टेलिकम र प्याब्सनबीच विद्यार्थीलाई सस्तो मूल्यमा इन्टरनेट सेवा दिने सम्झौता
काठमाडौं । नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता सम्पन्न भएको छ । कोभिड-१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले टेलिकमले उक्त सम्झौता गरेको हो । भदौ १५ गते सम्पन्न भएको सम्झौता बमोजिम मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराईरहेको न्यूनतम मुल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्नेछन् । सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं ई-लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका हुन् । कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ आजैका मितिदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकहरुका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो । सो प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रुपैयाँ २४ जीबी र ५ सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । सो सम्झौता अनुसार टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध सहितको जानकारी पठाउने छ । जानकारी प्राप्त भएपछि विद्यालयहरुले उक्त प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची [email protected] मा इमेलमार्फत पठाउनु पर्नेछ । यसका साथै विद्यार्थीहरुले कलेजको सहायता बिना नै आफै नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा गएर आवश्यक विवरण लेखी ह्याप्पी लर्निङ प्याक लिनका लागि रजिष्ट्रेसन गर्न सक्नेछन् । यस्ता किसिमका ई-लर्निङ एप्लिकेसनहरुको प्रयोगको लागि भविष्यमा धेरै भोल्युमको आवश्यकता परेमा प्रयोगकर्ताहरुको आवश्यकता बमोजिम नेपाल टेलिकमले सस्तो दरमा थप भोल्युम तथा ई-लर्निङ एप्लिकेसनहरु समेत उपलब्ध गराउने छ । ह्याप्पी लर्निङ प्याक उपयोग गरी विद्यालय, विश्वविद्यालय र शैक्षिक संस्थाहरुमा आबद्ध रहेका ग्राहकवर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।
शैक्षिक संस्थाले अनलाइनबाटै परीक्षा लिन पाउने, शैक्षिक सत्र खेर नजाने
काठमाडौं । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शिक्षण संस्थाहरुले अनलाइनबाटै विद्यार्थीको परीक्षा लिन पाउने बारे सकारात्कम छलफल गरेकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकोले अब शिक्षण संस्थाहरुले विद्यार्थीहरुको परीक्षा अनलाइनबाटै लिन सक्ने गरी निर्णय गर्ने किसिमले छलफल भएकाे बताएका हुन् । ‘अनलाइन कक्षाको बारेमा मन्त्रिपरिषद्मा व्यापक छलफल भयो, छलफल सकारात्मक भयो, सबै मन्त्रीज्यूहरुले कोरोनाको कारणले विद्यार्थीको परीक्षा तथा पठनपाठन नभएको प्रति चिन्तापनि प्रकट गर्नुभयो, सबैले अनलाइबाटै परीक्षा लिनेमा सकारात्मक हुनुभयो,’ उनले विकासन्युजसँग भने । यद्यपी मुख्यसचिवले प्रमाणित भने नगरेको उनको भनाई छ । उनले अनलाइन कक्षालाई मान्यता दिने र विद्यार्थीहरुको शैक्षिक सत्र पनि खेर नजाने किसिमले काम हुने बताए । चैत ११ गतेदेखि भएको लकडाउन र त्यसपछि विभिन्न जिल्लाहरुमा भइरहेको निषेधाज्ञाले विद्यार्थीको पठनपाठन निकै प्रभावित गरेको छ । विद्यार्थीहरुमा एक वर्ष ग्याप हुने होकि भन्ने चिन्ता पसिन त्यतिकै छ । हिजोको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म शिक्षण संस्था बन्द नै राख्ने निर्णय पनि गरेको छ ।
त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।” उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ । नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् । धेरै विद्यार्थी भएको तहमा भर्चुअल परीक्षा असम्भव परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाका सहितको प्रतिवेदन सम्बन्धित डिन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने बताए । “सेमेष्टर परीक्षाका बारेमा भर्चुअल माध्यमबाट परीक्षा लिने भन्ने कुरा पनि चलेको छ”, उनले भने, “तर कति सम्भव हुन्छ डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।” उनले सेमेष्टर प्रणालीका पनि धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नभएको बताए ।