युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा ‘एसिया–प्रशान्त इन्टरनेट सुशासन एकेडेमी (एपिगा) नेपाल–२०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पुस १२ र १३ गते काठमाडौंमा आयोजित दुईदिने क्षमता विकास कार्यशालामार्फत इन्टरनेट सुशासन, आईक्यान नीति तथा बहु–साझेदारी मोडेलका विषयमा स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा पेशेवरहरूलाई लक्षित गरी व्यावहारिक र नीतिगत ज्ञान प्रदान गरिएको हो । आईक्यान (इन्टरनेट कर्पोरेसन फर एसाइन्ड नेम्स एन्ड नम्बर) र कोरिया इन्टरनेट तथा सुरक्षा एजेन्सीको सहकार्यमा विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको एपिगा कार्यक्रमको स्थानीय संस्करणका रूपमा नेपालमा यो कार्यक्रम दोस्रो पटक आयोजना गरिएको हो । कार्यशालाका क्रममा सेमिनार, गोलमेच छलफल, अभ्यासात्मक सिमुलेसन खेल तथा ‘मक आईक्यान सम्मेलन’ जस्ता अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी, उपाध्यक्ष तथा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) का प्रमुख कार्यकारी अधिकृत सुभाष खड्का, महासचिव चन्द्रविलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह तथा आईक्यानका प्रतिनिधि यश अग्रवालको सहभागिता रहेको थियो । सो अवसरमा यश अग्रवालले आईक्यानको भूमिका, संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत प्रस्तुति दिएका थिए । एपिगा नेपाल–२०२५ कार्यक्रम टिम लिड विवेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालको नेतृत्वमा सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले डोमेन नेम प्रणाली (डीएनएस) सञ्चालन, आईक्यान तथा इन्टरनेट सुशासन मञ्च (आईजीएफ) प्रक्रिया, क्षेत्रीय एसिया–प्रशान्त इन्टरनेट सुशासन मञ्च (एप्रिगिफ), नीतिगत बहस अभ्यास, नेतृत्व विकास, फेलोसिप तथा अन्तर्राष्ट्रिय अवसरका विषयमा व्यावहारिक ज्ञान आर्जन गरेका छन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय इन्टरनेट सुशासन मञ्च सचिवालयकी अन्जा गेन्गो, एप्रिगिफ तथा एप्रालो अध्यक्ष अमृता चौधरी, सफ्टवेरिका कलेज अफ सूचना प्रविधिका क्याम्पस प्रमुख प्रमोद पौडेल तथा एपनिक नीति विशेष समूहका अध्यक्ष विक्रम श्रेष्ठलगायत वक्ताहरूले प्रस्तुति दिएका थिए । एपिगा नेपाल–२०२५ कार्यक्रमले इन्टरनेट नीतिनिर्माण प्रक्रियामा युवाको सार्थक सहभागिता अभिवृद्धि गर्दै खुला, समावेशी र दिगो इन्टरनेट निर्माणमा योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

सामसङ इनोभेसन क्याम्पस नेपालको ‘एआई र बिग डेटा’ तालिम सम्पन्न

काठमाडौं । सामसङ इनोभेसन क्याम्पस नेपालले नेपाली विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको ‘एआई तथा बिग डेटा’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ । गत जुन २७ देखि ६ महिनासम्म सञ्चालन भएको उक्त तालिमको समापनसँगै कम्पनीले सोमबार नयाँ ‘कोडिङ तथा प्रोग्रामिङ’ ब्याच सुरु गरेको जानकारी दिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा तालिममा सहभागी ६० विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो । तालिममार्फत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान र अत्याधुनिक प्रविधिमा प्रत्यक्ष अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सम्बोधन गर्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले भने, 'युवाहरूलाई भविष्यमुखी सीपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो । सामसङ इनोभेसन क्याम्पसमार्फत हामी नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न युवाहरूलाई सशक्त बनाउन प्रतिबद्ध छौँ ।' प्रमाणपत्र वितरण समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसी, इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन डा. सुशील बी. बज्राचार्य, पुल्चोक क्याम्पसका प्रमुख डा. सञ्जय उप्रेती लगायत उपस्थित थिए । सामसङले सन् २०२२ देखि आफ्नो विश्वव्यापी दृष्टिकोण अन्तर्गत युवालाई भविष्य सुहाउँदो सीप प्रदान गर्दै आएको छ । यसअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरी नेपालमा विभिन्न पाठ्यक्रममा आधारित तालिम आयोजना गरिएको छ । तालिमका क्रममा विद्यार्थीहरूले एआई, बिग डेटा, इन्टरनेट अफ थिङ्स, कोडिङजस्ता प्रविधि प्रयोग गरी वास्तविक जीवनका चुनौती समाधान गर्ने परियोजनामा काम गरेका थिए । नयाँ सुरु भएको कोडिङ तथा प्रोग्रामिङ पाठ्यक्रममा सहभागी हुनका लागि एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङको आधारभूत ज्ञान आवश्यक पर्ने बताइएको छ । पाठ्यक्रम व्यवहारिक सीपमा केन्द्रित रहेको र विद्यार्थीलाई सिकेका सीप प्रयोग गरी समस्या समाधान गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ । सामसङ इनोभेसन क्याम्पस नेपालका कार्यक्रममा सहभागी हुन पुल्चोक इन्जिनियरिङ क्याम्पसमा, कम्प्युटर विज्ञान लगायतका विद्यार्थीहरूले आवेदन दिन सक्छन् । त्यसपछि क्याम्पसले विद्यार्थी छनोट गर्छ । छनोट हुने विद्यार्थीलाई सामसङले तयार पारेको पाठ्यक्रममा आधारित तालिम प्रदान गर्ने छ । ६ महिनामा कुल ३५० घण्टाको कोर्स विद्यार्थीहरूले लिने गर्छन् ।

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

सप्तरी । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् । राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ । त्यस्तै जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको जनाइएको छ । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले एक सूचना जारी गर्दै चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुनाले बिदा दिइएको उल्लेख छ । त्यसैगरी अग्निसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा तीन दिनका लागि बिदा दिएको जारी सूचनामा उल्लेख छ । यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र राजगढ गाउँपालिकाले पालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइसकेको छ । ती दुवै पालिकाले पुस १८ गते शुक्रबारसम्म पाँच दिनको बिदा दिएको छ । साथै बोदेवरसाइन नगरपालिकाले पनि जाडो बिदा दिएर त्यहाँका सबै बिद्यालय बन्द गराइएको थियो । बढ्दो चिसोलाई कारण देखाउँदै पुस ९ देखि १३ गतेसम्म्म विद्यालय बन्द गरेको थियो । सप्तरीमा शीतलहरले जनजीवन प्रभावित बन्दै गएको छ । बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपायासमेत प्रभावित भएका छन् । अहिले चिसोका कारण विभिन्न अस्पतालमा बिरामीको चाप बढेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ । खासगरी रुघाखोकी, ज्वरो तथा दमका बिरामी यहाँ उपचारका लागि आउने गरेका अस्पताल प्रशासनले जनाएको छ । जिल्लाको अन्य स्वास्थ्यचौकीमा बिरामीको चाप बढेको छ । रासस