लुम्बिनी बौद्ध विश्वविद्यालयः ‘घरघरमा परीक्षा’
लुम्बिनी । विद्यालय तहको एसइईको परीक्षामा विद्यार्थी सहभागी नभइकनै आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन भयो । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले अनलाइन माध्ययमबाट पठनपाठन गराए पनि विद्यार्थीको परीक्षा लिन सकेका छैनन् र अहिलेसम्म अन्योलको अवस्था छ । कोरोना महामारीको सङ्क्रमण फैलिन सक्ने डरले विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानले परीक्षा गर्न नसकेर शैक्षिकसत्र नै हटाउने कि आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन गर्ने भन्नेमा अन्योल भइरहेका बेला लुम्बिनी बौद्ध विश्वविद्यालयले भने घरघरमा परीक्षा कार्यक्रमअन्र्तगत आफ्ना विद्यार्थीको परीक्षा सञ्चालन गरेको छ । विश्वविद्यालयले स्नातकोत्तर र स्नातक तहको परीक्षा आइतबारदेखि सञ्चालन गरेको हो । स्नातकोत्तर तहमा सङ्गीत र पुरातत्व विषयका परीक्षा सञ्चालन भइरहेका छन् । यस्तै स्नातक तहमा कानून, बौद्धदर्शन र भोट विषयमा परीक्षा भइरहेका छन् । कानूनतर्फ मात्रै पहिलो सेमेष्टरका ८५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षामा शतप्रतिशत विद्यार्थीको सहभागिता छ । विश्वविद्यालयले घरघरमा परीक्षाको अवधारणानुसार परीक्षा सञ्चालन गरेको विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्य बताउँछन् । उनले भने,‘ हामीले धेरै अध्ययन र अनुसन्धान ग¥यौँ र घरघरमा परीक्षा ‘डोर टु डोर परीक्षा’ को अवधारणा लिएका हौंँ ।’ उनका अनुसार क्लष्टर छुट्याई आइपर्न सक्ने समस्याको विश्लेषण गरेर परीक्षा केन्द्र तोकी घरघरमा परीक्षा सञ्चालन गरिएको छ । ‘यस्तो महामारीका समयमा परीक्षामा सहभागी हुने विद्यार्थी, शिक्षक, कर्मचारी कसैमा पनि समस्या आइहालेमा के गर्ने भन्ने तयारीका साथ परीक्षा सञ्चालन गरेका छौं ।’ उनले भने, ‘हामीले अस्पताल र मुख्य राजमार्ग नजीक भएको, खुला र ठूला भवन भएको ठाउँलाई केन्द्र तोकेका छौंँ । विद्यार्थीहरु जहाँं छन्, त्यहीँ बसेर परीक्षा दिने वातावरण बनाएका छौँ ।’ स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यार्थी जहाँ छन् त्यहीँ नै परीक्षा सञ्चालन गर्दा केही खर्चिलो भए तापनि विश्वविद्यालयका लागि उपलब्धिमूलक रहेको डा आचार्यले बताए । उनले भने, ‘एकै परीक्षा केन्द्रमा हुन सक्ने परीक्षा पाँच जिल्लाका आठ वटा सेन्टरमा लिइरहेका छौंँ ।’ लुम्बिनी, काठमाडौँ, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले केही दिनमै बिबिटिटिएमको परीक्षा गर्ने गरी सूचनासमेत प्रकाशन गरिसकेको छ । विश्वविद्यालयले नयाँ ढाँचाको परीक्षा सञ्चालन गरेर अन्योललाई चिरेको शिक्षाविद् बालकृष्ण भट्टराई बताउँछन् । उनले परीक्षा सञ्चालनका विषयमा सबै विश्वविद्यालय अन्योलमा रहेको र लाखौँ विद्यार्थी परीक्षा होला कि नहोला भनेर चिन्तित रहेका अवस्थामा भौतिक दूरी कायम गरेर लिइएको परीक्षा प्रभावकारी देखिएको बताए । स्नातकोत्तर तहमा अनलाइन(अभौतिक) र स्नातक तहमा भौतिक माध्यमबाट परीक्षा सञ्चालन गरिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धिश्वरमान श्रेष्ठले बताए । परीक्षा नियन्त्रक श्रेष्ठले सेनेटाइजर, मास्क र पञ्जा प्रयोग गरेर एउटा केन्द्रमा बढीमा १५ जनासम्म राखी परीक्षा सञ्चालन गरिएको बताए । उनले भने, ‘जहांँ विद्यार्थी त्यहीँ परीक्षा सञ्चालन गरेका छौंँ । हुम्लामा एक जना विद्यार्थी छन्, उनको त्यहीँ नै स्थानीय क्याम्पससंँग समन्वय गरेर परीक्षा लिएका छौंँ ।’ हुम्लाका विद्यार्थी खड्क जैसीले मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिइरहेका छन् । बौद्ध विश्वविद्यालयले मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख वसन्त रोकायलाई परीक्षा केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ । हुम्लामा प्रश्नपत्र जुन दिन जुन विषयको हुन्छ त्यही दिन परीक्षा शुरु हुनुभन्दा केही मिनेट अगाडि इमेलमार्फत पठाउने गरिएको र उत्तरपुस्तिकासमेत इमेलबाटै विश्वविद्यालयमा आउने गरेको छ । बडादशैँ अगाडि सकेसम्म सबै तहका सबै विषयको परीक्षा सक्ने गरी कार्यक्रम बनाइएको परीक्षा नियन्त्रक श्रेष्ठले बताए । रासस
कक्षा १२ को परीक्षा: चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने
काठमाडाैं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ । बोर्डका कक्षा ११ र १२ तहका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज रासससँग कुरा गर्दै अन्य विकल्प सम्भव नभएमा यस विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने जनाउनुभयो । अनलाइनबाट परीक्षा हुँदा विद्यार्थीले आफू रहेको स्थानबाट निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भए पनि पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछन् । परीक्षा केन्द्र, गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारले खुला परीक्षा हुनेछ । गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए । बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ मा परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ । नियन्त्रक शर्माले हालको स्थितिमा परीक्षा दशैँ अगाडि हुने सम्भावना कम रहेको पनि जनाउनुभयो । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा सरकारकै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मूल्याङ्कन गराई बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्रक्रियाबाट प्रमाणीकरण हुने तय भइसकेको छ । माध्यमिक तहको अन्तिम परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय मान्यता पनि हुनुपर्ने भएकाले मिश्रित ढाँचाबाट भए पनि बोर्डले परीक्षा गराउने विकल्प सुझाएको हो । मन्त्रालयले परीक्षाबारे सुझाव दिन मन्त्रालयका अधिकारी र बोर्डका पदाधिकारी रहेको अलग–अलग कार्यदल गठन गरेको थियो । शिक्षा ऐन (२०२८) को (आठौँ संशोधन) २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो । साविकको परिषद्बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति, विद्यालय सञ्चालनसम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारणसम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट सम्पादन हुँदै आएका छन् । कक्षा १० र ११ को परीक्षालाई कानूनी संरचना तयार गरी प्रदेश र स्थानीय तहबाट सञ्चालन गराउने तयारी भइरहेका बेला यस वर्षको कोरोना महामारीका कारण स्वतः आन्तरिक मूल्याङ्कनमा गएको छ भने आगामी वर्षदेखिको व्यवस्थापनका लागि नीतिगत र कानूनी प्रबन्ध हुने तयारी छ । संविधानतः माध्यमिक शिक्षाको सञ्चालन र व्यवस्थापन स्थानीय तहको कार्यक्षेत्रमा छ भने त्यसअनुसारको परीक्षा संयन्त्र स्थापनाका ढिलाइ हुँदै आएको छ । रासस
