सरकारीस्तरकै पहिलो आवासीय विद्यालय निर्माण गर्दै वाग्मती प्रदेश

भीमेश्वर । वाग्मती प्रदेशले सरकारीस्तरकै पहिलो आवासीय विद्यालय निर्माण गर्ने भएको छ । पहिलो चरणमा पाँच विद्यालयलाई आवासीय विद्यालयका रुपमा निर्माण गर्ने नीति अनुसार गौरीशंकर गाउँपालिका–२ को निलकण्ठेश्वर विद्यालय छनोटमा परेको हो । प्रदेश सरकारबाट कार्यक्रममा छनोट भएसँगै पूर्वाधार निर्माणको काम शुरु भएको छ । विद्यालय खुल्ने वित्तिकै विद्यालयलाई आवासीय गर्नका लागि काम तीब्रगतिमा बढाउने गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । भवन निर्माण गरी विद्यालयलाई व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनबीचमा छलफल गर्ने जनाएको छ । प्रदेश सरकारको आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७६ अनुसार यहाँको सो विद्यालयमा बजेट विनियोजन भएको हो । प्रदेशसभाषद् विशाल खड्काले आवसीरुपमा विद्यालय सञ्चालन हुने भएपछि व्यवस्थापन समिति र विद्यालय प्रशासनले अव शैक्षिक गनुणस्त र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै आवासीय भवन बन्ने , साँझ समेत पठन–पाठन हुने , आठसयसम्म बस्न सकिने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केदार खड्काले जानकारी दिए । विद्यालयलाई आवासीयरुपमा निर्माण गरेसँगै थप प्राविधिक संकाय र माथिल्लो तह अध्ययनका लागि अनुमति लिने तयारी भइरहेको छ । यसको लागि जुँगु भ्यू एकेडेमी र यार्सा आधारभुत विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि छ । विद्यालयका प्रधानाध्यापक शान्ता लामा शेर्पाले वाग्मती प्रदेश अन्तर्गत पाँच सामुदायिक विद्यालय पहिलो चरणमा आवासीयरुपमा सञ्चालनका लागि छनोट परेको बताउनुभयो । यसरी छनोटमा पर्ने विद्यालयमा जनजागरण मावि सिन्धुली, रत्नराज्य मावि सिन्धुपाल्चोक, शंखादेबी मावि धादिङ र राप्ती मावि चितवन रहेका छन् । रासस

लमजुङकाे दोर्दी गाउँपालिकामा पठनपाठन शुरु

लमजुङ । दोर्दी गाउँपालिकाका विद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण बन्द रहेको करिब छ महिनापछि सुरक्षा मापदण्डसहित सिकाइ सहजीकरणका लागि गाउँपालिकाभरीका सबै विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताए । लामिछानेका अनुसार यही असोज ५ गते गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रावि, निमावि र मावि तहको प्रधानाध्यापकबीच बैठक र असोज ६ गते पुनः गाउँपालिका शिक्षा समितिको बैठक बसी अघिल्लो बैठकमा गरिएको निर्णयलाई पूर्णता दिँदै विद्यालय सञ्चालन गर्न लागिएको छ । कोरोना भाइरसका कारण बालबालिकाको शिक्षामा परेको असरलाई ध्यानमा राखी विद्यालय सञ्चालन गर्न लागिएको उक्त शिक्षा शाखाले जनाएको छ । बीस जनाभन्दा कम विद्यार्थी रहेको प्रावि तहको विद्यालयमा नियमित रुपमा पठनपाठन शुरु भएको छ । सोभन्दा धेरै विद्यार्थी रहेका निमावि र मावि विद्यालयमा जोरबिजोरका आधारमा सिकाइ सहजीकरण गरिन भएको छ । गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत लामिछानेका अनुसार गाउँपालिकाभरी ५४ विद्यालय छन् । मावि सात, निमावि १० र ३७ प्रावि छन् । त्यस्तै जिल्लाको क्व्होलोथर गाउँपालिका सबै विद्यालय र बेँसीशहर नगरपालिकाका केही विद्यालयमा केही दिनअघिदेखि पठनपाठन शुरु भइरहेको छ । क्व्होलासोथर–४ भुजुङको त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार विद्यार्थीको रोल नम्बरका आधारमा जोरबिजोर प्रणालीअन्तर्गत विद्यालयमा पठनपाठन थालिएको छ । “विद्यालय आउँदा अनिवार्य मास्क लगाउन लगाइएको छ, गेटमै स्यानीटाइजर लगाउने व्यवस्था गरिएको छ, थर्मल गर्नमार्फत ज्वरो परीक्षण गरिने गरिएको छ”, उनले भने, “एउटा बेञ्चमा दुई जना मात्र राख्ने गरिएको छ, बिहान १०ः०० बजेदेखि दिउँसो साढे ३ः०० बजेसम्म विद्यालयमा पठनपाठन भएको छ, सबै विषय पठनपाठन गरिएको छ ।” दुई सय ४४ विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी आउन थालेका छन् । जिल्ला बाहिर रहेका शिक्षकलाई १४ दिन क्वारेन्टिन राखेर, पिसीआर परीक्षण गरेर मात्र विद्यालयमा आउने व्यवस्था गरिएको प्रधानाध्यापक गुरुङले बताए । त्यस्तै बेँसीशहर नगरपालिकास्थित यशोब्रह्म माध्यमिक विद्यालय बाहुडाँडामा समेत उच्च स्वास्थ्य सावधानीका साथ पठनपाठन शुरु भएको विद्यालयका प्राध्यानाध्यापक सुर्जेबहादुर बरालले बताए । उनले भने, “कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म र ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई साढे १०ः०० बजेदेखि साढे २ः०० बजेसम्म पठनपाठन शुरु गर्दै आएका छौँ, एउटै कक्षामा १५ जनाभन्दा बढी भएमा दुई वटा कक्षामा राखेर पठनपाठन गरिएको र एउटा विषयको ३० मिनेट मात्र पठाइएको उनको भनाइ छ । त्यस्तै, जिल्लाका अधिकांश विद्यालयमा विस्तारै पठनपाठन शुरु हुन थालेको छ । रासस

