प्रदेश २ सरकारले करिब २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट जडान गर्दै
धनुषा । प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिए । गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताए । उनले महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको बताए । प्रदेशका सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ । सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालनमा छ । जसमा छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले ३७ हजार रुपैयाँ तिरेर तीन लाख रुपैयाँको बीमा गरिदिने व्यवस्था गरिएको छ । उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् । शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाख रुपैयाँको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो । मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्याङ्क रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो । जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो । प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न असोज २१ गते बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो । मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बैठकले पुनः छोरी शिक्षा बीमा शुरु गर्ने, प्रभावकारी ढङ्गले अगाडि बढाउने, इन्टरनेट जडान गर्ने लगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिए। अब अर्को बैंकसँग छोरी शिक्षा बीमासम्बन्धी सम्झौता भएपछि बीमा कार्यक्रम शुरु हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । रासस
दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग
काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । स्थापनाको १३ औं वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाए अनुसार आज जोन्ता क्लब काठमाडौंलाई बैंकले आर्थिक सहयोग गरेको छ । कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजि विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त सोत्र, साधान र प्रविधिको अभाव रहेको छ । यसै कुरालाई मध्यनजर गदै बैंकले उक्त सहयोग गरेको हो । आइतबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका थिए । जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताएकी छिन् ।
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण, पाटन अस्पतालमा भर्ना
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको बताइएकाे छ । पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा सामान्य रहेकाे बताइएकाे छ । शनिबार लक्षणसहितको कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका छन्। ज्वरो आएपछि उनी शनिबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा बसेका थिए। यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।