नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिष्पर्धा पाैष २५ मा हुने
काठमाडाैं । नेपाल इकोनोमिक्स ओलम्पियाड (एनईओ) दोस्रो राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२१ को कार्यतालिका सार्वजनिक गरेको छ । आयोजककाे अनुसार क्षेत्रीय प्रतियोगिता जनवरी पौष २५ गते हुन भएकाे छ । क्षेत्रीय र राष्ट्रिय गरी दुई चरणमा हुने प्रतिस्पर्धमा प्रथम चरण अर्थात् क्षेत्रीय छनोट कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाईन प्रविधिको प्रयोग गरेर सातै प्रदेशमा एकै पटक प्रतिस्पर्धा हुनेछ । सहभागी हुने विद्यार्थीहरुले आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट प्रतिस्पर्धमा सहभागी हुन पाउने व्यवस्था मिलाईने आयोजकले जानकारी दिएको छ । गत वर्ष क्षेत्रीय प्रतिस्पर्धामा ५० भन्दा बढी शैक्षिक संस्थाबाट करिब ३०० भन्दा बढी विद्यार्थी सहभागी भएकोमा यस वर्ष देशै भरिबाट गरी करिब २०० शैक्षिक संस्थाबाट १००० भन्दा बढी विद्यार्थी सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ । उक्त सहभागीहरुबाट ६० जना सहभागीहरु राष्ट्रिय प्रतिस्पर्धाको लागि छनोट हुनेछन् भने राष्ट्रिय प्रतिस्पर्धा बाट उत्कृष्ट ५ जनाले २०२१ को अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडमा सहभागी हुने मौका पाउने छन् । राष्ट्रिय प्रतिस्पर्धा पनि अनलाईन प्लेटफर्ममा २०२१ को मार्च १९ देखि २१ गते सम्म ३ दिन हुने संस्था कि सूचना प्रमुख सुप्रिया महर्जन सापकोटाले जानकारी दिए । यस प्रतिस्पर्धा हाईस्कूल वा सो सरहमा अर्थशास्त्र, वित्तिय र व्यवस्थापन अध्यनरता र यसमा रुचि राख्ने विद्यार्थीहरूका लागि नेपाल कै सबैभन्दा ठूलो प्रतिस्पर्धा भएको संस्थाका अध्यक्ष अर्जुन सापकोटाले बताए । सापकोटाका अनुसार नेपालबाट यस अघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सफल विद्यार्थीहरू हाल विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्यन गरिरहेका छन् । साथै अर्थशास्त्र, वित्त र व्यवसायको क्षेत्रमा असाधारण प्रतिभाशाली विद्यार्थीहरूको खोजि गर्दै र उनीहरूलाई उज्ज्वल भविष्य निर्माणको मार्गका लागि प्रोत्साहित, प्रेरित गर्ने उद्देश्य संस्थाको रहेको सापकोटाले बताए । युवा विद्यार्थीहरूको तार्किक बौद्धिक र आलोचनात्मक क्षमता वृद्धि गर्ने गरी यस संस्थाले प्रतिस्पर्धा गर्दै आहिरहेको उनी बताउँछन् । नेपालले २०१९ बाट अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडमा सहभागी हुदै आहिरहेको छ । २०१९ मा प्रथम पटक सहभागी भएर एक कांस्य पदक हात पारेको नेपालले २०२० मा २ ओटा कांस्य पदक हात परेको थियो । २०२० को जुलाईमा काजकिस्तानमा हुने तय गरिएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्ततस् विश्वव्यापी कोरोनना महामारीको कारण २०२० सेप्टेम्बरमा अनलाईन मार्फत सम्पन्न भएको थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वभरका राष्ट्रिय छनोटबाट छानिएका बिधार्थीहरु सहभागी हुदै आइरहेका छन् ।
गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द
गाेरखा । गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सङ्क्रमण हुन नदिन सबै निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए। “नगरपालिकाभित्र थप सावधानी अपनाउनुपर्ने देखिएकाले शिक्षण सिकाइ बन्द गर्नुपरेको हो”, उनले भने, “अन्य क्रियाकलाप गर्दासमेत अनिवार्य सुरक्षा मापदण्ड अपनाएर मात्र गर्नसमेत सबैलाई अनुरोध गरिन्छ ।” नगरपालिकाभित्र शुक्रबारसम्ममा शिक्षक तथा कर्मचारीसहित ६५ जना सक्रिय सङ्क्रमित रहेको बताइएको छ । ती सङ्क्रमितको सम्र्पकमा रहेकाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्थितिलाई सामान्य अवस्थामा ल्याउन नगरपालिकाभित्रका सबै विद्यालयमा सञ्चालित प्रत्यक्ष सिकाइ सहजीकरण पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए । उनले सङ्क्रमणको आशङ्का र कन्ट्रयाक्ट ट्रेसिङमा परी कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्ति रिपोर्ट प्राप्त नहुँदै समुदायस्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासोसमेत आएकाले स्वाब दिएकालाई अनिवार्य आइसोलेशनमा रहन पनि आग्रह गरे । रोगको सङ्क्रमण फैलन नदिन तथा सङ्क्रमणबाट अरुलाई जोगाउनका लागि स्वांब दिएका व्यक्ति अनिवार्य आइसोलेशन बसेर सहयोग गरिदिन नगरपालिकाले आग्रह समेत गरेको छ । त्यस्तै नगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर नस्किन र निस्कनै परे मास्क लगाउन,, व्यापार व्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानीलगायतका कार्य गर्दा अनिवार्य सुरक्षा मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गर्द सङ्क्रमण रोक्ने कार्यलाई सफल बनाउन पनि आह्वान गरेको छ । रासस