पाल्पा क्याम्पसका विद्यार्थी– ‘बुहारी–आमा’
रामपुर । पूर्वी पाल्पाको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनाएको छ । विद्यालयको पढाइ सकेका अधिकांश छोरी–बुहारी तथा आमा यसै क्याम्पसमा अध्ययन गर्ने भएका कारण यसले ‘बुहारी–आमा’ क्याम्पसका रूपमा आफ्नो चिनारी बनाएको हो । यहाँ भर्ना भएका कूल विद्यार्थी सङ्ख्यामध्ये ८१ प्रतिशत विद्यार्थी छात्रा नै छन् । तीमध्ये पनि अधिकांश बुहारी तथा आमा बनिसकेका छन् । स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन गर्दै आएको यस क्याम्पसका अधिकांश विद्यार्थी छोरी, बुहारी र आमाहरु छन् भने स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीमा त धेरैजसो बुहारी र आमा नै भेटिन्छन् । विसं २०४६ को जनआन्दोलनपश्चात् गण्डकबेँसीका नागरिकलाई शिक्षाको अवसर प्रदान गर्न यहाँका स्थानीयवासीको जोडबलमा चन्दा उठाएर क्याम्पस सञ्चालनमा ल्याइएको थियो । साविक रामपुर गाउँ विकास समितिको मातहतमा रहेको ५० रोपनी सार्वजनिक जग्गामा क्याम्पस सञ्चालन गरिएको हो । मानविकी सङ्कायको प्रविणता प्रमाणपत्र तहको मात्र पठनपाठन शुरु भएको यस क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मकै पठनपाठन हुने गरेको छ । क्याम्पसबाट पूर्वी पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिकलाई शिक्षा आर्जन गर्ने राम्रो अवसर मिलेको छ । विशेषतः गाउँघरमा पुरानो सोचाइ र संस्कारले गर्दा माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि तत्कालीन समयमा छोरी तथा बुहारीलाई उच्च शिक्षका लागि अन्यत्र नपठाउने चलन थियो । गाउँघरमा क्याम्पस नभएपछि छोरी–बुहारीलाई बाहिर राखेर शिक्षा दिनुपर्छ भन्ने सोचाइ त्यस समयमा कमैले मात्र राख्थे । अर्को कुरा बाहिर शहरबजारमा बसेर पढ्न आर्थिक समस्याले गर्दा पढ्ने मन हुँदाहुँदै पनि बीचमै पढाइ छाड्नुपर्ने बाध्यता धेरैको थियो । यस्तो परिस्थितिमा रामपुरमा नै क्याम्पस तहको पठनपाठन शुरु भएपछि गण्डकीबेँसीका धेरै नागरिकले सहजरूपमा शिक्षा आर्जन गर्ने अवसर पाएका हुन् । अहिले नै पनि बुहारी तथा आमाहरुले स्नातक तथा स्नातकोत्तर तहको शिक्षा आर्जन गर्ने चाहना राखे पनि विभिन्न बाधा व्यवधानले गर्दा अन्यत्र पढ्न पठाउने चलन कमै छ । घरायसी कामधन्दा, बालबच्चाको स्याहारसुसार गरेर केही समय क्याम्पसको पढाइमा दिएर शैक्षिकस्तर उकास्न यहाँका बुहारी तथा आमा कस्सिएका छन् । रामपुर नगरपालिका वडा नं ७ बस्ने गीता पौडेलले दुई सन्तानको रेखदेखसँगै गाउँमा नै स्नातकोत्तर तहसम्मको पढाइ सक्नुभयो । गाउँमै स्नातकोत्तर तहसम्मको पठनपाठन भएपछि आफूले स्नातकोत्तर तह पढ्ने इच्छा पूरा गर्न पाउँदा उनी खुशी छिन् । ‘‘बिहे भए पनि घरमा सबै परिवार शिक्षित नै हुनुहुन्थ्यो, छोरी–बुहारीलाई पनि राम्रो शिक्षा दिनुपर्छ भन्ने परिवार थियो तर आमा बनिसकेपछि थप जिम्मेवारी बढ्यो, छोरी बुहारी हुँदै आमा बनियो, आफैँलाई बाहिर बसेर पढ्न अप्ठ्यारो प¥यो, घर नजिकै क्याम्पस थियो त्यसैकारण पढ्ने इच्छा पूरा भयो’’ उनले भनिन् । उनी अहिले सामाजिक क्षेत्र र जागिरमा आवद्ध छिन् । गाउँमा बिहे भएर आएका आफूजस्तै अन्यत्र बुहारीहरुलाई पनि पठनपाठन गर्न एक प्रेरणाका स्रोत बनेकी छिन् । पौडेलले काखे छोरा घरपरिवारको साथमा छोडेर बिहानमा स्नातक तहको कक्षा