हुम्लाकाे खार्पुनाथमा पठनपाठन शुरु
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि सञ्चालनमा आएका हुन् । उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ । जिल्लाका अन्य छ वटा गाउँपालिकामा रहेका विद्यालयहरु कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन शुरु गरिएको हो । एघार महिनादेखि विद्यालय जान नपाएका विद्यार्थी खुसी भए पनि नपढेर नै वार्षिक परीक्षा हुने भएपछि चिन्तित भएका छन् । जिल्लाभरका विद्यालयहरु एक महिना पढाइ गरेर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर शैक्षिक सत्र बन्द गर्ने तयारीमा छन् । चिसोका कारण मीनपचासका लागि बिदा हुने भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर तीन महिना विद्यालय बन्द गरी फागुनमा नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारी भइरहेको छ । रासस
पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन हुन्छः मन्त्री भट्टराई
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर्नुहुँदै उनले भने, “पर्यटनका हिसाबले नेपाल अथाह सम्भावना भएको मुलुक भएकाले यहाँको पर्यटन प्रवद्र्धन र विकासका लागि पर्यटन र पर्वतारोहण सम्बन्धि शिक्षा आजको अवश्यकता हो ।” मन्त्री भट्टराईले हिमालै हिमाल भएको देश नेपालमा हिमाल आरोहणका लागि वर्षेनी हजारौंको सङ्ख्यामा विदेशी पर्यटक आउने र स्वदेशी पर्यटकले समेत हिमाल चढ्ने भएकाले यसमा चासो राख्नेका लागि मुलुकका विभिन्न स्थानमा ती विषयको पठनपाठन सञ्चालन गर्न जरुरी देखिएको बताउँदै मुलुकका केही विद्यालयले यस विषयको अध्यापन शुरु गरिसकेको जानकारी दिए । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नारायणी माध्यमिक विद्यालयबीच कक्षा ११ र १२ मा यो विषयको अध्यापनका लागि शनिबार मात्रै सम्झौता भएको बताइएको छ । स्थानीयस्तरमा नै पर्यटन विषयको पढाइ शुरु हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
कोरोनाको महामारीको समयमा काठमाडौं विश्वविद्यालयले शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति
काठमाडाैं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाएका हुन् । “विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्”, उनले भने । नेविसङ्घले शुल्क उठाउने निर्णयको खारेजको माग गर्दै रिले अनशन बसेका काठमाडौँ विश्वविद्यालयका विद्यार्थीको समर्थनसमेत गरेको छ । कोभिड–१९ को प्रतिकूल अवस्थामा ढिलो गरेर रकम बुझाउने विद्यार्थीलाई विश्वविद्यालयले उल्टै चार्ज लगाउनु आपत्तिजनक भएको नेविसङ्घले जनाएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोभिड–१९ का कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई विश्वविद्यालयले विभिन्न वहानामा शुल्क उठाउने काम जायज नभएको बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले राखेका जायज माग तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । रासस