शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
सप्तरी । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् । राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ । त्यस्तै जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको जनाइएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले एक सूचना जारी गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुनाले बिदा दिइएको उल्लेख छ । त्यसैगरी अग्निसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनका लागि बिदा दिएको जारी सूचनामा उल्लेख छ । यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले पालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइसकेको छ । ती दुवै पालिकाले पुस १८ गते शुक्रबारसम्म पाँच दिनको बिदा दिएको छ । साथै बोदेवरसाइन नगरपालिकाले पनि जाडो बिदा दिएर त्यहाँका सबै बिद्यालय बन्द गराइएको थियो । बढ्दो चिसोलाई कारण देखाउँदै पुस ९ देखि १३ गतेसम्म्म विद्यालय बन्द गरेको थियो । सप्तरीमा शीतलहरले जनजीवन प्रभावित बन्दै गएको छ । बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपायासमेत प्रभावित भएका छन् । अहिले चिसोका कारण विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ । खासगरी रुघाखोकी, ज्वरो तथा दमका बिरामी यहाँ उपचारका लागि आउने गरेका अस्पताल प्रशासनले जनाएको छ । जिल्लाको अन्य स्वास्थ्यचौकीमा बिरामीको चाप बढेको छ । रासस
टेलिकमले विद्यार्थीका लागि एनटी फाइबर अफर सुरू गर्यो, माघ २२ सम्म आवेदन खुला
काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ उपलब्ध गराइरहेको छ । यो अफर आगामी माघ २२ गतेसम्म आवेदन गर्न सकिनेछ र विशेष गरी विद्यार्थीहरूका लागि मात्र मान्य छ । एनटी फाइबर विद्यार्थी अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन् । यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र रहेको छ । प्रतिदिन २५ जीबी डाटा उपलब्ध हुनेछ र यसको सीमाभन्दा बढी डाटा प्रयोग भएमा स्पिड ५ एमबीपीएस हुने व्यवस्था गरिएको छ । जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने प्रत्येक विद्यार्थीले ड्युअल ब्यान्ड सीपीई र १०० मिटरसम्म ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । अफर लिनका लागि विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिनुपर्नेछ । यसका लागि जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नुपर्छ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि आवश्यक छ । यो अफरको समयावधि सकिएपछि पुनः नवीकरण गर्न मिल्ने छैन । सेवा निरन्तरता चाहने विद्यार्थीले साविकका प्याकेजहरूबाट विकल्प छनोट गर्नु पर्नेछ वा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ । प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफर विद्यार्थीहरूका लागि उपयोगी रहेको छ र समयमै आवेदन दिन सबै विद्यार्थीहरूलाई आग्रह गरिएको छ ।
कामना सेवा विकास बैंकद्वारा रामकोश फूलबारी माविका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरौटा मार्फत श्री रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पोखरेललाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले पुतलीबजार नगरपालिका–४, रामकोश स्याङ्जामा रहेका विपन्न विद्यार्थीहरूलाई गरिएको सहयोगले उनीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले विद्यालयमा वितरण गरिएको पोशाक तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँग हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, रामकोश फूलबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । यससँगै बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।