लिने गर्थिन् । आमा बनिसक्दा पनि स्नातक तह पढ्ने चाहना पुरान गरेकी पौडेल पुनः दोस्रो सन्तानका रुपमा छोरी जन्मिसकेपछि पनि स्नातकोत्तर तहमा भर्ना भएर अध्ययन पूरा गरेकी हुन् । रामपुर नगरपालिका–४ खोप्टार बस्ने देवी रिमालले घरमा बच्चाको रेखदेख गर्ने मान्छे नभएको समय आफैँले क्याम्पसमा साथमै लिएर कक्षा लिन जाने गर्छिन् । उनी भन्छिन्, “गाउँमै क्याम्पस सञ्चालन भएपछि परिवारका सदस्य कहिलेकाहीँ अन्यत्र गएका समयमा पनि बालबच्चालाई लिएर भए पनि कक्षा लिन पाइएको छ, सबैभन्दा ठूलो कुरा हामी बुहारी आमाहरुलाई पढ्ने वातावरण मिलेको छ, हामी शिक्षित भयौँ भने छोराछोरीको भविष्य राम्रो बन्नेछ भन्ने लाग्दछ ।” उनले कक्षामा आफू साथमा नै छोरालाई राखेर पढिरहेको देख्दा प्रध्यापकहरुमा पनि खुशीयाली छाएको छ । बालबच्चा र घरायसी कामलगायत विविध समस्याले बाहिर गएर पढ्ने चाहना राखेपनि झट्ट पढ्न जाने वातावरण सहज नहुँदा बुहारी तथा आमालाई समस्या पर्ने गरेको छ । घरबाटै बुहारी क्याम्पस पढ्न गएको देख्दा सासु–ससुरा तथा परिवारका सदस्य निकै खुशी छन् । हिजोका दिन छोरी–बुहारीलाई शिक्षा दिन पछि हट्ने समुदाय तथा परिवार अहिले भने समय मिलाएर पढ्नुपर्छ भन्ने धेरैमा परिवर्तन आएको पाइएको छ । बुहारी बिहान उठेर क्याम्पस पढ्न गएको देख्दा पनि रमाइलो लाग्ने गरेको कुलप्रसाद गौतम बताउँछन् । छोराले बरु धेरै पढेनन् तर बुहारीले स्नातकोत्तर तह पढ्न थालेपछि परिवारमा खुशीयाली छाएको छ भन्छन् उनी । “हामीले पढिएन, छोराहरुले पनि पढाइ बीचमै छाडेर विभिन्न क्षेत्रमा रोजगार छन्, बुहारीले पढेपछि सके त जागिर नै खालिन् नत्र पनि बुहारी शिक्षित भइन् भने हाम्रो परिवार शिक्षित बन्छ भन्नेमा हामी खुशी छौँ”, उनले भने, “अब जन्मने सन्ततिलाई उचित शिक्षादिक्षा दिन, अनुशासनमा बस्न, राम्रो मान्छे बनाउन सकिन्छ, समयअनुसार शिक्षा दिन धेरै सजिलो हुनेछ ।” कुनै समय छोरी बुहारीलाई पढाउनुपर्छ भन्ने सोचाइ नराख्ने हाम्रो समाजमा अहिले छोरी–बुहारी तथा आमा विद्यार्थी नियमित कक्षामा सहभागी भएर पढिरहेको देख्दा राम्रो लागेको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले बताउँछन् । “पढ्ने चाहना भएकाले घरायसी काम गरेर भए पनि इच्छा पूरा गरिरहेका छन् भने पछिल्लो समय स्नातकोत्तर तह पढ्ने समाजमा कमै भेटिन्थे भने अहिले धेरै रहेका छन् र त्यसमा पनि हामीकहाँ स्नातकोत्तर तहमा बुहारी तथा आमा समूहको बर्चस्व छ”, उनले भने । विसं २०५४ मा स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, नेपाली विषयका कक्षा शुरु गरियो भने विसं २०५५ मा तत्कालीन उच्च माध्यमिक शिक्षा शुरु गरियो । विसं २०६० मा स्नातक तहमा शिक्षा सङ्काय विषय, विसं २०६६ मा व्यवस्थापन र विसं २०६७ मा स्नातकोत्तर तह शुरु गरिएको थियो । हाल राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा विषय समूह, त्रिभुवन विश्वविद्यालयतर्फ स्नातक तहमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्काय, स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्कायतर्फको नेपाली शिक्षा र शिक्षा योजना तथा व्यवस्थापन विषय सञ्चालन भइरहेको छ । हाल यस क्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस क्याम्पसका पूर्वाधारमा दुईतले एउटा कार्यालय भवन, दुई कच्ची भवन, विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण भएको दुईतले छ कोठे भवन, रामपुर नगरपालिकाको सहयोगमा दुईतले चारकोठे पक्की भवन छन् । