एसईईकाे नतिजा प्रकाशित, कसरी हेर्ने ?
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेकाे छ । बोर्डकाे साेमबार बसेकाे बैठकले एसईईको नतिजा प्रकाशित गरेकाे हाे । बाेर्डकाे एक सदस्यकाे अनुसार नतिजा वेभसाईटमा सार्वजनिक गर्न केही घण्टा लाग्ने छ । विद्यार्थीहरुले केही घण्टामा यस लिंकमा गएर एसईईकाे नतिजा हेर्न सक्नेछन् अथवा माेबईलकाे म्यासेज बक्समा गई एसईई टाईप गरी स्पेस दिएर सिम्बल नं टाईप गरी ३५००१ मा पठाई पनि हेर्न सक्नेछन्। चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेकाे थियो । कोभिड–१९ संक्रमणका कारण यस वर्ष एसईईको परीक्षा स्थगित गर्दै सरकारले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीलाई अंक दिने निर्णय गरेको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
त्रिविका काम भदौ १५ गते सम्म घरबाटै
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएको बताए । उनका अनुसार त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारी आआफ्नो निकाय प्रमुखसँग सम्पर्कमा रही सुरक्षितरुपमा घरबाटै कार्य गर्ने तथा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था सम्बन्धित क्याम्पस प्रमुखले मिलाउने व्यवस्था गरिएको छ । लकडाउन खुकुलो भएपछि त्रिविले पढाइ र परीक्षाबाहेकका सबै सेवा सञ्चालन गरेको थियो । तर पुनःउपत्यकासहित मुलुकभर कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि त्रिविले सवै सेवा बन्द गरेको हो । यस्तै त्रिविले अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह सम्भव नहुने र बढी जनसम्पर्क हुने प्रकृतिका कार्य स्थगित गर्ने र अत्यावश्यक भई कार्यालयमै उपस्थिति भई कुनै कार्य गर्नुपर्ने अवस्थामा सेवा प्रवाह र जनशक्ति व्यवस्थापन सम्बन्धित निकाय प्रमुखले समन्वय गरी सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गरी गर्ने गराउने उल्लेख छ । त्रिविले पछिल्लो पटक सङ्क्रमणको स्थिति सामान्य हुँदै गइरहेको अवस्थामा परीक्षाको तयारीसमेत गरेको थियो । तर सङ्क्रमण बढेपछि हाललाई परीक्षाको तयारीसमेत स्थगित गरेको छ ।
बेनी नगरपालिकाले बनायाे आफ्नै स्थानीय पाठ्यपुस्तक
गलेश्वर। बेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ । विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन शुरु गरेको हो । पुस्तक १०० पूर्णाङ्कको रहेको छ । नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविधि विषयलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए । आगामी वर्ष क्रमशः कक्षा २, ३, ४ र ५ को पुस्तक तयार पार्न नगर कार्यपालिकाले स्वीकृतिसमेत दिइसकेको छ । बेनी नगरपालिकामा संस्थागत १६ र सामुदायिक ५६ विद्यालय छन् । स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाउने नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । निर्माण समिति गठनसँगै धेरै चरणमा सरोकारवालासँग छलफल चलाई पाठ्यक्रम तयार पारी लागू गरिएको नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको जोखिमले विद्यालयमा पठनपाठन बन्द भएको अवस्थामा नगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई स्वअध्ययन सामग्रीसहित नगरपालिकाको पुस्तक विद्यार्थीको पहुँचमा पुग्ने गरी आवश्यक योजना बनाउनसमेत निर्देशन दिएको छ । रासस