन डा. कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपाल सरकारका विभिन्न निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनिकरण गर्ने योजना रहेको बताउनुभएका सामाजिक अभियन्ता भरत जङ्गमले पाँच दशक पछि आफ्नो सपना साकार भएकामा खुशी व्यक्त गरे । भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उनको जिकिर थियो । अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगरीको अवसर मिल्ने विश्वास व्यक्त गरे ।

नेपाल इन्जिनियरिङ कलेज र स्थानीय सडक पुल इकाईले मिलेर पाठ्यक्रम बनाउने

ललितपुर । नेपाल इन्जिनियरिङ कलेज र स्थानीय सडक पुल इकाईबीच पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देष्यले सम्झाैतापत्रमा हस्ताक्षर भएको छ । नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सय भन्दा बढि पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था स्थानीय सडक पुल इकाई र कलेजबीच बिहिबार सम्झाैतापत्रमा हस्ताक्षर भएको हाे । उक्त समझदारीपत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्राडा. हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका थिए । उक्त सम्झाैता अनुसार दुई संस्थाले मिलेर नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरी चुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गर्नेछन जुन स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई पढाइने छ । साथै विद्यार्थीहरूले सोहि विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधान रहेकाे कलेजले जानकारी दिएकाे छ । डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुलहरू भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयन पश्चात पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियरहरू उत्पादन हुने अपेक्षा गरिएको इन्जिनियर मानन्धरले बताएका छन्  ।

कक्षा १२ काे परीक्षा जनस्वास्थ्यका मापदण्ड लागू गरेर सञ्चालन गर्न निर्देशन

काठमाडाैं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिइन् । ‘परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्यमा मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्दछ’, उनले भनिन्, ‘सङ्क्रमितलाई छुट्टै कक्षा कोठा व्यवस्था गरिनुपर्दछ ।’ राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्दैछन् । चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिँदैछन् । समिति सदस्य गिरिराजमणि पोखरेलले भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यालयले आफैँ आन्तरिक मूल्याङ्कन गरेर पठाउने क्रममा अनियमितता गरेकाले कार्यविधि परिवर्तन गरिनुपर्नेमा सुझाव दिए । सदस्य विद्या भट्टराईले विद्यार्थीलाई भीडभाड नगरीकन परीक्षा दिनपाउने वातावरण बनाउनुपर्ने आवश्यकता औल्याइन् । उनले परीक्षा केन्द्रित पढाइ भएकाले पठनपाठन शैलीमा परिवर्तन गर्नुपर्ने धारणा पनि व्यक्त गरिन् । सदस्य मानबहादुर विकले एकै दिन एउटा मात्र परीक्षा गर्ने गरी तालिका बनाउन आग्रह गरे । अर्का सदस्य मनकुमारी जिसी, अन्जना विशङ्खेलगायतले पनि विद्यार्थीलाई सङ्क्रमणबाट बचाउन सकिने गरी परीक्षा सञ्चालन गर्न सुझाव दिए । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिले दिएको सुझावअनुसार परीक्षा सञ्चालन गरिने बताए । उनले ‘भर्चुअल’ विधिबाट पढाइ भए पनि दुर्गम क्षेत्रमा इन्टरनेटको समस्याका कारण प्रभावकारी हुन नसकेको बताए । सङ्क्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन छुटृै होमसेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका सङ्क्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने जानकारी दिए । ‘सङ्क्रमित भएर पनि परीक्षामा सहभागी हुनसक्ने परीक्षार्थीलाई अलग्गै कक्षा कोठाको व्यवस्था गरेका छाै्ँ’, उनले भने, ‘ती विद्यार्थी परीक्षा शुरु भएको आधा घण्टापछि परीक्षा केन्द्रमा प्रवेश गर्नेछन् । अन्य विद्यार्थीको सकिएको आधा घण्टाको समयसम्म परीक्षा दिन पाउनेछन् ।’ बोर्डले २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयको परीक्षा केन्द्र दुईवटा हुने जनाएको छ । सदस्यसचिव अर्यालका अनुसार करीब चार लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछ । पच्चिस विद्यार्थी भएका विद्यालय एक हजार १००, २६ देखि ५० परीक्षार्थी भएका विद्यालय दुई हजार ३००, ५१ देखि १०० सम्म परीक्षार्थी भएका विद्यालय दुई हजार ४०० छन् भने ५०० परीक्षार्थी भएका विद्यालय कमै मात्र छन् । प्रश्नपत्र अनलाइन र हातेप्रश्नपत्र परीक्षा बोर्डले परीक्षाका लागि अनलाइनबाट पनि प्रश्नपत्र पठाउने भएको छ । नब्बे प्रतिशत विद्यालयमा अनलाइनबाट र अन्य विद्यालयमा हाते प्रश्नपत्र पठाइने भएको छ । हाते प्रश्नपत्र र अनलाइनबाट पठाइएका प्रश्नपत्र भने फरक–फरक हुनेछन् । गत वर्ष ४० पूर्णाङ्कको मात्र परीक्षा भएकामा यसपटक १०० पूर्णाङ्कको परीक्षा हुने भएको छ । रासस