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत रु ६० लाख बजेट सहयोगमा निर्माणाधीन चारकोठे भवन, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ सरकारबाट प्राप्त रु ४० लाख सहयोगमा दुईतले चारकोठे भवन निर्माणाधीन छ । करिब १०० मानिस अट्ने क्षमताको एक सभाहल छ । पूर्वी पाल्पामा क्याम्पस नहुँदा माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि गण्डकीबेँसीका नागरिकलाई पाल्पा सदरमुकाम तानसेन, बुटवल, पोखरा, नारायणगढ, काठमाडौँलगायतका शहरमा जानुपर्ने बाध्यता थियो । आर्थिक अवस्था राम्रो भएका परिवारले मात्रै अन्यत्र गएर पढ्ने गरेपनि धेरैजसोले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता थियो । क्याम्पस तहको पठनपाठन रामपुरमा नै सञ्चालन गर्न समुदाय नै लागि परेपछि स्वीकृत भई क्याम्पस सञ्चालन गर्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा संस्थापक देवराज ढकाल बताउँछन् । विसं २०४६ को जनआन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका रामपुरका शहीद सूर्यप्रसाद घिमिरेको नामबाट क्याम्पस सञ्चालन गरिएको हो । बुहारी आमा बनिसकेपछि पायक पर्ने ठाउँमा क्याम्पस नहुदा पढ्ज जान अप्ठ्यारो पर्ने प्राध्यापक तथा पूर्वविद्यार्थी रेखा काफ्ले बताउँछिन् । उनी पनि बुहारी आमा बनेपछि मात्र स्नातक तथा स्नातकोत्तर तहको पढाइ पूरा गरेकी छिन् । “परिवार पढेलेखेको थियो, श्रीमान् आफैँ शिक्षण पेशामा आवद्ध हुँदा सबैले पढ्नुपर्छ भन्नुहुन्थ्यो, काखको बच्चा छाडेर बाहिर गएर पढ्न जान म आफैँलाई समस्या थियो, कोठा नजिकै क्याम्पस हुँदा जसोतसो दुःखसुखसँग स्नातक तहको पढाइ यहीँ पढ्ने इच्छा पूरा गर्न पाएँ, दुःख गरेर पढाइ सकाएँ, पहिले यस क्याम्पसमा म आमा–बुहारी विद्यार्थी थिएँ भने अहिले प्राध्यापन गरिरहेको छु”, उनले भनिन् । यस क्याम्पसमा गुणस्तरीय शिक्षा, भौतिक सुविधा राम्रो, क्याम्पसको मित्रवत व्यवहार, बिहान पढेर दिउँसो रोजगार गर्ने अवसर, विभिन्न विषयको पठनपाठन, पर्याप्त खेलमैदान, खानेपानी, शौचालयको सुविधा, मोटरसाइकल तथा स्कुटर पार्किङ, चमेनागृहको राम्रो प्रबन्ध, फूलबारी रहेको छ । स्नातकोत्तर तहका लागि बिहान ५ः४० देखि ८ः४० बजेसम्म र अन्य कक्षा बिहान ६ः०० देखि ११ः०० बजेसम्म सञ्चालन गरिएको छ । यहाँ प्राध्यापकसहित ३४ कर्मचारी छन् । जसमा पूर्णकालीन १२, शिक्षणतर्फ २८ जना छन् । प्रशासन शाखामा छ, विषय करार १४, आंशिक शिक्षक दुई जना छन् । एक दशकयता क्याम्पसले शैक्षिक तथा भौतिक क्षेत्रमा राम्रो फड्को मार्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत शैक्षिक तथा भौतिक सुधारका कार्यहरु गरिरहेको यस क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको चक्र पूरा गरी आफूलाई क्युएए प्रमाणीकरण क्याम्पसको रूपमा स्थापित गर्न प्रयत्नरत छ । विश्वविद्यालय अनुदान आयोगको गुणस्तर अभिवृद्धि तथा प्रत्यायन (क्युएए) विगत चार वर्षदेखि चलिरहेको छ । आयोगमा क्युएएको ड्राफ्ट पनि बुझाइसकिएको छ । क्युएए प्रमाणीकरण गर्न खोजेको, समयअनुसार गुणस्तरीय र प्राविधिक शिक्षा, विद्यार्थी सङ्ख्या बढाउने क्याम्पसको लक्ष्य रहेको सञ्चालक समितिका सदस्य दिवाकर देवकोटा बताउँछन् । रासस