बैतडीमा खुले विद्यालय
बैतडी । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । नगर क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुन: सञ्चालनमा ल्याइएको शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । उनले भने, ‘हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं ।’ कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको नगरपालिकाले जनाएको छ । मेलौली ४६ सामुदायिक विद्यालय छन् । अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेका शिक्षा विकास तथा समन्वय समितिका प्रमुख नरेन्द्र अवस्थीले बताए । उनले भने, ‘संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोही अनुसार तयारी गरिरहेका हुन् ।’
मध्यपश्चिम विश्वविद्यालयको परीक्षा अनिश्चित
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ । विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका परीक्षाका कार्यक्रम पुनः एक साता सारिएको छ । मध्यपश्चिम विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले आज सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाका कार्यक्रम असामान्य परिस्थितिका कारण पुनःएक साताका लागि स्थगित गरिएको जनाएको छ । परीक्षा व्यवस्थापन कार्यालयले साउन १२ गतेदेखि सञ्चालन गर्ने गरी विज्ञान तथा प्रविधि सङ्कायको स्नातक र स्नातकोत्तर तहको सत्रान्त परीक्षाको समयतालिका सार्वजनिक गरेको थियो । विश्वविद्यालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत विद्यार्थी सङ्गठनबीच भइरहेको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । केन्द्रीय क्याम्पसमा विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै तालाबन्दी गरेका छन् । अनलाइन माध्यमबाट पढाइ भएपछि परीक्षा पनि अनलाइन माध्यमबाटै लिनुपर्ने विद्यार्थीको मुख्य माग छ । विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने तयारी गरेपछि विद्यार्थीले असहमति जनाएका हुन् । विश्वविद्यालय प्रशासन आफ्ना मागप्रति गम्भीर नभएको भन्दै आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंह निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरेका थिए । त्यस्तै, प्राध्यापकहरूले इञ्जिनीयरिङ क्याम्पस र एल स्कूलका उपप्राध्यापक बर्खास्त ऐन-नियम विपरीत भएको भन्दै उक्त निर्णय सच्याउनुपर्नेलगायत माग राखेका छन् । विश्वविद्यालयले परीक्षा समयअगावै विद्यार्थीलाई प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा कानून सङ्कायका उपप्राध्यापक सुजन पन्त र आफूखुशी नम्बर दिएको भन्दै इञ्जिनीयरिङ सङ्कायका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको थियो ।
शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी नियुक्त, सदस्यमा रिमाल र महर्जन
काठमाडाैं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेकाे हाे । काठमाडौं महानगरपालिका वडा नम्बर १० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सदस्यहरूमा काठमाडौं कलंकीका डिल्लीराम रिमाल र काठमाडौं महानगरपालिका ९ कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त भएको उनले जानकारी दिए।