कोरोना कहरकै बीच काभ्रेपलाञ्चोकमा सुरु भयाे पठनपाठन

बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् । पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ४ लामीडाँडास्थित गोल्मादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले बताए । “हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी बुधबारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ”, उनले भने । बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेकामा अहिले आएर सोमबारबाट प्रत्यक्षरूपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक देउजाले बताए । विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढन् पाउँदा खुशी लागेको सोही वडास्थित जिरोकिलोमा रहेको इन्द्रेणी विद्यामन्दिर कक्षा ७ का कृष्पा न्यौपानेले बताइन् । “बन्दाबन्दीका बेलामा घरमा बस्दा आफँैले किताबको उदाहरणहरु हेर्दै स्वअध्ययन गरिरहेको थिएँ तर त्यसरी पढ्दा नबुझेका कुराहरुमा धेरै समय अल्झिनुपरेको थियो”, उनले भनिन् । परिस्थिति हिजोको भन्दा सहज नभए पनि मनस्थिति बलियो बनाएर आफूहरुले कक्षा सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल रामहरि सापकोटाले बताए । “पढाउँदा भौतिक दूरी कायम राखेर मास्क अनिवार्य गराएका छौँ”, उनले भने, “कोरोनासँग भागेर होइन, त्यसका विरुद्धमा लड्दै एउटा कक्षामा १० वटा बेञ्च राखेर दैनिक बिहान, दिउँसो र बेलुकाको सत्र बनाएर पठनपाठन शुरु गरेका छौँ ।” सो वडाका वडाध्यक्ष सुन्दर लामाले अभिभावकबाट नै अब पठनपाठन शुरु गर्नुपर्छ भन्ने खालको सुझाव आएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए । विद्यालय सञ्चालनमा आएसँगै नगरप्रमुख महेश खरेलले विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरुका बारेमा अनुगमन गरी जानकारी लिने काम गर्दै आएका छन् । लामो समयसम्म घरमै रहँदा विद्यार्थीमा हुनसक्ने मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरेको उनले बताए । नगरभित्र सामुदायिक ३९ र संस्थागत ११ विद्यालय रहेका छन् । उता तेमाल गाउँपालिकामा विद्यालय अनुकूलता हेरेर सञ्चालनमा आएका छन् । वडा नं ७ स्थित भूमेश्वर आधारभूत विद्यालय कुरुवासमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक कर्मचारीको संयुक्त बैठकले मङ्गलबारबाट दिनको तीन सत्रमा चलाउने निर्णय गरिएबमोजिम बिहान, दिउँसो र बेलुका गरी कक्षा सञ्चालन शुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक कुवाङछु लामाका अनुसार बालकक्षा भने हप्ताको छ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ । तेमालका सबै विद्यालय आ–आफ्नो अनुकूलता मिलाएर सिकाइ सहजीकरण कार्यविधिअनुसार कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सलामसिं लामाले विद्यालय क्षेत्रमा पूर्णरूपमा निर्मलीकरण गरेर सबै विद्यालयमा मास्क, स्यानिटाइजर र साबुनलगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेपछि पठनपाठन शुरु गरेको बताए । तेमालमा ४१ विद्यालय छन् । त्यस्तै रोशी गाउँपालिकाले पनि बुधबार सूचना जारी गर्दै गाउँकार्यपालिकोका बैठकले गाउँ शिक्षा समितिले तयार गरेको सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई स्वीकृत गर्दै त्यसका आधारमा पठनपाठन शुरु गर्न विद्यालयलाई निर्देशन जारी गरेको छ । सोअनुरुप ३० जनाभन्दा कम विद्यार्थी भएको विद्यालयले सरोकारवालासँगको छलफलमा दैनिक एक सिफ्टमा सिकाइ सहजीकरण गर्ने, ५० र ७५ जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएको विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने, एक सयजनाभन्दा कम भएको विद्यायले तीन सिफ्टमा सञ्चालन गर्ने र एक सयभन्दामाथि विद्यार्थी सङ्ख्या भएको विद्यालयले बारअनुसार दैनिक तीन सिफ्टमा कक्षा सञ्चालन गर्न पाउने गरी निर्देशन जारी गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर तामाङले बताए । विद्यालय सञ्चालन गर्नुपूर्व पालिकाले विद्यालयलाई व्यक्तिगत सुरक्षा सामग्री स्यानिटाइजर र मास्क वितरण गरेको थियो । रासस