बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

काठमाडाैं । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन् । बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट अध्ययन गरिरहेका छन् । सडक विस्तार भइरहेका क्षेत्रमा बिना सूचना दैनिकजसो बत्ती जाँदा गोकर्णेश्वर क्षेत्रका विद्यार्थीको कक्षा प्रभावित भएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जोरपाटीबाट सुन्दरीजल सडक विस्तार गरिरहेको छ । विस्तारका क्रममा विद्युत्का पोल सार्नेलगायत कारणले बिना सूचना दैनिकजसो बत्ती जाँदा पढाइमा प्रभाव परेको गोकर्णेश्वर नगरपालिका–४ का अभिभावक कृष्णमान श्रेष्ठले गुनासो गरे । नगरपालिकाले तीन पटकसम्म विद्यार्थीलाई भौतिकरूपमा विद्यालयमै बोलाएर कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको जोखिमका कारण सबै विद्यालयले कार्यान्वयन गर्न सकेका छैनन् । केही विद्यालयले कक्षा ६ भन्दामाथिका विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा बढाएर दूरी कायम गरी अध्यापन गराएका छन् । साना विद्यार्थीलाई भने जुमका माध्यमबाट नै अध्ययन अध्यापन गराइएको छ । घरमै बसेर जुमबाट पढिरहेका विद्यार्थी बिना सूचना बत्ती जाँदा बीचमै कक्षा छोड्न बाध्य भएको वल्र्ड युथ इन्टरनेशन स्कूल कक्षा ५ मा अध्ययनरत विदिशा ढुङ्गानाको दुःखेसो छ । गोकर्ण नोलाइटका कर्मचारी भने धेरैजसो बत्ती जाने गरेको स्वीकार्छन् । नेपाल विद्युत् प्राधिकरण पुरानो बानेश्वर वितरण केन्द्रको ठेक्कामा राजधानीको उत्तरपूर्वी भेगका पोल सार्ने काम भइरहेको छ । केन्द्र प्रमुख बाबुराम सुवेदी जोरपाटीबाट सुन्दरीजल सडक किनारका पोल सार्ने काम भइरहेकाले बत्ती निभाउन बाध्य हुनुपरेको बताउँछन् । बत्ती निभाउँदा सधैँ सूचना दिन नसके पनि धेरै विद्यार्थीले जुम प्रविधिबाट नै अध्ययन गरिरहेका छन् भन्ने विषयलाई ध्यान दिइएको उनको भनाइ छ । रासस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला खुल्यो, सम्पर्क कार्यालय खारेज गरिने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो । प्रतिष्ठानमा दुई जना डीन नियुक्ति गरिसकेका उपकुलपति प्रा डा वाग्लेले कार्यकारी परिषद्को बैठकको निर्णयबिना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति फिर्ता लिनुपर्ने माग राखेको थियो । तालाबन्दी खोल्न उपकुलपतिले सम्पर्क कार्यालय काठमाडौँबाट प्रतिनिधिमण्डल खटाएर पटकपटक वार्ता गर्न निर्देशन दिए पनि तालाबन्दी खुल्न सकेको थिएन । पछि आफैँ केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्ता बस्न नसक्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो । मङ्गलबार मात्र प्रतिष्ठान कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोलीले माग गरिएका तीन वटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए । सहमति भएअनुसार हाल नियुक्त भएका डीन र अन्य डीनको सम्बन्धमा तीन सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ । त्यसैगरी प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एक जना डीन प्रमुख रहने र अन्य सङ्कायका डीन सहायक डीन रहने र प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारी बाहिर काम गर्न र दोहोरो सुविधा भोग गर्न नपाउने गरी सहमति भएको समाजका अध्यक्ष उपाध्यायले बताए । यता ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार सम्पूर्ण पदाधिकारी विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालयमा बस्ने सहमति भएको छ । यसका साथै समाजले राखेका छवटै मागका सम्बन्धमा कार्यकारी परिषद्बाट हुबहु पारित गर्ने सहमति भएको प्रतिष्ठानले जनाएको छ । रासस

शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र, मुस्किलले १५ दिन मात्र विद्यार्थी हाजिर

मनाङ । हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । गत चैतमा शैक्षिक सत्र शुरु हुनासाथ कोरोना महामारीका कारण जिल्लाका सबै विद्यालय ठप्प भए । यो शैक्षिक सत्रमा मुस्किलले १५ दिन मात्र विद्यार्थी विद्यालयमा हाजिर भएका थिए । जिल्लाभरका २८ विद्यालयमा जम्मा ६०२ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । “दुर्गम क्षेत्रमा पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ, तर बाध्यता र विवशताका बीच सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ”, नार्पाभूमि गाउँपालिकास्थित फू आधारभूत विद्यालयका प्रधानाध्यापक मुखीय विक भन्नुहुन्छ । नार्पाभूमि गाउँपालिकामा दुई आधारभूत विद्यालय छन् । यहाँ खाद्यान्नलगायत विकास निर्माणका सामग्री मानिस र खच्चडमार्फत ओसारपसार गर्नुपर्छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा नौवटा विद्यालय छन् । अघिल्लो वर्षको मङ्सिर मसान्तदेखि विद्यालय पूर्णरूपमा पठनपाठन हुनसकेको छैन । “गत मङ्सिर अन्तिम साता अन्तिम परीक्षा सकेर जाडो बिदामा रहेका विद्यार्थी नयाँ शैक्षिक सत्र शुरु हुन नपाउँदै कोरोना महामारीले विद्यालय बन्द भयो”, तिलिचो आधारभूत विद्यालयका प्रधानाध्यापक यमप्रसाद तिमल्सिनाले भने । उनका अनुसार माथिल्लो भेगमा चैतदेखि शैक्षिक सत्र शुरु हुने र मङ्सिर मसान्तमा अन्त हुने गर्छ । “शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियन शुरु हुँदै थियो तर कोरोना महामरीले शुरु हुनै पाएन”, उनले भने, “अहिले कोभिड–१९ का कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचालित गरी सामान्य पढाउने काम भएको छ, अब शैक्षिक सत्र सकिने समय भइसकेको छ, केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर निस्कनै मुस्किल हुन्छ ।” केही सङ्घसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र सङ्घसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो मनाङका विद्यालय सञ्चालनमा छन् । आवश्यक सामग्री चामेबाट खच्चडमार्फत ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर यहीँ बस्न बाध्य छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक तिमल्सिनाले बताए । जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको छ । अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले ‘विद्यालय खोल’ भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो । हिमाली जिल्ला मनाङको यसपटकको शैक्षिक सत्र किताब नै नखोली सकिएको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्द घिमिरेको भनाइ छ । अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षक आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको विद्यालयले बताउँदै आएका छन् । कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस हुने गरेको घटनाले घिमिरेलाई झस्काउने गर्दछ । नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षकले सास्ती खेप्नुपर्ने भएको उनको भनाइ छ । उपल्लो मनाङको मौसमसँग पौँठेजोरी खेल्दै सो अनूकुल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उनको भनाइ छ । भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती शिक्षकहरुलाई छ । आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने र जाडो मौसममा यातायातसमेत चल्न नसक्ने हुँदा बाहिरबाट यहाँ आएर पढाउने शिक्षकले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ । यस शैक्षिक सत्रमा विद्यार्थीको सङ्ख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ मनाङले जनाएको छ । यो वर्ष अब हिमपात शुरु हुने भएकाले प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ । “प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु ?”, स्थानीयवासीको प्रश्न छ । फागुन, चैतदेखि शैक्षिक सत्र शुरु हुने हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुने गर्दथे । पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो । विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै झण्डै १२ महिना बितेको छ । हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको अन्नपूर्ण माविका प्रधानाध्यापक घिमिरेले बताए । फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ । दशैँतिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ । यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन । रासस