तीस वर्षमै विद्यावारिधि गरेका थापा भन्छन्- मात्र पढाइ सकियाे, व्यावहारिक ज्ञान लिन अझै बाँकी छ
बागलुङ । हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् । गलकोट नगरपालिका-७ मल्मका ३० वर्षीय रेशम थापाले भने पढाइलाई लिएर कहिल्यै पछाडि फर्कनुपरेन । सानैदेखि पढाइमा तेज थापाले सफलताका लागि जति मेहेनत र जाँगर चलाए, उसैगरी परिवारले आड र ढाडस दियो । वातावरण बनाइदियो । गाउँकै जनहित माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थापालाई उच्च शिक्षा अध्ययनको हुटहुटीले बुटवल, भारतको तामिलनाडु, अमेरिकाको नर्थ ड्याकोटा हुँदै मेरिल्याण्ड राज्यसम्म डोहोर्यायो । उनले जनहित माविपछि कक्षा ५ सम्म मल्मकै न्यूस्टेप इङ्लिस बोर्डिङ स्कूलमा पढेका थिए । द्वन्द्वको प्रभावले गाउँको बोर्डिङ बन्द भएपछि परिवारले जेठोबुबा चन्द्रबहादुरसँग बसेर पढ्न उनलाई बुटवल पठाए । सन् २००६ मा बुटवलको क्यानन इङ्गलिस बोर्डिङ स्कूलबाट प्रवेशिका परीक्षा दिएका थापाले बुटवलकै गोलोरियस क्लेजबाट कक्षा १२ को अध्ययन पूरा गरे । त्यसपछि उनले स्नातकमा कृषि विज्ञान पढ्नका लागि भारत सरकारबाट छात्रवृत्ति पाए । भारतको ‘तामिलनाडु कृषि विश्वविद्यालय’ मा कृषि विज्ञानमा स्नातक सकेर सन् २०१३ मा थापा नेपाल फर्किए । नेपाल आएपछि उनले कृषिमै स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने सोच बनाए सन् २०१४ मा थापा पढ्नकै लागि अमेरिका पुगे । दुई वर्षपछि ‘नर्थ ड्याकोटा स्टेट युनिभर्ससिटी’बाट माटो विज्ञानमा स्नातकोत्तर हासिल गरे । सन् २०१६ मै विद्यावारिधिका लागि उनले ‘युनिभर्ससिटी अफ म्यारील्याण्ड’मा बाली विज्ञान पढ्न थाले। चार वर्षसम्मको पढाइ र शोधपछि थापाले हालै सो युनिभर्ससिटीको डिपार्टमेन्ट अफ प्लान्ट्स साइन्स एण्ड ल्याण्डस्केप आर्किटेक्चरबाट विद्यावारिधिको उपाधि हासिल गरेका हुन् । आउँदो डिसेम्बर २२ मा उनी विश्वविद्यालयबाट दीक्षितसमेत हुँदै छन् । थापाले ‘मोडलिङ डिकम्जोजिसन एण्ड नाइट्रोजन रिलिज फ्रम सरफेस कभर क्रप रेसिड्यु इन नो-टिल सिस्टम इन द मिड एटलान्टिक एण्ड साउथइष्टर्न युएसए’ विषयमा शोध गरेका हुन्। छोप्ने बाली (कभर क्रप) ले कहिले र कति मात्रामा माटोमा नाइट्रोजन बढाउँछ भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको उनको भनाइ छ । वर्षको एक बाली मात्र खेती हुने ठाउँमा जमिन बाँझै नरहोस् र माटोको उर्बरा शक्ति ननासियोस् भनेर छोप्ने बाली लगाउने गरिन्छ । त्यस्तो बालीले माटोमा जैविक पदार्थ बढाउने गर्छ । विभिन्न बिरुवा मिसाएर छोप्ने बाली लगाइन्छ । अनुसन्धानले कृषि क्षेत्रको विकासमा नयाँ आयाम थप्ने थापाको विश्वास छ । विद्यावारिधिपछि पनि उनी विद्या वाचस्पति (पोस्ट डक) का लागि अनुसन्धानमा सक्रिय छन् । “विद्यावारिधि गर्छु भन्ने त यसअघि सोचेकै थिइनँ, पढ्दै जाँदा बाटो खुल्दै गयो”, उनले भने, “अहिले पढाइ मात्र सकिएको छ, व्यावहारिक ज्ञान लिन त बाँकी नै छ ।” थापाले नेपालमा कृषि विज्ञानको पढाइ हुन्छ भनेर भारत गएपछि मात्र थाहा पाएको उल्लेख गरे । बीचमा अरुथोक नसोची लगातार पढाइमा लागेकाले विद्यावारिधिको अध्ययन छिट्टै पूरा भएको थापाको भनाइ छ । “पछि कुनै परियोजना हुन्छ या अनुसन्धानमार्फत जन्मभूमि नेपालको कृषि क्षेत्रलाई योगदान गर्ने सोच छ”, थापाले सुनाए । पढाइमा निरन्तरको लगावले थापाले कम उमेरमै सफलता पाएको उनका दाजु दिनेशले बताए । “भाइ सानैदेखि पढाइमा अब्बल थियो, शुरुदेखि अहिलेसम्मै छात्रवृत्तिमा पढ्न पायो”, दिनेशले भने । भाइले आफूले आर्जेको ज्ञान, सीप र दक्षता देशका लागि खर्चने योजना सुनाउने गरेको दिनेशले बताए । थापाका बुबा हिराबहादुर शिक्षण पेशा र आमा थुमकली सामाजिक क्रियाकलापमा सक्रिय छन् । रासस